
देशका सम्पूर्ण व्यापारी, उद्योगी र कर्मचारीहरु सबै करको दायरामा बसी कर तिर्नुपर्ने अनिवार्यता छ । तर त्यही करको रकममा हालिमुहाली गर्ने नेताहरुले चाहिँ पनि कर तिर्नुपर्छ कि पर्दैन ?
जुनसुकै व्यापारीले दिनभर आफैं मेहनत गरी जाडो र गर्मीको कुनै प्रवाह नै नगरी आफ्नो दुःख तनावका वावजुद पनि सरकारको नीति नियममा रही कर तिरेकै हुन्छ । उद्योगीले विभिन्न मजदुरको साथ अनेक समस्याको प्रवाह नगरी कमाएको थोरै रकमबाट पनि कर तिरेकै हुन्छ । कर्मचारी वर्गले पनि आफ्ना विभिन्न दुःखपीडाहरु सहेर सरकारको नीतिअनुसार कर तिरेकै हुन्छन् ।
एउटा सानो उद्घाटन कार्यक्रम, जहाँ गाडीबाट सजिलै तुरुन्तै पुग्न सकिन्छ, त्यस्तो ठाऊँमा पनि लाखौं खर्च गरी हेलिकोप्टरमा सयर गर्ने हाम्रा नेताहरुको चाला बुझिनसक्नु छ । आफ्नो सत्ता टिकाउनको लागि राज्य सत्ताको करोडौं रकम दुरुपयोग गर्ने, सभासद् नै किनबेच गर्ने, सानो निष्कर्षविहीन वार्ताको लागि पाँचतारे होटलमा कार्यक्रम गर्नुपर्ने, आफ्नो पदावली सकिएपछि पनि लाज पचाएर वहालवाला हुँदाकै गाडी सुविधा लिनुपर्ने, वाह हाम्रा नेताहरु ।
त्यही दुःख, पीडा तथा अनेक समस्याको वावजुद पनि माथि उल्लेखित विभिन्न वर्गका व्यक्तिहरुले मेहनत गरेर पसिना बगाइ तिरेको करलाई देशका नेता भनाउँदाहरुले विभिन्न शीर्षकमा आफुखुसी खर्च गरी हालीमुहाली गरिरहेका छन् । मोजमस्ती गरिरहेका मात्र छन् । दुरुपयोग गरिरहेका छन् । आखिर उनीहरुलाई पनि करको दायरामा ल्याउनुपर्छ कि पर्दैन ? तर कसरी र कसले करको दायरामा ल्याउन सकिन्छ त ? हिजो सम्म झुपडीमा फाटेका लुगा लगाएर बस्ने नेताहरु आज आलिशान महलमा बसेका छन् । लाखौंलाखको गाडीमा शयर गरिरहेकाछन् । यो कुरा हामीले प्रत्यक्ष देखिरहेका छौं । 
एउटा सानो उद्घाटन कार्यक्रम, जहाँ गाडीबाट सजिलै तुरुन्तै पुग्न सकिन्छ, त्यस्तो ठाऊँमा पनि लाखौं खर्च गरी हेलिकोप्टरमा सयर गर्ने हाम्रा नेताहरुको चाला बुझिनसक्नु छ । आफ्नो सत्ता टिकाउनको लागि राज्य सत्ताको करोडौं रकम दुरुपयोग गर्ने, सभासद् नै किनबेच गर्ने, सानो निष्कर्षविहीन वार्ताको लागि पाँचतारे होटलमा कार्यक्रम गर्नुपर्ने, आफ्नो पदावली सकिएपछि पनि लाज पचाएर वहालवाला हुँदाकै गाडी सुविधा लिनुपर्ने, वाह हाम्रा नेताहरु । महान छन् ।
यस्तो तालले कसरी हुन्छ देश विकास ? देश विकासको लागि त हरेक क्षेत्रबाट खर्चमा मितव्ययिता अपनाउँदै उपलब्धिमूलक विकास कार्यमा खर्च गरिनुपर्ने हो । ख्याल गरौं कि खर्च घटाउनु भनेको पनि कोषको आम्दानी बढ्नु नै हो ।
त्यसकारण नेताहरुलाई पनि कर निकायले करको दायरामा ल्याई सही तथ्यपरक सम्पत्ति विवरण अनिवार्य रुपमा पेश गर्नुपर्ने अनिवार्यता देखिएको छ । हिजोको उसको अवस्था कस्तो थियो ? आजको अवस्था कस्तो छ ? लाजै पचाई जनताले तिरेको कर रकमबाट मोजमस्ती गर्ने नेता र ठूलावडा अहिलेका महाशयहरुलाई पनि करको दायरामा ल्याउनुपर्ने आवश्यकता नितान्त खड्किएको छ । होइन भने एउटा वर्गको रगत र पसिनाबाट तिरेको करलाई सोस्ने र अर्को उच्च वर्गलाई पोस्ने सरह नै हुनेछ ।
देश विकासको लागि सम्पूर्ण देशवासीलाई कर तिर्नु अनिवार्य छ । याद गरौं, ‘हामीले तिरेको कर हामै्र विकासको लागि । आधुनिक र समृद्ध नेपाल निर्माणको लागि ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij