२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

तातोपानीको मितेरी पुलमै सीमा सुरक्षा बैठक, मेडिकल र खाद्य सामग्री आयात खोल्ने निर्णय

तातोपानीको मितेरी पुलमै सीमा सुरक्षा बैठक, मेडिकल र खाद्य सामग्री आयात खोल्ने निर्णय

सिन्धुपाल्चोक । प्राणघातक कोरोना भाइरस संक्रमणको त्रासबीच नेपाल र चीनबीचको सीमा सुरक्षा बैठक मंगलबार तातोपानीस्थित मितेरी पुलमै सम्पन्न भएको छ । बैठकले उत्तरको प्रमुख व्यापारिक नाकामध्येको तातोपानीबाट बिहीबारदेखि चीनबाट अत्यावश्यक सामानको आयात नियमित गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार मेडिकल सामान र खानेकुराबाहेक अन्य सामान तत्काल आयात हुने छैन । लकडाउन अवधिभर कोरोना भाइरसको सम्भावित संक्रमणसँग जुध्न आवश्यक पर्ने सामान अभाव हुन नदिन सरकारले उत्तरका दुई नाका––तातोपानी र रसुवागढी खोल्ने निर्णय गरेको थियो । तैपनि नियमित आयात नभएको तातोपानीबाट अत्यावश्क सामग्रीको आयात नियमित हुने ढकालले बताए ।

चीनबाट सहज र सुरक्षित ढंगले कसरी र कुन मोडालिटीमा सामान ल्याउने भन्नेमा बैठकमा सहमति जुटेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । सामान आयात गर्दा दुवै मुलुकले मेडिकल प्रोटोकल पालना गर्नुपर्ने उनले बताए ।

उनका अनुसार नेपाली व्यवसायीको अर्डरपछि चिनियाँ पक्षले नै सीमासम्म सामान ल्याइदिनेछ । मितेरी पुल क्षेत्रसम्म आइपुग्ने सामान लिन नेपाली पक्ष त्यहाँसम्म पुग्नुपर्ने छ । बढीमा २० जनासम्म नेपाली चालक र भरियालाई पुलसम्म पुग्न चीनले अनुमति दिएको भन्सार प्रमुख खत्रीले बताए । ‘अध्यागमन कार्यालयले दिने परिचयपत्रको आधारमा सामान आयातमा संलग्न चालक र भरियाले प्रवेश पाउनेछन्,’ उनले भने । मितेरी पुलनजिकै चालक र भरियाको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ चिकित्सक र आवश्यक उपकरणसहित हेल्थ डेस्क सञ्चालनमा ल्याइसकिएको उनले जानकारी दिए ।

मितेरी पुल क्षेत्रबाट सम्बन्धित व्यवसायीले बुझ्ने सामान सुक्खा बन्दरगाह पुर्याइएपछि भन्सार जाँचपास प्रक्रिया सुरु हुनेछ । तीन सामान १२–१४ घन्टासम्म भन्सारको आइसोलेसनमा राखेर मेडिकल परीक्षण पूरा गरेपछि मात्र राजधानी पठाइने भन्सार प्रमुख खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij