२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

जातिय विभेदमा पनि राजनीतिक संरक्षण ?

जातिय विभेदमा पनि राजनीतिक संरक्षण ?

प्रशंग: रूपा सुनार र सरस्वती प्रधान

पदम आरडि, प्रिन्सिपल, टाइम्स स्कुल (तारकेश्वर)

पछिल्ला केही घटनाले प्राकृतिक तथा सामाजिक न्यायलाई मान्छेहरुको आफ्नो अहंकार र मुढेबलले थिचोमिचो गरेर मानव–मानव बिचको सुमधुर सम्बन्धलाई विभेदकारी दरार पारी न्यायलाई ओझेलमा पार्न खोजेको देखिएको छ । सन्दर्भ हो रूपा सुनारको । मलाई पनि यस विषयमा दुई शब्द कोर्न मन लागेर यो प्रयाश गरेको छुु ।
रूपा सुनारको पहिलो पुस्ता जातीवाद सहने र मानव–मानवबिच विभेदकारी कार्यलाई अज्ञानताको कारणले गर्दा भाग्य नै यस्तै हो, कर्मको फल वा मान्नैपर्ने नियम भनेर मुकदर्शक बनी सहन सक्ला तर रूपा सुनार जस्तो अबको नयाँ पुस्ताले यस्तो विभेदकारी नीतिलाई कदापि सहन सक्दैनन् । आफ्नो भाग्य आफैँ कोर्न सक्ने यी कर्मठ युवाहरु सामाजिक विभेद सहेर बस्न सक्दैनन् ।

यो देशको नागरिक भएकोले अन्य नागरिकहरु सरह समान न्याय, समान सहभागिता र प्राकृतिक स्रोतसाधनमा समान पहुँच, सामाजिक न्याय प्रणालीमा समान अवसर, राज्यसत्ता तथा कानुन परिचालन गर्ने तहमा समान सहभागिता खोज्नु अहिले सबै देशबासी नागरिकको लागि स्वभाविक बन्न पुगेको छ ।

अहिलेको पुस्ता यदि यस्ता आधारभूत अधिकार तथा मानवीय व्यवहारको सुनिश्चितता नभएको खण्डमा विद्रोहको राँको बालेर न्याय प्राप्तिको लागि अघी बढ्न तयार भइसकेको छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो ज्यानको बाजी लगाउन तैयार छन् आजका पुस्ता । साथै उपल्लो जाति भनिने युवाहरु पनि समाजको यस्तो विभेदकारी प्रणाली वा नियमलाई तोड्दै तथाकथित दलित भन्ने साथीहरुसँग हातेमालो गरी नयाँ सम्बन्ध स्थापना गरेर अगाडी बढ्न अग्रसर छन् । यो अत्यन्तै सराहनिय कदम हो । तथापि सरस्वती प्रधान, जसले विभेदकारी नीतिको प्रतीक र रूपा सुनार पीडितको प्रतिकको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा निकै तिखा प्रहार गरेको पाइन्छ । जसमा अहंकारी भाव प्रष्ट देखिन्छ ।

मैले यस अगाडीको लेखमा पनि उल्लेख गर्ने प्रयास गरेको थिएँ कि दलित भन्ने शब्द आफैंमा जात होइन । यो त समाजका टाठाबाठाले भिडाइदिएको विल्ला हो, जसले आजसम्म ठूला जाति भनिनेहरूले दलित भन्ने शब्द दुरूपयोग गरी आफूजस्तै मानवलाई होच्याउने हतियार बनाएका छन् । उनीहरूको मानसपटलमा दलित भन्ने बित्तिकै नीच, अछूत र फोहोरी वर्ग हुन् भन्ने अर्थ पाल्दै आएका छन् र आफैँलाई अन्य भन्दा उच्च देखाउन मन पराउँछन् । यस किसिमको सोच आफ्नो नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्दै लगिरहेका छन् । यो गम्भीर चिन्ताको विषय बनेको छ । जस्तै सरस्वती प्रधानले दलित भन्ने शब्द सुन्ने बित्तिकै भाडामा लगाइरहेको आफ्नो खाली कोठा आमालाई देखाएर रूपा सुनारलाई दिन नमिल्ने तर अन्य कोही भए पठाइदिनु नानी भनी मिठो तथा आधुनिक पाराले विभेद गर्नु ।

सरस्वती प्रधानले नबुझेकी पक्कै छैनन् यो जातीय भेदभाव हो भन्ने कुरा । तर वाहुनवाद सोचले उनी यसरी ग्रसित छिन् कि उनी विवेक शून्य जस्तै भएकी छिन् । आफु र आफ्नो सन्ततीलाई उच्च राख्न उनले देखाएको दुस्कार्य मात्र हो यो ।

नेवारहरुमा जातीय भेदभाव मैले नजिकैबाट नियालेको छु । जस्तै शेरठ, मानन्धर, देशार, प्रधान, शाक्य र कपाली बिच हुने गरेको फरक । विभेद अलि न्यून होला तर कुरा उस्तै हो । यी देशका मूल निवासीहरू पनि वाहुनवादको शिकार भएका छन् ।

वाहुनवादको कारणले संविधानका पानाहरुमा, कलिला बालबालिकाहरुले पढ्ने पाठ्यपुस्तकमा दलित भन्ने शब्दले ठाऊँ पाएको छ । राज्यले सबैलाई समान नागरिक मान्ने हो भने यो शब्द हटाउनुपर्छ । किनभने यो शब्दले समाजबाट अपहेलित वर्गलाई भत्भति पोलेको छ ।

सन्दर्भ नेपालका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको

मन्त्री यही समाजको उपज भएकोले वाहुनवादी संस्कार उनको रग–रगमा बसेको छ । यो संस्कार अनुसार पानी मात्र चल्ने सानो जातको सूचिमा म पनि पर्छु भन्ने उनलाई राम्रोसँग थाहा छ । तर यसलाई बिर्सेर संविधानले दिएको समान अधिकार, समान न्याय सिद्धान्तलाई कुल्चेर सरस्वती प्रधानलाई छुटाउन झण्डावाल गाडी (देशको सम्पत्ति) दुरुपयोग गरी प्रहरी अनुसन्धानलाई प्रभावित पारेर, युद्ध जिते सरह हात हल्लाई, मन्त्रीले गाडीमार्फत घरमा पुर्याउने दुस्साहस गरेका छन् । यसबाट उनको गरिमा बढेको छैन । बरु खुम्चिएको छ । उनी सीमित नेवार जातिका मात्र शिक्षा मन्त्री बन्न पुगेका छन् । अब उनी सम्पूर्ण नेपालीको मन्त्री रहिरहन सकेनन् ।
पीडक र पीडित जो भएपनि न्यायको आाँगन पुगी सकेको हुनाले यस घटनाको छिनोफानो हुने नै थियो । छानबिनलाई टुङ्गो लगाउन नदिनु मन्त्रीको अराजक शैली हो । यसको घोर भत्र्सना गर्नुपर्छ । मन्त्रीको उपस्थित हुँदैमा प्रहरी प्रशासन निरीह बन्नुपर्ने कुनै कारण थिएन । यो त उच्चपदस्थ व्यक्तिको दबाबले न्याय प्रणाली कसरी प्रभावित हुन्न भन्ने सम्बन्धमा एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यस्तो अवस्था समाजमा कायम रवहेको कारण अब सर्वसाधारण नागरिक न्याय खोज्न कहाँ जाने, यो अर्को गम्भीर प्रश्न उब्जिएको छ ।

सन्दर्भ कोठा र कोटाकोः–
वाहुनवादी सोच भएका व्यक्तिहरूको सोच अझै उदेकलाग्दो छ । कोठा र कोटा छुट्याउन नसक्ने कस्तो शिक्षा हामीले प्राप्त गरेछौं । मेधावी र उत्कृष्ट शक्तिलाई जुनसुकै जातीबाट सम्बन्धित भएपनि शिक्षामन्त्रीकै शब्दलाई सापटी लिएर भन्नुपर्दा कुनै माइकालालले रोक्न सक्दैनन् । तर तथाकथित ठूला भनिने वर्गलाई सत्ता, रोजगारी र हालीमुहालीबाट विमुख हुनुपर्छ कि भन्ने चिन्ताले पिरोलेको पाइन्छ । यसको आक्रोश कोठा र कोटामा व्यक्त हुने गरेको पाइन्छ ।

म हाम्रा प्यारा देशका शक्तिमान युवाहरूलाई नकारात्मक सोच नराखी यी हरफलाई राम्ररी नियालेर चिन्तन गर्न र त्यसो हुँदा उत्पन्न हुने मनोभावलाई आफैंले गम्भीर रुपमा अनुभव गर्र्न आग्रह गर्दैछु ।

पानीको धारा अपहेलित हुन पर्दा

मठमन्दिरमा शुभकार्यमा सहभागी हुन नपाउदा।

घरदैलोमा अपहेलित गरिँदा

शिक्षा एवं आर्थिक र सामाजिक न्यायबाट अलग गराईंदा

एक हल खेतबारी नभएर अरुकोमा बाध्यताले कमारो बस्नुपर्दा

यस्ता अवस्थामा तपाईंको मनमस्तिष्कमा कस्तो असर पथ्र्याे होला, एकपवटक विचार गर्नुहोस् त ।
तरपनि तथाकथित उच्च जातिभित्र पर्ने युवाहरू नआत्तिनुहोस् । २४० बर्ष देखि प्राकृतिक स्रोतसाधन, आर्थिक स्रोत, राजनीतिक पहुँच, न्याय प्रणाली र शिक्षाको पहुँच अधिकांश वाहुन–क्षेत्रीकै पकडमा रहँदै आएको छ । विचरा ती तथाकथित दलितको पहुँच अहिले सम्म कहाँ छ र ? सबैथोकबाट विमुख समुदायलाई विकासको मूलधारमा ल्याउन केही आरक्षण मात्र दिईंदा पनि के त्यसरी आत्तिनुपर्छ र ?

अतः रुपा सुनारको विद्रोह उनको मात्र नभई समस्त उत्पीडित नेपाली नागरिकको विद्रोह हो । राज्यले बेलैमा यसलाई बुझ्नुपर्छ । समयमा नै संयमित र समर्त रहौं कि आगो दन्कियो भने यसले निम्त्याउने अन्तिम परिणाम त खरानी नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij