काठमाडाैं । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अदालतले डा. केसीलार्इ मंगलबार विहान ९ बजे अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले उक्त आदेश दिएको हो ।

मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाएका केसी प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारदेखि अनशन बसेका छन् । अनशनबारे जानकारी दिन अायोजित पत्रकार सम्मेलनमा डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधाश शाहीको पनि आलोचना गर्नुका साथै अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको बताएका थिए ।
उनको सो अभिव्यक्ति पछि सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अवहेलना मुद्दा हालेका थिए । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।
अादेशमा भनिएको छ, गोविन्द केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको देखिँदा निजलार्इ अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी २०७४/९/२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij