जीवन लामा (दोलखा)

हिमाली जिल्ला हो दोलखा । बागमती प्रदेशअन्तरगत पर्ने दोलखा काठमाडौबाट १३३ किलोमिटर दुरीमा पर्दछ । दोलखाको सबभन्दा होचो स्थान तामाकोशी गाउँपालिकाअन्तरगत शहरेको जाल्पादेवी किर्ने ७०० मिटर र सबैभन्दा अग्लो स्थान गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा रहेको गौरीशंकर हिमाल (७,१३४ मिटर) पर्दछ । २,१४,२८७ हेक्टर (२१९१ वर्ग कि.मि.) क्षेत्रफलमा फैलिएको दोलखा प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले नेपालकै एउटा महत्वपूर्ण जिल्लाको रुपमा चिनिन्छ । दोलखाको जनसंख्या जनगणना २०७८ अनुसार एक लाख ७२ हजार सात सय ६८ रहेको छ ।
“दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पूरा हुँदैन” भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन स्मरणीय छ । दोलखालाई अभयपुरको नामबाट पनि चिनिन्छ । दोलखा जिल्लालाई ऐतिहासिक रुपमा पनि अगाडि मानिन्छ । दोलखाको नामाकरण सम्बन्धमा पनि विभिन्न किम्वदन्तीहरु प्रचलित छन् । कुनै समयमा एउटा योगी मुसलमानको आक्रमणबाट भागी गौरीशंकर हिमालको एउटा गुफामा गई तपस्या गर्दा शिवजी प्रसन्न भई वरदान दिएकोले योगी खुशीले गद्गद भई अब म एक पटक सबैतिर घुमेर आउछु भनी हिड्दा जति घुमे पनि उही ठाउँमा आइपुग्दो रहेछ । यसरी २ लाख पटक घुम्न निस्कदा पनि पुन त्यहि स्थानमा आइपुग्दा योगी थकित भएर आफ्नै आश्रममा फर्केछन् । यसरी २ लाखपटक घुम्दा पनि त्यहि स्थानमा आएकोले यो स्थानलाई दो + लाख बाट अपभ्रस हुँदै दोलखा (हिन्दीमा दो भनेको दुई र लख भनेको लाख) नामाकरण भएको भन्ने भनाई रहेको पाईन्छ ।
आर्थिक रुपमा पनि छुट्टै पहिचान राख्ने दोलखाका राजा इन्द्रसिंहले नै नेपालमा चाँदीका स्वतन्त्र मोहर प्रचलनमा ल्याएका थिए । भन्न त महेन्द्र मल्लले सवै भन्दा पहिला चाँदीका सिक्का प्रचलनमा ल्याएका भन्ने गरिन्छ तर सो भन्दा पहिला नै इन्द्रसिंहले स्वतन्त्र मोहर प्रचलनमा ल्याएको कुरा अभिलेखहरुबाट पुष्टि हुन्छ । महेन्द्र मल्लले वि.सं. १६१७ देखि १६३१ सालको बीचमा आफ्नो सिक्का प्रचलनमा ल्याएको देखिन्छ भने इन्द्र सिंहदेवले वि.सं. १६०५ अगाडि नै सिक्का प्रचलनमा ल्याएको कुरा पुष्टि हुन आउँछ । अझसम्म पनि दोलखामा टक्सार घरको नामले सिक्का काट्ने घर देख्न सकिन्छ । यसरी सिक्का प्रचलनमा ल्याई व्यापार व्यवसायलाई अगाडि बढाइएको र खानीहरु सञ्चालन समेत गरेको देखिन्छ।

पर्यटकीय दृष्टिकोणले पनि दोलखा भरिपूर्ण मानिन्छ । दोलखालाई प्रकृतिले वरदान दिएझै लाग्छ । यहाँ रहेका ठूला ठूला खोलानाला, झरना, भीरपाखा, हिमाल मात्र होईन । धार्मिक, सांस्कृतिक रुपमा पनि अब्बल मानिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित लाप्ची तथा लामाबगर उपत्यका आसपास धेरै धार्मिक एवम् सांस्कृतिक पर्यटकीय स्थलहरु रहेका छन् । त्यसको अलवा कालिञ्चोक, भीमेश्वर, शैलुङ, गाईखुरा महादेव, महाङ्काल भगवती, त्रिपुरासुन्दरी, विगु गुम्बा, देउढुंगा, देउलाङ, चेर्दुङ, हलेसी, बौलाहपोखरी, पाँचपोखरी, भूतपोखरी, दूधकुण्ड लगायतका धार्मिक स्थलहरु छन् । त्यस्तै सिंगटी, मैनापोखरी, तामाकोशीजबजार, जिरी, राङराङथली, खरिढुङ्गा, चरिकोट लगायतका प्राकृतिक सुन्दरताका स्थानहरु समेत रहेका छन् ।
कालिञ्चोक
कालिञ्चोक गाउँपालिका कालिञ्चोकमा पर्ने समुन्द्र सहतबाट ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक एवम् प्राकृतिक रुपमा अत्यन्त महत्वपूर्ण छ । कालिञ्चोकको टुप्पाबाट विभिन्न हिमश्रृङ्खलाहरु देख्न सकिन्छ भने यहाँ मौसम अनुसारका फूलहरुको आकर्षण र हिउँले पर्यटकहरुलाई मोहित बनाउने गर्छ । किंवदन्ति अनुसार देवताहरुलाई दानवहरुले दुख दिई राज्यबाट च्युत गराएपछि उनीहरु देवीको शरणमा गए । देवताहरुको आराधनाबाट खुशी भएकी देवीले दानवलाई युद्धमा परास्त गरिन । यसरी दानवहरुलाई परास्त गर्ने क्रममा एउटा रक्तबीच राक्षससँग युद्ध गर्नुपर्ने भयो । रक्तबीचको एक थोपा रगत जमिनमा पर्नासाथ एउटा दावन उत्पति हुने भएकोले त्यो दानवको रगत चुहिन नदिन देवीको आव्हानमा काली उत्पन्न भईन । कालीले रक्तबीचको रगत भईमा चुहिन नदिई त्यसलाई मारिदिईन । यसरी कालीले रक्तबीच लगायतको दानवलाई मारेको स्थान कालिञ्चोक हो ।
भीमेश्वर
भीमेश्वर नगरपालिका वडा नं. २ स्थित ऐतिहासिक भीमेश्वर मन्दिर र त्रिपुरा सुन्दरी मन्दिर महत्वपूर्ण छ । भीमेश्वर मन्दिरको सिलामा मुलुकमा कुनै संकटको संकेतको रुपमा विश्वास छ । यो सिला व्यापारीहरुको भारी बोक्ने मजदुरले खाना पकाउने क्रममा पत्ता लगाएको किंवदन्ति रहेको छ । दोलखा भित्रिएका पर्यटकहरु अधिकांश यही भीमेश्वर मन्दिरको दर्शनको लागि आउने गर्छन ।

शैलुङ
तीन हजार एक सय ४८ मिटरको उचाईमा रहेको शैलुङ प्राकृतिक र धार्मिक दुवै हिसाबले महत्वपूर्ण रहेको छ । शैलुङको नामाकरण तामाङ भाषाबाट गरिएको विश्वास छ । तामाङ भाषामा शै भनेको सय र लुङ भनेको थुम्का हो । किंवदन्ति अनुसार सय वटा थुम्का रहेको शैलुङको प्रत्येक थुम्कामा सत्य युगमा ऋषिले तपस्या गरेका थिए । शैलुङमा अहिले निर्माण भै रहेको मिनि ग्रेटवाल पनि महत्वपूर्ण रहेको छ । दोलखाको शैलुङ, मेलुङ गाउँपालिका र रामेछापको शैलुङ दोरम्बा गाउँपालिकाको सीमानामा छ ।
गाईखुरा महादेव
दोलखाको मेलुङ गाँउपालिकामा रहेको गाईखुरा महादेव मन्दिर धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । यो मन्दिरको सिलामा दर्शन गर्दा चिताएको कुरा पुरा हुने जनविश्वास रहेको छ ।
महाङकाल भगवती
महिलाहरुले दर्शन गर्न नहुने दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको महाङकाल भगवती मन्दिर पनि धार्मिक रुपमा महत्वपूर्ण मानिन्छ । यो भगवतीलाई कालिञ्चोक भगवतीको कान्छी बैनी समेत भनिन्छ ।
दोलखामा पर्यटकको लागि सुविधासम्पन्न होटलहरु छन् । टु स्टार होटलको रुपमा एम्ब्रोसिया, अझ रिसोर्टमा बस्न चाहनेको लागि पानारोमा छन् । त्यस्तै सिंगटीमा पनि हिमपर्वत होटल निर्माणको क्रममा छन् । जिरी, कालिञ्चोकमा प्रशस्तै मात्रामा होटलहरु छन् । जसले गर्दा पर्यटकलाई बस्नको लागि थप सुविधा पुग्छ जस्तो लाग्छ । त्यस्तै सवारी साधान पनि बिस्तार विस्तार नयाँ सुविधाहरु थप्ने क्रम जारी छ ।
च्छोरोल्पा हिमताल
दोलखाको मुख्य गन्तव्यको रुपमा चिनिन्छ च्छोरोल्पा हिमताल । पछिल्लोअवस्थामा धेरैको रोजाईनै मान्नुपर्छ । गौरीशंकर गाउँपालिका वडा नं. ९ मा अवस्थित च्छोरोल्पा प्राकृतिक रुपमा सुन्दर छ । चरिकोटबाट छ्योतछ्योतसम्म गाडिमा र त्यहाँबाट २ दिन हिडेर पुग्न सकिन्छ । २०७२ सालको भूकम्पपछि यहाँको पदमार्ग सुविधाजनक बनाएको छ । आन्तरिक तथा बाह्यपर्यटकहरु समेत हिउँदबाहेक जुनसुकै सिजनमा जान सकिन्छ । ४५८० मिटर उचाईमा रहेको च्छोरोल्पा वरिपरिी हिमालले घेरिएको छ ।
लाप्ची
अहिले धार्मिक पर्यटकहरु लाप्चीमा जाने गर्छन । विशेषगरी बाह्यपर्यटकहरु मात्र जाने गरेको यहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरु पनि पुग्ने गर्छन । विगु गाउँपालिका वडा नं. १ लामाबगरबाट साढे एक दिनमा हिडेर पुग्न सकिन्छ । धार्मिक तथा प्राकृतिक रुपमा निकै सुन्दर मानिन्छ लाप्ची । यहाँ शेर्पा जातिको मात्र बसोबास रहेको छ । ऐतिहासिक गुम्बाको साथै ध्यान केन्द्रको रुपमा बढी परिचित छ लाप्ची । लाप्ची उपत्यका तथा आसपासमा धार्मिक, प्राकृतिक, वन्यजन्तु र वनस्पतिका महत्वपूर्ण केन्द्र रहेको छ । चीनसँगको सिमानामा रहेको लाप्ची गुम्बा बौद्धमार्गीहरुको महत्वपूर्ण गन्तव्य हो । तिब्बतीय पात्रो अनुसार १२ वर्षमा राशी परिवर्तन हुन्छ । राशी परिवर्तन अनुसार भेडा वर्षमा लाप्चीमा कुम्भ मेलानै लाग्ने गरेको स्थानीयको भनाई छ । यो समयमा विभिन्न देशका प्रसस्तै बुद्धमार्गीहरु लाप्ची पुग्ने गरेका छन् । यो समय लाप्चीमा रहेको छ्योरागेफेलिङ गुम्बामा विशेष पुजा हुने गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्थल पनि यही लामाबगरमा पर्दछ । यस क्षेत्रमा विभिन्न प्रकारका जडिबुटी र वन्यजन्तुहरु समेत देख्न सकिन्छ । अहिले एउटा निजी हाईड्रोपावरले लामाबगरबाट झण्डै एक हजार एक सय किलोमिटर लामो सुरुङमार्ग निर्माण गरेकोले लाप्चीसम्मको यात्रा छोट्टिदै गएको छ ।
विगु गुम्बा
दोलखाको उत्तरमा लाप्चीको अलवा विगु गुम्बा र देउलाङगेश्वर, देउढुंगा महादेव मन्दिर पनि महत्वपूर्ण मानिन्छ । विगु गाँउपालिकाको वडा नम्बर १ देउलाङमा रहेको यो ठाउँ स्वस्थानी व्रत कथामा उल्लेख भएको महादेवले सेतीदेवीलाई विवाह गरेर ल्याई खरको भित्ता च्यातेर देखाएको ठाउँ भनिन्छ । उत्तरी क्षेत्र विगु गाउँपालिकामा रहेको विगु गम्बा पनि बौद्धमार्गीहरुको महत्वपूर्ण गन्तव्य हो । यसको नाम तिब्बती भाषामा बे खुङ हो । बे खुङ अपभ्रम्स भै विगु भएको स्थानीय बताउछन् । तिब्ब्ती भाषामा बे भनेको लुकेको र खुङ भनेको धार्मिक क्षेत्र हो । झण्डै तीन सय वर्ष अघि विगु गुम्बा भएको स्थानमा प्रख्यात धर्मगुरु मिलारेपाले तपस्या गरेका थिए । उत्तरी क्षेत्रमै रहेको देउढुङ्गा, १२ सय पल्टन, लामाबगरमा रहेको गुम्बा लगायत पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य मानिन्छ ।
जिरी बजार
जिरी नगरपालिकाअन्तरगत पर्दछ जिरी बजार । जिरी प्राकृतिक सुन्दरताको साथै धार्मिक, सांस्कृतिक रुपमा पनि अग्रस्थानमा रहेको छ । अहिले जिरीमा धेरै गन्तव्यहरु निर्माण गरेका छन् । जिरीको सिक्री पनि भाषा, संस्कृतिको खानी मानिन्छ । यहाँ जिरेल समुदायको मात्र बसोबास रहेको छ । जिरीमा घुम्नको लागि जिरीश्वरी मन्दिर, बुद्धपार्क, स्टोनपार्क, गुराँसपार्क छन् । दोलखा छिरेपछि जोकोही एकपटक जिरी घुम्न जाउँ न भनेर योजना बुनेका हुन्छन् । जिरीबाट कोसेलीको रुपमा याकको चीज, छुर्पी, जिरी चिया प्रख्यात छ । सदरमुकाम चरिकोटबाट ५५ किलोमिटरको दुरीमा रहेको छ । यहाँबाट चेर्दुङ, पाँचपोखरी, जट्टापोखरी पनि जान सकिन्छ ।

सम्भावना
दोलखामा पर्यटकको लागि सुविधासम्पन्न होटलहरु छन् । टु स्टार होटलको रुपमा एम्ब्रोसिया, अझ रिसोर्टमा बस्न चाहनेको लागि पानारोमा छन् । त्यस्तै सिंगटीमा पनि हिमपर्वत होटल निर्माणको क्रममा छन् । जिरी, कालिञ्चोकमा प्रशस्तै मात्रामा होटलहरु छन् । जसले गर्दा पर्यटकलाई बस्नको लागि थप सुविधा पुग्छ जस्तो लाग्छ । त्यस्तै सवारी साधान पनि बिस्तार विस्तार नयाँ सुविधाहरु थप्ने क्रम जारी छ । काठमाडौदेखि लामाबगरसम्म डिलक्स बसहरु सञ्चालनमा ल्याएको छ । चरिकोटदेखि काठमाडौसम्म एभि गाडीहरु सञ्चालनमा छ । दोलखाको सबै वडामा गाडी पुग्छ । घुम्नको लागि नगरपालिका, गाउँपालिकाहरुले प्रशस्तै भौतिक संरचनाहरु निर्माण गरेका छन् । तसर्थ दोलखा छिरेका पर्यटकहरु २, ३ दिन घुम्न र रमाईलो गर्न समय कटाउन गाह्रो हुँदैन जस्तो लाग्छ । ट्रेकिङको लागि पनि ६,७ दिन लाग्ने ठाउँहरु प्रशस्तै छन् । उद्गम थलो दोलखा रहेका जातिहरु सुरेल, जिरेल र थामीको बारेमा अध्ययन, अनुसन्धान, थेसिस गर्न पनि आउन सकिन्छ । जलविद्युतको हब भएकाले यस सम्बन्धी अध्ययन, अनुसन्धान गर्न आउन पनि सकिन्छ । अभ्यासको लागि साना साना पिकहरु पनि प्रशस्तै छन् रोल्वालिङ रेन्जमा ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij