बुटवल– गुल्मीमा विदेशबाट आएका सबैको र्यापिड टेष्ट गरिने भएको छ। क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण सकेपछि विदेशबाट आएका व्यक्तिको कोरोना परीक्षण गरिने भएको हो। प्रहरी हिरासतका तीन जना बाहेक सबै स्थानीय तहमा क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेस्ट गरेपछि विदेशबाट आएकाहरुको परिक्षण गरिने स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भावनी शर्माले बताए।
स्थानीय तहहरुले दिएको तथ्यांक अनुसार करिव १८ सय भारत लगायत तेस्रो मुलकबाट आएका व्यक्तिहरु भएकाले प्रदेशमा दुई हजार किट माग भएकाे र प्राप्त हुनासाथ परीक्षण गरिने शर्माको भनाइ छ। अझै पनि विभिन्न माध्यमबाट मानिसहरु जिल्ला भित्रने क्रम नरोकिएपछि जिल्ला स्तररिय विपद् व्यवस्थापन समितिले जिल्ला आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए।
यसअघि गुल्मीमा अहिलेसम्म ५८ जनाको र्यापिड टेस्ट गरिएकोमा सवैको कोरोना रिर्पोट नेगेटिभ आएको छ। मंगलबार इस्मा गाउँपालिकाका आठ जनाको र्यापिड टेस्ट गरिएको थियो। इस्मा गाउँपालिका २ को पालुखा मावि क्वारेन्टाइनमा रहेका आठ जनाको र्यापिड टेस्ट गराउँदा कोरोना रिर्पोट नेगेटिभ आएकाले वडाको रोहबरमा एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरेर घर पठाइएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन्।
अझै इस्मा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा १९ जना रहेका छन्। त्यस्तै कालिगण्डकी गाउँपालिकामा दुई, रुरु गाँपालिकाका चार, मदाने गाउँपालिकाका १०, धुर्कोट गाउँपालिकाका नौ र गुल्मी दरवार गाउँपालिकाका १२ जनाको र्यापिड टेस्ट गरिएको स्वास्थ्य कार्यालय प्रमुख शर्माले जानकारी दिए। त्यस्तै रेसुङा नगरपालिकाका दुई, मुसिकोट नगरपालिकाका आठ, र प्रहरी हिरासतमा भएका तीन जनाको र्यापिड टेस्ट गरिएको र उनीहरु सबैको कोरोना रिर्पोट नेगेटिभ आएको डाक्टर शर्माले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij