अर्थात्, अज्ञानरूपी अन्धकारमा परेर अन्धो जस्तो भएको मलाई ज्ञानरूपी गाजलका कोसा (शलाकाले) आँखा खोलिदिएर प्रकाश प्रदान गर्ने परमपूज्य गुरूदेवलाई म सादर वन्दना गर्दछु।
गुरु शब्दको शाब्दिक अर्थ हेर्दा पनि गु अर्थात् अन्धकार र रू भनेको हटाउने वाला अर्थात् अँध्यारो हटाइ उज्यालो भविष्य प्रदान गर्ने व्यक्ति वा पदार्थ गुरु हुन् जसको महिमा अपरम्पार छ।
गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरी ।
गुरु: साक्षात् परर ब्रह्म तस्मै श्रीगुरवे नमः।।
गुरुलाई साक्षात् ब्रह्मा विष्णु र महेश्वरका अवतारका रूपमा पनि मानिएको छ। हरेक आषाढ शुक्ल पूर्णिमालाई व्यास पूर्णिमा अर्थात् गुरु पूर्णिमाका रूपमा मनाउने चलन छ।
संस्कृत शब्दकोषमा गुरु जनाउने ८ वटा प्रमुख शब्द शिक्षक, अध्यापक, प्राध्यापक, उपाध्याय, महामहोपाध्याय, देशिकोत्तम, आचार्य, गुरु रहेका छन्। यी सबै नै गुरु हुन्।
अरु शास्त्रले गुरुको बारेमा यसरी बुझाएका छन्।
हृद्योपनिषद्(पृ.१२५) अनुसार सम्यक व्यक्ति गुरु हो। कृष्णयजुर्वेदीय व्रह्मविद्योपनिषद, पिर्२१४,शुक्ल यजुर्वेदीय पैङ्गलोपनिषद्,पिर् २०७, स्वसंवैद्योपनिषद् पिर् ३४१ अनुसार परमात्मा बुझेको व्यक्ति गुरु हो।मुकुन्दोपनिषद अनुसार एक्निष्ट व्यक्ति गुरु हो। अविद्यारूपी हृदय ग्रन्थिलाई चिरेर संसारी बन्धनबाट मोक्ष दिलाउने व्यक्ति विशेषलाई सर्ववेदान्त सिद्धान्तसारले गुरु भनी व्याख्या गरेको छ-
याज्ञवल्क्य स्मृतिमा वेद अध्यापन गर्ने र गायत्री मन्त्र प्रदान गर्ने व्यक्ति विशेषलाई गुरु भनिएको छः
स गुरुर्यःक्रियाःकृत्वावेदमस्मैप्रयच्छति(याज्ञवल्क्यस्मृति१/३४)
यस्तै भविष्य पुराण देखि लिएर अरू प्राय पुराणमा गुरुको गुण केलाइएका छन्। श्रीमद्भागवतमा भगवान् श्रीकृष्णले यो चराचर जगतलाई नै गुरु मान्नु भएको छ। धुर्वले आफ्नी सौतेनी आमालाई गुरु मान्नु भएको छ।
मुनि दत्तात्रयको कथा प्रसङ्गमा चौविसवटा गुरुको वर्णन गरिएको छ।पृथ्वीबाट धैर्यवृत्ति, वायुबाट व्याप्त प्रवृत्ति,जलबाट स्वच्छवृति,आकाशबाट निर्मलवृत्ति, अग्निबाट तेजस्वी वृत्ति, मौरीवाट संचयवृत्ति कमिलाबाट उद्योग जालवृति आदिको वर्णनबाट गुरुको महिमा सर्वत्र रहेको जानन सकिन्छ ।अझ भनौँ यो संसारका सबै वस्तु गुरुसमान छन्।
हाम्रो पहिलो गुरु आमा हुनुहुन्छ। सर्वप्रथम आमालाई सम्मान गर्नुपर्छ ।त्यसैगरी दोस्रो गुरुको रूपमा पितालाई शास्त्रले मानेको छ।पिता शब्द नै मार्गदर्शनार्थी हो। त्यसपछि तेस्रो विद्या प्रदान गर्ने शिक्षकलाई शास्त्रले गुरुको संज्ञा दिएको छ।जो सदा आदरणीय र पूजनीय हुनुहुन्छ।
यस्तै पूजनीय, आदरणीय र बन्दनीय मध्य एक जना हुनुहुन्छ मुनि वेद व्यास (कृष्ण द्वैपायन) जसको आज जन्म जयन्ती हो। उहाँलाई नसम्झिने र गुणगान नगर्दा उहाँको अपमान हुनेछ। व्यास नाम नभएर पदवी हो भन्ने पनि चलन छ। उहाँको अर्को नाम छ भन्ने गरिएको छ।जस अनुसार वेद विभाजक र पुराणका निर्माताको नाम कृष्णद्वैपायन हो। जसलाई वादरायन पनि भन्ने गरिन्छ।
कृष्णद्वैपायन शब्द पनि संयुक्त शब्द हो। जसमा कृष्ण र द्वैपायन दुइटा शब्द छन् जसमा कृष्ण मुख्य र द्वैपायन स्थान जनाउने शब्द हो जसअनुसार द्विपमा घर भएको भनने हुन्छ। वादरायन पनि स्थान जनाउने शब्द हो जसअनुसार वयरको जङ्गल भएको ठाउँमा घर भन्ने हुन्छ।
पराशर र सत्यवतीको पुत्रको रूपमा आजकै दिनमा जन्म भएको थियो भन्ने शास्त्रीय प्रमाण पाइन्छ।
उहाँको शिक्षाको बारेमा खासै उल्लेख नभए पनि उहाँको गुरुको नाम जातूकर्ण्य हो । वेद व्यासको आश्रम सरस्वती नदिकै किनारमा थियो भनिएको छ। उहाँ सम्पूर्ण भारत वर्षमा घुमिरहनु हुन्थ्यो जसले गर्दा धेरै ठाउँमा व्यास आश्रमको रूपमा प्रख्यात छन्।त्यस्तै नेपाली भूमिको कुरा गर्नु पर्दा तनहुँमा आएर बस्नु भएको भन्ने विश्वास छ।
व्यासजीका चार मुख्य शिष्य थिए ।जसले चार वेदको प्रचारप्रसार गरेका छन्।
व्यास भन्नाले वृत्तको बिचको १८०° कोणलाई बुझिन्छ।जसरी व्यासले वृत्तलाई बराबर हिसाबले बाँड्छ त्यसरी नै सबै वैदिक वाङमय को भित्र गएर वेदलाई बाँड्नु भएकोले वेद व्यास भनिएको हो। संस्कृत धातु-प्रत्ययद्वारा पनि व्यासको अर्थ विभाजन हुन्छ।
माथिका प्रसङ्गबाट आजको दिनको पर्म पावनता प्रस्ट हुन्छ।
अब आजको दिनलाई फलिभुत गराउन के के गर्नुपर्छ। आजको दिन बिहान शुद्ध भई व्यास मुनिको सम्झना पूजा अर्चना गर्नुपर्दछ । संगसंगै गणेश भगवानको पनि पूजा अर्चना गर्नुपर्दछ। प्रथम पूज्य र व्यासमुनिलाई लेखन कार्यमा सघाएकाले । आज घरमा भएका सबै धार्मिक पुस्तकको पनि पूजा गर्नु पर्दछ। साथै आमा बाबा र गुरुलाई पनि सात्त्विक खाद्य पदार्थ र उपहार सहित भेट गरेर आशीर्वचन लिनु पर्दछ। यदि टाढा भएर भेट्न सम्भव नभएमा विद्युतीय सञ्चार माध्यमबाट सम्पर्क गरेर आशीर्वचन लिन सकिन्छ । उहाँहरुको भौतिक शरीर यहाँ नभएमा उहाँहरुको नामबाट कुनै पुण्यको काम गरी आशीर्वचन लिन सकिन्छ । यसरी आजको दिन आध्यात्मिक हिसाबले सफल बनाउन सकिन्छ ।
मोक्षको कामना सिद्ध गर्न सकिन्छ । आशिर्वादमा ठुलो विज्ञान लुकेको छ जहाँ कि जसरी खेलाडीलाई हुटिङले ठूलो असर पार्छ त्यसै गरी औरा लेभल राम्रो भएका र सकारात्मक व्यक्तिको सकारात्मक आशीर्वादले मानव मात्रको जीवनमा आमूल परिवर्तन देखा पर्दछ ।वेदव्यासजीले नारदजीबाट गुरुत्व प्राप्त गरेर श्रीमद्भागवतको रचना गर्नु भएको छ। माता देवहुतिले आफ्ना पुत्र कपिलमुनिलाई गुरु मान्नु भएको छ । यता श्रीपद्मपुराणमा हेर्दा गोकर्णले आफ्नो पितालाई ज्ञान उपदेश दिएर गुरुको स्थान प्राप्त गर्नु भएको छ।अन्त्यमा गोकर्णले तुङ्गभद्र नदी तटवासी साथै आफ्नो कुलको पनि उद्धार गर्नु भएको छ। यसै गरी यता श्रीमद्भागवतमा राजा रहुगणले जडभरतलाई गुरू मानेर मोक्षको बाटो प्राप्त गरेका छन् । गुरुको स्थान भगवान् भन्दा माथि हुन्छ किनकि यो भगवान् भनेर चिनाउने नै गुरु हुन्। गुरुपुर्णिमाको सबैमा शुभकामना ।