
ठमेल ज्याठा स्थित सञ्चालनमा रहेको होटल हिमालय अशोका प्रा.लि सामुहिक लगानी अवधारणामा सञ्चालनमा ल्याइएको होटल हो । उक्त होटलको मुख्य जिम्मेवारीमा छन् व्यवसायी चेत नारायण न्यौपाने । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ मा कमजोर आर्थिक हैसियतको परिवारमा जन्मेका चेत नारायण न्यौपाने सानै छँदा बुबा आमा दुवैलाई गुमाउनुपर्यो । ४ कक्षा पढ्दा बुबा र ८ कक्षा पढ्दा आमाको कोखबाट अलग हुनुपरेको कारण विभिन्न कठिन स्थिति उनले सामना गर्नुपर्यो । एसएलसी शिक्षा गाउँबाटै पूरा गरेपछि काठमाडौं छिरे उनी । ठमेलको सरस्वती क्याम्पसबाट प्रमाणपत्र तह र बिबिएस प्रथम बर्षको परिक्षा दिएपश्चात् आफैंले केही गर्नुपर्छ भन्ने मानसिकतामा पुगे उनी ।
न्यौपानेलाई लाग्थ्यो कि आफूले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा नै प्रेरणादायी हुने किसिमले काम गर्नुपर्छ । साथै जहाँ पुग्न सकियो, त्यहाँबाट धेरै कुरा सिक्न र त्यसलाई आफ्नो ठाउँको विकासको लागि प्रयोगमा ल्याउन सकिन्छ भन्ने पनि लाग्थ्यो । यसैकारण उनी अध्ययनको लागि स्वीट्जरल्याण्ड जान चाहे । यद्यपि त्यहाँ जान आर्थिक अवस्था लगायतले साथ नदिएपछि उनी अध्ययनको लागि मलेसिया पुगे ।
व्यवसायी न्यौपाने विदेश अध्ययनको लागि जाने हरेक व्यक्ति आफू केही सिक्न वा अध्ययनको लागि विदेश गएको सम्झनुपर्ने बताउँछन् । जसबाट आफूले त्यहाँ सिकेको सीप आफ्नै माटोको लागि प्रयोगमा ल्याउन सकियोस् ।
मलेसिया रहने क्रममा रेष्टुरेन्ट लगायत व्यवसायमा संलग्न बनेका न्यौपाने नेपालमा आएपश्चात् हाल हस्पिटालिटी क्षेत्रमा संलग्न छन् । होटल व्यवसायमा संलग्न भएका शुरुवाती दिनमा ३ सिफ्ट गरी ३२ जना सम्मलाई रोजगारी सृजना गरेका उनले । कोरोना पश्चात् हाल भने २ सिफ्टमा गरी ११ जना व्यक्तिलाई काममा संलग्न गराएका छन् उनले ।
युके अन्तरगतको एसोसिएसन अफ विजनेश एक्जेक्युटिभ (एबिई)मा स्नातकोत्तर गरेका न्यौपाने युवा पुस्ताको लागि उत्पे्ररक पात्रको रुपमा
समेत आफूलाई परिचित गराउन सफल छन् । बहुआयामिक प्रतिभाशाली व्यक्तिको पहिचान बनाइरहेका उनले विभिन्न देशहरुमा प्रशिक्षकको भूमिकामा उत्प्रेरक गतिविधि समेत सञ्चालन गर्दै आइरहेका छन् ।
सकारात्मक सोच, निरन्तरता, अनुशासन, सामाजिक परिस्थितिसँगको घुलमिल र सामुहिक पहलबाट व्यवसायमा सफल हुन सकिने उनको धारणा छ ।
नेपालमा लायन्स क्लब, योग प्रशिक्षक लगायत विभिन्न सामाजिक गतिविधि एवं संघसंस्थामा संलग्न रहेका उनी मुलुकको दिगो विकासको लागि राज्यले व्यवसायमा भन्दा पनि उद्योगलाई विशेष महत्व दिनुपर्ने र सहज व्यावसायिक वातावरण सृजना गर्नुपर्नेमा विशेष जोड दिन्छन् ।
नेपाल व्यवसायको लागि राम्रो सम्भावनायुक्त मुलुक रहेको र यहाँका सम्भावनालाई उपयोगमा ल्याउन सकेको खण्डमा बढ्दो व्यापार घाटा घटाउन सकिने र उद्यमशिल समाज निर्माण गर्न सकिने उनको बुझाई छ । पछिल्ला बर्षहरुमा नेपालमा रेमिट्यान्सबाट ठूलो रकम नेपालमा भित्रिइरहेको भएपनि उक्त रकम यहीँ उत्पादन गर्न सकिने वस्तु समेत बाहिरबाट ल्याउनुपरेको कारण आयातको क्रममा बाहिरिइरहेको यथार्थबाट आफू असन्तुष्ट रहेको तर्क गर्छन् ।
स्थिति अलि सहज बनेको खण्डमा आफ्नो होटलको लागि आवश्यक पर्ने अधिकांश सामान आफैंले उत्पादन गर्नुपर्ने मानसिकता समेत बनाएको उनी बताउँछन् । नेपालमा होटलहरुमा आवश्यक पर्ने सानो प्याकेटको चिनी, होटलमा राखिने व्यक्तिगत साबुन, कान कोर्ने एयर ब्रस लगायत समेत बाहिरबाट भित्र्याउनु दुखद रहेको उनको तर्क छ । यसकारण नेपालमा आफूले यस्ता सामानहरु उत्पादन तर्फ कदम चाल्न उपयुक्त वातावरण पर्खिएको उनी बताउँछन् ।
उद्यमशिल समाज निर्माणको लागि हरेकले जो सँग जुन सीप र क्षमता छ, त्यहीँबाट काम गर्नुपर्ने आवश्यकता रहेको उनी स्वीकार्छन् । यसको अलावा नेपालमा नै रहेको स्रोत साधनको उच्चतम उपयोग गर्न सकेको खण्डमा कम लागतमा उच्च प्रतिफल हासिल गर्न सकिने उनको तर्क छ ।
मलेसियामा रहँदाको अनुभव
मलेसिया बसाईका शुरुवाती दिनमा सेक्युरिटी कम्पनीमा जागिर गरेका न्यौपानेले त्यहीँ व्यवसाय बिस्तार गरे । व्यवसायमार्फत मलेसिया रहँदा छोटो अवधिमा नै राम्रो उपलब्धि हासिल गरेका व्यक्ति हुन् न्यौपाने । मलेसियाको रावाङमा पहिलो पटक नेपाली इन्ष्टिच्युटको रुपमा हाना कम्प्युटर इन्ष्टिच्युट सञ्चालन गर्ने शायद पहिलो व्यक्ति उनै हुन् । उक्त व्यवसाय सफल नै बन्यो ।
त्यसपछि नेपालमा आएर विवाह गरेका उनी यहीँ आएर लुम्बिनी तन्दुरी व्यवसाय सञ्चालन गरे । त्यस व्यवसायबाट उनी सन्तुष्ट हुन सकेनन् । फेरी उनी मलेसिया नै फर्के । केही समय त्यहाँ व्यवसाय गरेपछि सन् २०१५ मा मलेसियाका सबै व्यवसाय छोडेर नेपालमा फर्किए पछि केही बर्ष खालि रहेका उनले अन्य साथीहरुलाई साथमा लिएर लकडाउन हुनु भन्दा करिब १ बर्ष पहिले पर्यटन व्यवसाय अन्तरगत होटल सञ्चालनको शुरुवात गरे ।
ठूलो समस्या बन्दै आयातमुखी अर्थतन्त्र
नेपालमा उत्पादनशिल वातावरण निर्माण हुन नसक्नुमा यहाँको राज्यको नीतिगत व्यवस्थामा कमजोरी रहेको न्यौपानेको बुझाई छ । आफू सानो हुँदा मट्टितेल, नुन र चिनीको लागि मात्रै पैसा खर्च हुने गरेको स्मरण गर्दै अहिले शहर देखि गाउँ सम्म नै सबै सामान किन्नुपर्ने बाध्यात्मक परिस्थिति निकै दुखद रहेको उनको धारणा छ । राज्यले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकता दिन नसक्दा यो स्थिति आएको उनको बुझाई छ । नेपालमा कृषि व्यवसायमा व्यावसायिक तवरले संलग्न व्यवसायीहरु समेत यहाँको वातावरणको कारण निराश हुनुपर्ने स्थिति रहेको उनी बताउँछन् । साथै राज्यकै अव्यवस्थित नीतिको कारण युवाहरु नचाहँदा नचाहँदै पनि विदेशिनुपर्ने स्थिति सृजना भएको उनको बुझाई छ ।
नेपालमा कसैले उत्पादनमूलक काममा संलग्न भएको खण्डमा भारतले यहाँको मूल्यको तुलनामा अझ सस्तोमा सामान उपलब्ध गराउने तर यहाँको सरकारले उद्योगलाई प्रतिष्पर्धी बनाउन कुनै पहल नगरेको यथार्थबारे बताउँदै यस्तो हुनुमा राज्यको कमजोरी रहेको उनको धारणा छ ।
नेपाल र मलेसियामा फरक
नेपाल र मलेसियामा व्यावसायिक वातावरणमा आफूले पाएको फरकलाई न्यौपानेले निम्न बमोजिमका बुँदामा बताए ।
– मलेसियामा व्यवसाय धराशयी हुने सम्भावना कम र फस्टाउने सम्भावना बढी रहन्छ भने नेपालमा व्यवसाय धराशयी हुने सम्भावना बढी छ ।
– नेपालमा नीतिगत रुपमा झण्झटिला व्यवस्था छन् ।
– नेपालमा राज्यले उत्पादन क्षेत्रलाई संरक्षण गर्ने नीति लिएको छैन । सबै जोखिम व्यवसायी आफैंले वहन गर्नुपर्छ ।
– नेपालमा उधारो प्रचलन बढी छ । जबकि मलेसियामा मुनाफा दर न्यून भएपनि कारोबार नगदै हुन्छ ।
– अहिले बैंकको व्याजदर उच्च छ । राज्यले ब्याजदर निश्चित बिन्दुमा स्थिर गर्न नसक्दा व्यवसायी हतोत्साही हुनुपर्ने स्थिति छ ।
– नेपालमा अस्वस्थ प्रतिष्पर्धा गर्ने प्रचलन उच्च छ । जसबाट उत्पन्न हुने स्थिति सम्बन्धमा कसैले विचार गरिँदैन ।
– विश्वका अन्य देशले उत्त्पादनलाई बढी महत्व दिएका छन् । ती देशको अवस्था माथि उठेको छ । नेपालले उत्पादनलाई प्रवर्द्धन नगर्दा हाम्रो अवस्था कमजोर बन्दै गएको छ ।

युवालाई सुझावः
सम्भव भएसम्म युवालाई नेपालमा नै रहन र बाहिरिनु परिहाले त्यहाँ रहँदा आफू सिक्न गएको महसुस गर्न उनी युवालाई सुझाव दिन्छन् ।
साथै विदेश रहँदा जे काम गरिएको छ, त्यही काम नेपालमा आएर गर्न युवालाई उनी प्रेरित गर्न चाहन्छन् ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij