
मोहन ओझा लामो समय देखि मानव संशाधनको क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन् । लामो समय जागिरमा जोडिएर सेवारत रहने क्रममा आफूले सिकेको ज्ञान, सीप र अनुभव नेपाल र नेपालीहरुको हितमा बाँड्ने आवश्यकता महसुस गरेर उनले ग्रोथ सेलर प्रा.लि.नामक कम्पनी सञ्चालनमा ल्याएका हुन् । उक्त संस्थाले भर्खर मात्रै १५ बर्ष पूरा गरेको छ ।
ग्रोथ सेलर, ग्रोथ लिडरसिप एकेडेमी, कर्पोरेट क्लब नेपालका प्रबन्ध निर्देशक रहनुभएका ओझा ह्युमन रिसोर्स सोसाइटी नेपालका पूर्वअध्यक्ष हुनुहुन्छ । यसैगरी ऊहाँ फेडरेसन अफ आउटसोर्सिङ एण्ड स्टाफिङ इन्ष्टिच्युसन नेपालका हाल अध्यक्ष समेत हुनुहुन्छ ।
नेपाल व्यवस्थापन संघ (ःब्ल्) का महासचिव समेत रहेका ओझा पछिल्ला बर्षहरुमा मानव संशाधन प्रति निजी क्षेत्रका बैंक एवं कर्पोरेट क्षेत्रको चासो विशेष रुपमा बढ्दै आइरहेको बताउनुहुन्छ ।
व्यवसायको अलावा आफूले गरेको कामको रिफ्लेक्सन समाजमा देखिनुपर्छ भन्ने मान्यता राख्ने ओझा सेवाको गुणस्तरीयतामा ध्यान दिनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुनुहुन्छ ।
ग्रोथ सेलरबाट हुँदै आएका कामहरु
ग्रोथ सेलरले हाल कोरा जनशक्ति खोजेर उनीहरुलाई विभिन्न कम्पनीको आवश्यकता अनुसारको क्षमता विकास गराई उपलब्ध गराउने काम गर्दै आएको छ । लर्निङ एण्ड डेभलपमेन्टको लागि काम गर्दै आइरहेको यस कम्पनीले निजी कम्पनीहरुलाई आवश्यकता बमोजिम विभिन्न किसिमका कन्सल्ट्यान्ट सर्भिस समेत उपलब्ध गराउँदै आएको छ । विभिन्न कर्पोरेट कम्पनीमा काम गरिरहेका जनशक्तिको थप क्षमता अभिवृद्धिका लागि तालिमहरु समेत सञ्चालन गर्दै आएको यस कम्पनीले मूलतः जनशक्तिको क्षमता अभिवृद्धिलाई नै मुख्य केन्द्रबिन्दुमा राखेर आफ्ना सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
पछिल्ला दिनहरुमा कम्पनीले कर्मचारी माथि गरेको लगानीको तुलनामा कर्मचारीको उत्पादकत्व मापन, कार्यक्षमता विष्लेषण लगायतका नवविकसित अवधारणा बमोजिम पृथक मूल्याङ्कन विधिहरु अवलम्बन गरेर संस्थाको कार्यक्षमता अभिवृद्धिलाई विशेष जोड दिँदै आएको छ । संस्थालाई न्यून लागतमा कसरी उच्च प्रतिफल प्रदान गर्न सकिन्छ भन्नेमा नै यस कम्पनीको मुख्य जोड दिने गरेको छ ।
ग्रोथ सेलरको आयोजनामा हरेक बर्ष एचआर मिट, सेल्स समिट र विभिन्न सूचकको आधारमा समाजमा विशेष योगदान पु¥याएका व्यक्ति एवं संस्थाहरुलाई सम्मानमूलक कार्यक्रम गरी मूलतः ३ ओटा ठूला इभेन्टहरु सञ्चालन गरिँदै आइएको छ ।
समाजमा राम्रो काम गरेर पनि परिचित हुन नसकेका व्यक्तिहरुको पहिचान गरी उनीहरुको योगदानको सम्मान गर्दै थप हौसला मिलोस् भन्ने मान्यताले आफूहरुको समेत समाजप्रतिको दायित्व सम्झेर यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक ओझाले सेतोघर डट कमसँगको कुराकानीका क्रममा बताउनुभयो ।
पछिल्ला बर्षहरुमा कतिपय अवस्थामा सम्मानको नाममा केही विकृतिहरु बढ्दै गएको परिस्थिति दुखद रहेको बताउने ओझा आफूहरुले आयोजना गर्ने इभेन्टमा त्यस्तो हुन नसक्ने गरी व्यवस्था मिलाइएको र यसको लागि विभिन्न सूचांकलाई आधार बनाई निर्णायक समिति बनाइने बताउनुहुन्छ । निर्णायक समितिबाट उत्कृष्ट ठहरिएका व्यक्ति एवं संस्था जोसुकै छनौटमा परेपनि बिना भेदभाव उक्त सम्मान आफूहरुले उपलब्ध गराउने ओझाको दाबी छ । आफूहरुको विकट अछामको बयलपाटा अस्पताल समेत आफूहरुको सम्मानको सूचीमा परेको ओझाले बताउनुभयो ।
मानव संशाधन विभाग सबै निजी क्षेत्रको लागि आवश्यकता बन्दै
विगतमा नेपालका कुनै पनि कर्पोरेट कम्पनीमा अलग्गै मानव संशाधन विभाग थिएन । मानव संशाधन विभाग आवश्यक पर्छ भन्ने सम्बन्धमा आफूहरुले निरन्तर निरन्तर पहल गरेको प्रभावस्वरुप अहिले हरेकजसो बैंक एवं कर्पोरेट संस्थाहरुमा अलग्गै एचआर डिपार्टमेन्ट स्थापना हुन सकेको ओझा दाबी गर्नुहुन्छ । यस कार्यलाई ओझा आफूहरुको तर्फबाट भएको पहलको ठूलो उपलब्धि सम्झनुहुन्छ ।
जनशक्तिमा लगाइने रकम लगानी हो, खर्च होइन
संस्थालाई राम्रो बनाउनको लागि त्यहाँ काम गर्ने मान्छेहरु उच्च क्षमतावान् हुनुपर्छ । जनशक्तिको क्षमता अभिवृद्धिमा लगाइएको रकम खर्च नभई लगानी मान्नुपर्नेमा ओझा जोड दिन्छन् । क्षमता विकासमा गरिएको लगानीको प्रतिफल तत्काल प्राप्त नहुने र दीर्घकालमा त्यसले निकै राम्रो प्रतिफल दिने ओझाको धारणा छ ।
हरेक कम्पनीले बुझाईको दायरा फराकिलो बनाउनुपर्छ
नेपालका हरेक कर्पोरेट कम्पनीले अब क्षमतावान् जनशक्ति आफ्नो कम्पनीमा लामो समय नटिक्ने भन्ने साँघुरो सोचाइबाट माथि उठेर सबै कम्पनीले खुल्ला सोचाई विकास गर्न ओझा आह्वान समेत गर्छन् । आफूले आफ्ना जनशक्तिलाई क्षमतावान् बनाए पश्चात् सक्षम जनशक्ति अर्को कम्पनीमा कामको लागि गएपनि आफ्नो कम्पनीमा अर्को कम्पनीबाट सक्षम जनशक्ति नै प्राप्त हुन सक्छ भन्ने मान्यता सहित सबैले वृहद सोच विकास गर्नुपर्नेमा ओझा जोड दिन्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij