काठमाडौं, ४ चैतः एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलले ‘फाइन्ड माई डिभाइस’ (Find My Device) एपमा नयाँ सुविधा थप गरेको छ, जसले प्रयोगकर्तालाई साथीभाइ तथा परिवारका सदस्यले शेयर गरेको लोकेसन सजिलै हेर्न मद्दत गर्नेछ।
नयाँ अपडेटअनुसार एपको बटन बारमा ‘पिपुल’ (People) नामक नयाँ अप्सन समावेश गरिएको छ। यो फिचर प्रयोग गरी प्रयोगकर्ताले आफ्नो आफन्त तथा साथीभाइको लोकेसन हेर्न सक्छन्, तर त्यसका लागि सम्बन्धित व्यक्तिले लोकेसन शेयर गरेको हुनुपर्छ।
गत हप्ता एन्ड्रोइडको मार्च अपडेटमा घोषणा गरिएको यो फिचर अहिले विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ। यसअघि गुगल म्याप्समार्फत लोकेसन शेयर गर्न सकिने सुविधा थियो, तर अब ‘फाइन्ड माई डिभाइस’ एपले हराएको मोबाइल खोज्ने मात्र होइन, व्यक्तिहरूको लोकेसन पत्ता लगाउन पनि मद्दत गर्नेछ।
कसरी प्रयोग गर्ने?
यो फिचर प्रयोग गर्न, पहिले प्ले स्टोरबाट ‘फाइन्ड माई डिभाइस’ एप डाउनलोड तथा इन्स्टल गर्नुपर्छ। त्यसपछि एप खोलेर तलपट्टि रहेको ‘पिपुल’ अप्सनमा ट्याप गर्दा कन्ट्याक्ट सूची देखिन्छ। त्यहाँबाट लोकेसन शेयर गर्न चाहेको व्यक्तिलाई चयन गरी तल रहेको शेयर बटनमा ट्याप गर्न सकिन्छ।
त्यस्तै, लोकेसन शेयर गर्नका लागि लिंक कपी गरी अन्य म्यासेजिङ माध्यममार्फत पठाउन पनि सकिन्छ। जब लोकेसन शेयर गरिन्छ, प्राप्त गर्ने व्यक्तिले आफ्नो मोबाइलमा नोटिफिकेसन पाउँछ। उक्त नोटिफिकेसन खोल्दा ‘फाइन्ड माई डिभाइस’ एपमा सो व्यक्तिको लोकेसन देखिन्छ। यदि ‘गेट डाइरेक्शन’ अप्सनमा ट्याप गरियो भने, गुगल म्याप्समार्फत सो व्यक्तिसम्म पुग्ने मार्गसम्बन्धी जानकारी पनि प्राप्त गर्न सकिन्छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij