२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

दोलखालाई समृद्ध बनाउने स्पष्ट भिजन मसँग छ: शिवाकोटी

दोलखालाई समृद्ध बनाउने स्पष्ट भिजन मसँग छ: शिवाकोटी

बालकृष्ण शिवाकोटी, प्रतिनिधिसभा सदस्यको उम्मेदवार, दोलखा, नेकपा (एमाले)

एमालेको लाल किल्ला हो दोलखा
दोलखा जिल्ला विगतमा पनि एमालेको गढ थियो, अहिले पनि छ र भविष्यमा पनि रहिरहनेछ । जहाँसम्म विभाजनको प्रसङ्ग छ, वास्तवमा पार्टी विभाजन भएको होइन, केही असन्तुष्ट साथीहरु अलग हुनुभएको मात्र हो । त्यसले हामीलाई ठूलो असर गर्दैन ।

हामी नेपालको कम्युनिष्ट आन्दोलनको अगुवाई गरिरहेको (नेकपा (एमाले)को नेतृत्वमा मुलुकको कम्युनिष्ट आन्दोलनलाई समाजवादको आधार निर्माण गर्ने दिशामा केन्द्रीत गर्न चाहन्छौं । त्यो नै हाम्रो प्रमुख लक्ष्य हो । त्यस बमोजिम सिङ्गो नेकपा (एमाले) सधैंभरि मुलुकको भाग्य र भविष्य कोर्नका निम्ति सदैव अघि बढिरहनेछ ।

साथै केही समय भ्रममा पर्नुभएका साथीहरु पनि दिनदिनै मूल घर एमालेमै फर्किरहनुभएको छ । त्यसैले हामी विगतभन्दा अझ संगठित र एकतावद्ध भएर हाम्रा सबै नेता कार्यकर्ताहरु सबै सँगै अघि बढिरहेका छौं, त्यो सबै तपाईहरुले देखिरहनुभएकै छ । चुनावी माहोल पनि राम्रो बन्दै गएको छ । पार्टी जीवनमा स्वाभाविक रुपमा यदाकदा यस्ता घटना हुन्छन् र भइरहेका पनि छन् । यसबाट देशभरका नेकपा एमालेका नेता कार्यकर्ताहरुले अलिकति पनि विचलन खाने छैनन् । अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन थियो । त्यसबेला चुनावी माहोल जस्तो थियो, त्यसभन्दा पनि यसपटक राम्रो बन्दै गएको छ । जुन उद्देश्यसहित हामीले तत्कालीन अवस्थामा पार्टी एकता गरेर नेकपा बनाएका थियौं, ती उद्देश्य अवश्य पूरा भएका छैनन् ।

इमान्दार कार्यकर्ता भएकाले टिकट पाएको हुँ
मेरो पृष्ठभूमि नबुझेका केहीलाई लाग्न सक्छ कि मेरो राजनीतिमा खासै योगदान छैन । म एमालेमा २०४० सालदेखि निरन्तर क्रियाशिल छु । अनवरत रुपमा काम गरिरहेको छु । हुनतः म पार्टीको ‘फुलटाईमर’ कार्यकर्ता होइन । तर, झण्डै चालिस वर्षदेखि एमालेको बफादार कार्यकर्ता हुँ । पार्टीको ईलाका कमिटीको सचिव, क्षेत्रीय कमिटी सचिव, १५ वर्ष जिल्ला सचिवालय सदस्य हुँदै बागमती प्रदेश कमिटी सदस्यका रुपमा क्रियाशील हुँदै आएको छु । नेकपा एमाले उद्योग व्यवसायी संगठनको केन्द्रीय उपाध्यक्ष र बागमती प्रदेश ईन्चार्जका रुपमा पनि काम गरिरहेको छु । यस सँगसँगै सामाजिक कार्यकर्ता पनि हुँ । यसक्रममा मैले दोलखामा धेरै समाजिककाम गरेको छु । त्यसैका आधारमा पार्टीले मलाई टिकट दिएको हुनसक्छ । यसअघिको निर्वाचनमा पनि टिकटका लागि मैले पार्टीमा पहल गरेको हुँ । त्यसबेला ‘सिनियर’ नेताहरुले टिकट लिनुभयो । मैले त्यसबेला पार्टीलाई सघाएँ । यस्ता ‘कन्ट्रिब्यूसन’ विगतमा मैले धेरै गरेको छु । त्यसैले मेरो पृष्ठभुमि नहेरी नाताका आधारमावा नजिक भएकै टिकट लियो भन्नु भ्रम मात्रै हो ।

विकास कार्यमा एमालेको योगदानः
यसअघि एमाले सरकारका पालामा भएका विकासका कामहरु सबैलाई जगजाहेरै छन् । काठमाडौं–तराई दु्रतमार्ग एमालेकै पालामा अघि बढ्यो । नागढुंगा सुरुङ मार्ग एमालेकै पहलमा बन्दैछ । बर्षौदेखि अलपत्र जनकपुर–जयनगर रेल एमालेले नै सञ्चालनमा ल्यायो । भुकम्पमा ध्वस्त धरहरा मात्र होइन, बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र हेरौं । एमालेकै पालामा निर्माण भए । रानीपोखरी निर्माणमा कति ठूलो अवरोध थियो । एमालेले अग्रसरता नलिएको भए, त्यो अझैसम्म अलपत्र हुन्थ्यो । तीस बर्षदेखि संसद् भवन निर्माण अलपत्र थियो । अहिले भटाभट निर्माण भइरहेको छ । त्यसको सुरुवात पनि एमालेकै पालामा भएको हो ।

राष्ट्रियताका सवालमा एमाले
राष्ट्रियताका सवालमा एमालेको योगदान महत्वपूर्ण छ । ६० वर्षअघि गुमेको कालापानी, लिपूलेक र लिम्पियाधुरा चुच्चे नक्सामार्फत एमाले सरकारको पालामा समेटियो । चीनसँग नाका खोल्ने बिषय हुन् वा नाकाबन्दीका बेला एमाले सरकारले लिएको अडाननै। यी तथ्यहरुलाई जनताले बिर्सेका छैनन् । त्यसो हुँदा एमालेसँग नीति छ, स्पष्ट कार्यदिशा छन् । यस्लाइकार्यान्वय गर्ने योजना छन् । यसर्थ एमाले कमजोर भएको होइन, झन बलियो भएको छ । जनताले मंसिर ४ को निर्वाचनबाट एमालेले गरेका तमाम यी कामहरुलाई अनुमोदन गरेर बहुमतको सरकार बनाउन मतदान गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

जिरीलाई पर्यटकीय सुन्दर स्थल बनाउनेछु
जिरी प्राकृतिक रुपमाएकदम सुन्दर ठाँउ हो । यो नेपालकै मुख्य पयर्टकीयस्थलका रुपमा परिचित छ । तपाईंले भने झैं यो कुनै बेला सगरमाथाको प्रवेशद्वार थियो ।तर, यहाँ जुनस्तरका सौन्दर्यता छन्, त्यसअनुसार विकास नभएको भने साँचो हो । यसको अर्थ जिरीमा विकास निर्माण हुँदै नभएका होइनन् ।

विश्वमाझ जिरीको महिमा विश्वस्तरसम्म पुगेको छ । यहाँ प्राविधिक शिक्षालय छ । क्षेत्रीयस्तरको अस्पताल छ । सडक कालोपत्रे बनेका छन् । योजनावद्ध ढंगले सहरी बिकास गरिएका छन् । अब मानव निर्मित ताल बनाउने योजना छ । यी सबै हाम्रै अग्रज एमाले नेताको अथक पहलमा भएका हुन् । विकास निर्माणका काम यतिमै सकिने भन्ने होइन । जिरीलाई योभन्दा अझ उच्चस्तरमा विकास गर्न सकिन्छ । पर्यटकको ‘हव’ बनाउन सकिन्छ । यसका सम्भावना जिरीमा प्रचुर छन् ।

साँस्कृतिक पक्षबाट समेत जिरी बलियो छ । जिरेल जातिको उद्गम जिरी हो । उनीहरुका संस्कृति संरक्षण गर्नसके यो नेपालकै लागि नमुना बन्न सक्छ । यी लगायत धेरै सम्भावना छ जिरीमा । यसलाई नयाँ ढंगले विकास गर्न आवश्यक छ । यसको जिम्मेवारी हाम्रो काँधमा छ । त्यस्तै, यहाँको पयर्टन प्रवद्र्धनका लागि जिर्ण अवस्थामा रहेका विमानस्थललाई छिटोभन्दा छिटो संचालनमा ल्याउनका लागि मेरो मुख्य जोड रहनेछ ।

समृद्ध नेपाल : सुखी नेपाली एमालेकै कार्यक्रम हो
संविधानले समाजको आधार तयार गरेको छ । राजनीतिक अधिकारसँग जोडिएका मुद्दा सकिएका छन् । बाँकी भनेको समृद्धि हो । यसका लागि विकास आवश्यक छ । विकास गर्न नीति चाहिन्छ । नीति कार्यन्वयन गर्न भिजन चाहिने भयो । त्यो एमालेसँग छ ।

एमाले त्यो पार्टी हो, जसले लामाबगर नाका खोल्न चिनसँग सम्झौता गर्न सक्यो । त्यसलगतै एमालेबाट निर्वाचित सांसदकै अगुवाईमा सडक खोल्ने काम अघि बढेको छ । उक्त नाकालाई भारतसँग जोड्न तामाकोशी करिडोर बन्न आवश्यक छ । यसको ‘ड्रइङ डिजाइन’ मात्र होइन, निर्माणका कतिपय काम समेत अघि बढेका छन् । तामाकोशी करिडोर निर्माणपछि दोलखा चीन–भारत जोड्ने गतिशिल पुल बन्न सक्छ । यसले दोलखालाई समृद्ध त बनाउँछ नै, सिंगो मुलुकको अर्थतन्त्रलाई कायापलट गर्न सक्छ ।

दोलखाको विकासमा मेरा योजनाहरु
दोलखालाई बाह्य र आन्तरिक पयर्टनको आकर्षक गन्तव्यस्थल बनाउने, चलचित्र नगरीको कामलाई पूर्णता दिने, मुडे–बाघखोर सडक कालोपत्रेलाई छिटो पूर्णता दिने कामलाई प्राथमिकता दिइनेछ । मुडे–बाघखोर सडक कालोपत्रेपछि शैलुङको पयर्टन विकासलाई नयाँ उचाईमा पु¥याउन सकिन्छ । त्यस्तै, दोलखाको चक्रपथ सडकलाई पूर्ण रुपमा कालोपत्रे बनाउने, सिन्धुपाल्चोकको कर्थलीदेखि अपर तामाकोशी–सिंगटी जोड्ने सडक कालोपत्रे गर्ने, शैलुङ, कालिञ्चोक, च्छोरोल्पालाई पर्यटन विकासको हब बनाउने, कृषि उत्पादनमार्फत रोजगारी अभिवृद्धि गर्ने लगायतको काम अगाडि बढाइनेछ । स्थानीय तहहरुसँगको समन्वयमा यी तमाम कम गर्दा दोलखाको आर्थिक विकासलाई नयाँ उचाईमा लैजानेछ भन्नेमा म विश्वस्त छु ।

चुनाव जित्नेमा ढुक्क छुः शिवाकोटी
म यसपटकको चुनाव जित्नेमा पूर्ण विश्वस्त छु । केही राजनीतिक गतिविधि प्रतिकूल ढंगले विकास नभएका होइनन् । स्वतन्त्रहरुको अहिले बाढी छ । स्थानीय तह निर्वाचनका मत परिणाम हेर्दा केही सिटमा जीत पनि भएका छन् । तर, यी अपवाद मात्रै हुन् । यसले मेरो जितमा कुनै फरक पार्दैन ।

मेरो चुनावी एजेण्डा
अन्य पार्टीका उम्मेदवार भन्दा म भिन्न हुँ । भिन्न यसकारणले कि, मसँग दोलखालाई समृद्ध बनाउने स्पष्ट ‘भिजन’ छन् । बेरोजगार समस्या समाधान गर्ने स्पष्ट योजना छन् । दोलखालाई पर्यटकको ‘हब’ बनाउने दिवा सपना मसँग मात्र रहेको छ । केही काम त मैले यसअघि पनि गर्दै आइरहेको छु । जस्तो कालिन्चोकमा फस्टाएको पर्यटनलाइ हेर्न सकिन्छ । त्यहाँ अहिले केबुलकार संचालन भैरहेको छ । यसकै कारण पनि दैनिक चार हजारको संख्यामा पर्यटक जान्छन् । यस्ता काम शैलुङमा पनि गर्न सकिन्छ । दोलखाको पूर्वाधार विकास, कृषि, पयर्टन, जलस्रोत, सडक, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासको नेतृत्व एमालेले गर्दै आएको छ । हामी त्यसलाई अझ व्यबस्थित रुपमा प्रतिवद्धतापत्र लिएर जनताको घरदैलोमा पुग्दैछौं ।

मेरा अन्य योजनाहरुः
खरिढुंगाको जीर्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ । यसो गरिँदा स्थानीय स्रोत परिचालन हुने मात्रै होइन । धेरैका लागि रोजगारी सिर्जना हुन सक्छ । तामाकोशी तेस्रो जलविद्युत आयोजना दोलखाको अर्को ‘ड्रिम प्रोजेक्ट’ हो । यसले दोलखाको मात्रै होइन, मुलुककै अर्थतन्त्रलाई नयाँ ढंगले चलायमान गर्न सक्छ । लामाबगर–फलाक सडक खुल्न सके यसले दुुई ठूला अर्थतन्त्र रहेको चीन र भारतलाई एकै ठाउँ ल्याउन सक्छ । यसले केबल दोलखा मात्र होइन, सिंगो मुलुकलाई समृद्ध बनाउन सक्छ । यसका योजना मसँग छन् ।

देउढुंगा र बिगू गुम्बा यस्तै सम्भावनाले भरिएको धार्मिक क्षेत्र हो । हामीसँग च्छोरोल्पा ताल छ । गौरीशंकर हिमाल छ । जिरी सगरमाथा प्रवेशको मुख्य द्वार हो । वेदिङ दोलखाको यस्तो गाउँ हो,जहाँका प्रत्येक स्थानीयसँग सगरमाथा आरोहरण गरेको अनुभव छ । यी पक्षलाई ‘ब्राण्डिङ’ गर्नसके सोच्नुहोस् त दोलखाको ‘इकोनोमी’ कहाँ पुग्न सक्ला ?

(प्रस्तुतीः गिता खड्का)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij