२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

जनता प्रति गैरजिम्मेवार सरकारका कारण जनताले दुख पाएः सुवाल

जनता प्रति गैरजिम्मेवार सरकारका कारण जनताले दुख पाएः सुवाल

काठमाडौं । रासायनिक पदार्थमा गरिएको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा उत्पादनमा संलग्न हुने किसानलाई ठूलो मारमा परेकोले मूल्यवृद्धिलाई तत्काल फिर्ता लिनको लागि नेमकिपाका सचिव प्रेम सुवालले आग्रह गरेका छन् ।

अण्डा, मासु लगायतमा नेपाललाई आत्मनिर्भर भनिरहँदा सबै किसिमका कच्चा पदार्थको निम्ति नेपाल बाह्य मुलुकमा नै निर्भर रहनुले आत्मनिर्भरताको स्थिति बनिनसकेको उनले बताए । स्वदेशमा नै कृषिजन्य उत्पादन वढाउन सकेको खण्डमा भने आत्मनिर्भरता असम्भव नरहेको उनले बताए । नेपालमा विश्वकै उच्च गुणस्तरका फलफूलहरु उत्पादन हुने गरेको भएपनि कृषि मन्त्रालय नै यस सम्बन्धमा जानकार हुन नसक्ने स्थिति हाम्रो लागि विडम्बनापूर्ण रहेको उनको भनाई छ । ‘नेपालमा २२ प्रजातिका विश्वकै उच्च गुणस्तरीय सुन्तला उत्पादन हुँदै आएका छन् । स्याउ लगायतका सबै उत्पादन उच्चगुणस्तरीय छन् । तर यसबारे कृषि मन्त्रालयलाई थाहा नै छैन । त्यसो हो भने आखिर के गर्दैछ त कृषि मन्त्रालय ?’ उनको प्रश्न छ ।

राज्यको गलत नीति र नियतका कारण नेपाली जनताले दुख पाईरहेको उनले बताए । नेपाली जनता प्रति सरकार कत्ति पनि संवेदनशिल बन्न नसकेको उनले तर्क गरे ।

शिक्षा सम्बन्धमा बोल्दै जनताले पढेको देख्न नसक्ने मान्छेहरु अहिले शिक्षा मन्त्री बनेका छन् । यसैकारण नेपाली जनताहरुले दुख पाएका हुन् । कमिसनको खेलमा चलेका र जनतालाई भ्रममा पारिरहेका व्यक्तिहरुको कारण नै नेपाली जनता पीडित हुनुपरेको उनको तर्क छ ।

आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘हामीले ख्वप विश्वविद्यालय स्थापनाको लागि अनुमति माग्दै आएका छौं । न्यून शुल्कमा नेपालमा नै मेडिकल शिक्षा प्रदान गर्ने प्रस्ताव शिक्षा मन्त्रालयमा लिएर मन्त्रालय गयौं । यो माग हामीले लामो समय देखि राख्दै आएका छौं । हामीले जनताको पक्षमा यस्तो प्रस्ताव लिएर मन्त्रालय जाँदा प्रस्ताव राम्रो भएपनि निकै महँगो शुल्कमा मेडिकल पढाइरहेका व्यक्तिबाट हामी त्रसित हुनुपर्छ भन्ने जवाफ दिन्छन् अहिलेका मन्त्रालयका मन्त्री सहितका उच्चपदस्थ व्यक्ति ।’

शिक्षामन्त्रीबाट यस्तो जवाफ प्राप्त भएपछि आफूहरुले राणाहरुको चरित्र तपाईंहरुमा अझै पनि हट्न नसकेको प्रत्यक्ष बताएको समेत उल्लेख गरे । वास्तवमा शिक्षालाई सर्वव्यापी बनाउन नसक्ने अहिलेका शिक्षामन्त्री र राणाहरुमा तात्विक फरक नरहेको सांसद समेत रहेका सुवालको बुझाई छ । उनले जनताका छोराछोरीलाई राम्रो शिक्षा दिन नचाहने प्रवृत्तिको कडा रुपमा प्रतिरोध गरे ।

उच्च पदमा पुगेको व्यक्ति अनिवार्य रुपमा काठमाडौंमा नै घर बनाएर बस्नुपर्ने स्थिति विकृतिको रुपमा उदाएको बताउँदै उनले प्रधानमन्त्री, मन्त्री, सांसद र हरेक उच्च पदस्थ व्यक्ति आफ्नै जिल्लामा फर्कनुपर्ने तर्क गरे । माथिल्ला तहका व्यक्तिलाई काठमाडौंमा घर बनाउन नदिने कानुन ल्याउन सके मात्र अब उपत्यकाको चाप घटाउन र ग्रामीण क्षेत्रको विकासको लागि महत्वपूर्ण कदम हुन सक्ने तर्क समेत गरे ।

अहिलेको स्थितिमा निर्वाचन नै महँगो बन्न पुगेको र मतको लागि पैसा तिर्नुपर्ने स्थितिको कारण आफूहरुको निम्ति भ्रष्टाचार गर्नुपर्ने स्थिति बाध्यात्मक रहेको नेपाली नेताहरुले पछिल्लो समय खुल्ला रुपमा नै बताउन थालेको सुवालको तर्क छ । यस्तो स्थितिलाई सुधार गर्नको लागि जनता आफैं जागरुक हुनुपर्ने उनी बताउँछन् ।

अहिलेको परिस्थिति बारे बताउँदै अहिले प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिने र विपक्षी दल पनि दावी गर्ने प्रवृत्तिलाई गलत आचरणको रुपमा व्याख्या गर्दै राजनीतिमा ‘मोही माग्ने ढुंग्रो लुकाउने’ प्रवृत्तिले निकास दिन नसक्ने बताए ।

नेपालमा सांसद नै किनबेच हुने स्थिति नयाँ नभएको बताउँदै अब जनता नै सचेत नभई जनताले सुख नपाउने र देश विकास पनि नहुने उनले तर्क गरे ।
पार्टीको महाधिवेसन गर्नको लागि राष्ट्रपतिबाट फोन गराएर भारतबाट नेपालमा पैसा माग्ने जस्ता कुप्रवृत्ति बढ्दै गएको देशमा यत्तिकै अवस्थामा सुधार हुन नसक्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij