२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गल्कोट दरबार: स्वामित्व विवाद र यथार्थता

गल्कोट दरबार: स्वामित्व विवाद र यथार्थता

बाग्लुङ । गल्कोट राज्य एउटा ऐतिहासिक राज्य हो । नेपाल एकीकरण हुनुपूर्व चौबिसे राज्य मध्ये एउटा राज्यको रुपमा रहेको उक्त राज्यका अन्तिम राजा भरत बम मल्ल हुन् ।

 

गल्कोटे राजाको ऐतिहासिक धरोहरको रुपमा रहेको पुरानो दरबार सरदखेतमा अवस्थित छ । जुन दरबार हाल मानध्वज मल्लको स्वामित्वमा छ । यसैगरी हाल सरोज मल्लको नाममा रहेको गल्कोट नगरपालिका वडा नम्बर ५ हरिचौर (साविकको हरिचौर गाविस)मा अवस्थित भवन (दरबार) भने ऐतिहासिक भवन नभई पछि निर्माण गरिएको हो । राजाको व्यक्तिगत खर्चबाट निर्माण गरिएको हुनाले उक्त भवनमा परिवारका सबै सदस्यहरुको यथोचित अंशवण्डा हुनुपर्ने थियो । यद्यपि मालपोत कार्यालयले नातिनी बुहारी सरोज मल्लको नाममा सबै जग्गा नामसारी गरिदिएको भन्दै परिवारका अन्य सदस्यहरुले दायर गरेको मुद्दा हाल सम्म सर्वाेच्च अदालतमा विचाराधिन छ ।

राजा भरत बम मल्लको पारिवारिक संरचना
गल्कोट राज्यका अन्तिम राजा भरत बम मल्लका २ रानीहरु हुनुहुन्थ्यो । जसमध्ये जेठी रानी चैतन्य राज्यलक्ष्मी मल्लको तर्फबाट ४ भाई छोराहरु जन्मे । जसमध्येका जेठा छोरा स्वर्गीय लक्ष्मण बम मल्ल हुन् । माइला छोरा स्वर्गीय थिर बम मल्ल (जो २००७ सालको क्रान्तिमा शहिद बने), साईंला छोरा स्वर्गीय कमल बम मल्ल हुन् भने एकमात्र जीवित इतिहासको रुपमा कान्छा छोरा अशोक बम मल्ल रहँदै आएका छन् ।

राजा भरत बम मल्लका ४ भाइ छाेरा मध्ये जेठा छाेरा लक्ष्मण बम मल्ल तर्फका माइला छाेरा स्वर्गीय बिष्णु बम मल्ल नेपाल विद्युत प्राधिकरणकाे प्रबन्ध निर्देशककाे भूमिका समेत निर्वाह गरिसकेका व्यक्ति हुन् । उनी प्राधिकरणकाे प्रबन्ध निर्देशक रहँदा गल्काेट सहित बाग्लुङ जिल्लाका कुनाकाप्चामा विद्युत सुविधा बिस्तारमा महत्वपूर्ण याेगदान पुगेकाे स्थानीय बासिन्दाहरू बताउँछन् ।

गल्काेटे राजा भरत बम मल्लकी कान्छी रानी मेनका देवी मल्ल निःसन्तान हुनुहुन्थ्यो । राजाले आफ्नो सम्पत्तिको २४ रोपनी जग्गा मध्ये दरबार क्षेत्रको १२ रोपनी क्षेत्रफलको जग्गा उनै निःसन्तान रानीलाई प्रदान गर्नुभएको थियो । राजाले निःसन्तान रानी मनकादेवी मल्ललाई शेषपछिको वकसपत्र गर्नुभएको उक्त जग्गा रानीको स्वर्गारोहण पश्चात् स्वर्गीय लक्ष्मण वम मल्ल, स्वर्गीय कमल बम मल्ल र जीवित छोरा अशोक बम मल्लको नाममा समान हैसियतले अपुताली हक प्रावधान अनुसार नामसारी भई आउनुपर्नेमा उक्त जग्गा एउटी नातिनी बुहारीको नाममा नामसारी हुने विषय नै मुद्दाको मुख्य विषय हो ।

दरबारको विवाद
स्वर्गीय राजा भरत बम मल्लका हकवाला कान्छा छोरा अशोक बम मल्ल र नातीहरु जीवित हुँदाहुँदै पनि एक जना नातिनी बुहारीको नाममा जग्गा नामसारी हुनुले आफूहरुलाई अन्याय भएको भन्दै नातिनी बुहारीहरु सरोज मल्ल र गिता मल्ल बाहेकका परिवारका अन्य सदस्यहरुले अदालतमा मुद्दा दायर गरेका छन् । साथै परिवारका अन्य हकवालाहरु हुँदाहुँदै पनि एकजना व्यक्तिको नाममा मात्र जग्गा नामसारी कसरी हुन पुग्यो भन्ने विषय सबै सरोकारवालाहरुको लागि समेत चासो, आश्चर्य र सरोकारको विषय बन्दै आएको छ ।

उच्च अदालत पोखराबाट सबै अंशियारहरुलाई विवादित जग्गा बराबर हुने गरी न्यायोचित तवरले वितरण गर्नु भन्ने निर्णय एवं आदेश भएर पनि निर्णय कार्यान्वयनमा नगएको कारण हाल सम्म पनि उक्त मुद्दा सर्वोच्चमा विचाराधिन बन्न पुगेको छ ।

को–को छन् मुद्दाको पक्ष र विपक्षमा ?
जग्गा माथि अधिकारको माग गर्दै मुद्दा दायर गर्ने पक्ष तर्फ राजा भरत बम मल्लका जेठा छोरा लक्ष्मण बम मल्लका ५ भाइ मध्ये ४ भाई छोराहरु माइला स्वर्गीय बिष्णु बम मल्ल तर्फका एकल छाेरा विनायक बम मल्ल, गोविन्द बम मल्ल, केशव बम मल्ल र मुकुन्द बम मल्ल तथा राजाका साइला छोरा स्वर्गीय कमल बम मल्लका एकल छोरा योगेश बम मल्ल र राजा भरत बम मल्लका कान्छा छोरा अशोक बम मल्ल स्वयं संलग्न छन् । उनीहरुले संयुक्त रुपमा जग्गा माथि अधिकारको दाबी गर्दै आइरहेका छन् । लक्ष्मण बम मल्लका स्वर्गीय जेठा छोरा माधव बम मल्लकी श्रीमती सरोज मल्ल लाई विपक्षी बनाएर उनीहरुले मुद्दा दायर गरेका हुन् ।

सर्वोच्चले न्याय गर्ने पीडित पक्षको आशा
हाल स्वर्गीय राजा भरत बम मल्लका जग्गा माथि हक लाग्ने कान्छा छोरा अशोक बम मल्ल र र थुप्रै नातीहरु जीवित हुँदाहुँदै पनि दरबार क्षेत्रको पूरै हिस्सा निःसन्तान आमाबाट सिधै एकजना मात्र नातिको पक्षमा कायम गरिनुले आफूहरुलाई घोर अन्याय भएको पीडित पक्षको गुनासो छ । यसैकारण सर्वोच्चमा विचाराधिन मुद्दा आफूहरुकै पक्षमा फैसला हुनेमा पीडित पक्ष आशावादी छन् ।

विवादित जग्गाको स्रोत
हाल स्वर्गीय माधव बम मल्लकी श्रीमती सरोज मल्लको नाममा निजी सम्पत्तिको रुपमा दर्ता भएको र विवादित अवस्थामा रहेको दरबार क्षेत्रको १२ रोपनी जग्गा विगतमा राजाकी निःसन्तान रानी मेनका देवी मल्लको नाममा रहेको जग्गा हो । निजको मृत्युपछि मृत व्यक्तिको नाममा जग्गा रहन नसक्ने प्रावधान अनुसार मालपोत कार्यालय बाग्लुङबाट सरोज मल्लको नाममा जग्गा नामसारी हुन आएको बुझिन्छ । यद्यपि के–कसरी कुन प्रक्रिया र प्रावधान अबलम्बन गरेर एकल नातिनी बुहारी सरोज मल्लको नाममा जग्गा नामसारी हुन पुग्यो भन्ने सम्बन्धमा कुनै पनि आधिकारिक निकायले जवाफ दिन सकेका छैनन् । साथै निःसन्तान व्यक्तिको मृत्यु पछि जग्गा नामसारी गरिँदा किन अन्य हकवाला अंशियारहरुको सोधखोज गरिएन भन्ने विषयले सर्वत्र चर्चा पाउनु स्वभाविक नै हुन आउँछ ।

साथै सबै परिस्थिति र यथार्थ बारे जानकारी हुँदाहुँदै पनि कुन आधारमा अन्य हकवाला नभएको भनी तत्कालिन गाविस कार्यालयले कसरी सिफारिस गर्यो भन्ने प्रश्न पनि सबैको लागि चासोको विषय बनेको छ । यस सन्दर्भमा जिल्ला मालपोत कार्यालयले समेत अन्य हकवालाहरु रहेनरहेको सम्बन्धमा थप यथार्थ यकिन नगरी गाविस कार्यालयबाट प्राप्त सिफारिस पत्रलाई मात्रै आधार मानेर जग्गा नामसारी गरिनु शंकास्पद भएको पीडित पक्षको तर्क छ ।

निःसन्तान रानीको नाममा रहेको जग्गा निजको मृत्युपछि कसरी एकजना मात्रै नाति÷नातिनी बुहारीको नाममा नामसारी हुन पुग्यो भन्ने सम्बन्धमा मालपोत कार्यालय बाग्लुङका प्रमुखसँग बुझ्दा मालपोत कार्यालयबाट आफूहरुले ३५ दिनको म्याद राखेर सूचना प्रकाशन गर्ने र त्यस ३५ दिन सम्म कुनै किसिमको कोही कसैबाट दावी विरोध नआए जग्गा निवेदकको पक्षमा नामसारी गरिने प्रावधान रहेको बताए । साथै उक्त मुद्दा अहिले पनि अदालतमा विचाराधिन रहेको अवस्थामा त्यस सम्बन्धमा मालपोत कार्यालयबाट भएगरेका अन्य कामकारबाही सम्बन्धमा धेरै कुरा खोल्न उपयुक्त नहुने बताए । जग्गाका अन्य हकवाला भएनभएको र भए जीवित रहेनरहेको प्रमाणित गर्ने मृत्युदर्ता लगायतका अन्य कागजपत्र आवश्यक पर्ने सम्बन्धमा केही बताएनन् ।

 

दरबार क्षेत्रको जग्गाको अहिलेको मूल्य
हालको प्रचलित मूल्य अनुसार मूल्याङ्कन गर्दा भवन (दरबार), धन्सार, नारायण मन्दिर, गोठ र शितलपाटी लगायतका भौतिक संरचनाको मूल्य करिब १० करोड हुन आउने दावी पीडित पक्षको छ ।

अबको विकल्पः
स्थानीय निकाय, मालपोत कार्यालय एवं विवादमा संलग्न पक्ष, विपक्ष सबैबाट प्रस्तुत गरिएका कागजात अध्ययन गर्दा गल्कोट दरबार व्यक्तिको निजी सम्पत्तिकै रुपमा रहेको प्रष्ट हुन्छ । यसकारण दरबारलाई निजी सम्पत्तिकै रुपमा अंशवण्डा गरी पुनः उचित तवरले भागवण्डा गरियोस् भन्ने मागमा सरोज मल्ल पक्ष बाहेकका अन्य सबै सदस्यहरुको माग स्वभाविक छ ।

साथै दरबार सम्बन्धमा आफूहरुले न्यायोचित तवरले पाउनुपर्ने भाग प्राप्त गरिसकेपछि दरबारलाई कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा पुनः आपसी सल्लाह र समझदारीबाट निर्णय गर्न सकिने पीडित पक्षको धारणा छ । उक्त दरबारलाई सङ्ग्राहलय वा धरोहर बनाउनु परेपनि आपसी सल्लाहबाट नै त्यस तर्फ कदम चालिने परिवारका ज्येष्ठ सदस्य एवं राजाका कान्छा छोरा अशोक बम मल्ल बताउँछन् । साथै उनले सम्पूर्ण हकवालाको स्वीकृति बिना एकजना व्यक्तिको नाममा रहेर दरबार धरोहर हुन नसक्ने समेत बताउँछन् । उक्त धारणामा पीडित पक्षका सबै सदस्यहरु एकमत छन् ।

अन्त्यमा,
बाहिरबाट हेर्दा दरबार पुनर्निमार्ण गर्ने समय भइसकेको देखिन्छ । उक्त दरबारलाई पहिलेकै स्वरुपमा पुनर्निर्माण र संरक्षण गर्नसके बाग्लुङको मात्र नभई सिङ्गो नेपालकै लागि गल्कोट दरबार पर्यटन आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने समेत देखिन्छ । जसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा गल्कोट दरबारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गर्न सकिन्छ । दरबारलाई पुनः आकर्षणको केन्द्र बनाउनको लागि तत्कालिन दरबारको विवाद समाधान भई उचित निर्णय लिनु निकै महत्वपूर्ण हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij