
नेपालमा अहिले राज्य संयन्त्र बजारलाई सुव्यवस्थित गर्न चुकेको अवस्था छ । केही परिस्थितिजन्य बाध्यता पनि होलान् तर नागरिकहरु भने आफ्ना न्यूनतम अधिकारबाट समेत वञ्चित हुनुपरेको छ । यस्तो अवस्थामा अनुगमन तथा खवरदारीको माध्यमबाट समाजमा सचेतना ल्याउँदै निश्चिन गति दिने काममा नागरिक समाजको भूमीका निकै महत्वपूर्ण रहने गर्छ । त्यही महत्वलाई हृदयङ्गम गर्दै हामीले नागरिक सरोकार केन्द्र तारकेश्वर नामक संस्था मातहत विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यहरु सञ्चालन गर्दै आएको छ ।
ती कार्यक्रम सञ्चालनको क्रममा तारकेश्वर नगरपालिका अन्तरगतका वडा कार्यालयहरु, महिला समूह, विद्यालय, टोल विकास समिति, सञ्चार माध्यम, उपभोक्ता तथा जागरुक व्यक्तिहरुसँग समेत यस संस्थाले सहकार्य गर्दै आएको छ ।
सुसंस्कृत समाज निर्माणको निम्ति नागरिक समाजले गर्नुपर्ने कामहरु निकै महत्वपूर्ण र संवेदनशिल समेत हुने गर्छन् । यस्तो अवस्थामा हामीले हाम्रा गतिविधिहरु प्राथमिकताको आधारमा अघी बढाउनुपर्ने जरुरी रहन्छ । यसैकारण हामीले तत्काल खाद्य स्वच्छता र खाद्य सुरक्षाको क्षेत्रमा अन्य स्थानीय संस्थाहरलाई समेत साथमा लिएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएका छौं । नेपालमा खाद्य ऐन २०२३ ले खाद्य स्वच्छता सम्बन्धमा विभिन्न मापदण्डहरु कायम गरेको छ । ती मापदण्ड बमोजिम बजार निर्देशित हुन सकेको खण्डमा जनताहरु सहज रुपमा आफ्ना अधिकार प्राप्ति गर्न सक्छन् ।
खाद्य स्वच्छतामा जोड दिइने :

हाल नागरिक सरोकार केन्द्र तारकेश्वरले खाद्य स्वच्छता र उपभोक्ता सचेतना सम्बन्धी विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पछिल्लो समय यस संस्थाले तारकेश्वर नगरपालिकाका नागरिकका अधिकारहरु सुरक्षित गर्दै नगरपालिकाको कामलाई प्रभावकारी रुपमा सम्पादन गर्नको लागि विभिन्न दबाबमुलक कामहरु समेत गर्दै आएको छ । साथै पछिल्लो समय यस संस्थाले ग्यास प्रयोगको क्रममा हुने दुर्घटना समेत बढेको तर्फ लक्षित रहँदै दुर्घटनालाई कमी गर्नको निम्ति समेत विशेष कार्यक्रमहरु सञ्चालनको तयारी गरिरहेको छ । यसको अलावा नागरिकका शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतका विभिन्न क्षेत्रलाई समेत संस्थाको कार्य क्षेत्र भित्र राखिएको छ ।
संस्थाका प्राथमिकताका अन्य कार्यहरु :
अहिले यस तारकेश्वर क्षेत्रमा नदीको सरसफाई, नदी किनारको व्यवस्थापन, सरकारी जग्गाको संरक्षण, प्रभावकारी रुपमा विकास निर्माण, नगरपालिका र यसका जनप्रतिनिधिहरुलाई जिम्मेवारी बनाउनको निम्ति पहल लगायतका विविध कामहरु गर्नुपर्ने आवश्यकता छन् ।
केही पहिले यस संस्थाले मतदाता शिक्षा कार्यक्रम समेत तारकेश्वर, टोखा र काठमाडौं महानगरपालिकामा समेत सञ्चालन गरिसकेको छ । जुन निकै प्रभावकारी समेत रह्यो । यसको अलावा जनताले आवश्यकता महसुस गरेका हरेक समस्याहरुमा सहजीकरण गर्ने पहल समेत यस संस्थाबाट हुँदै आएको र यसबाट स्थानीय जनताहरुले राहत महसुस गरेको अवस्था छ ।
संस्थामा कस–कसको संलग्नता छ ?
हाल तारकेश्वर क्षेत्रमा विभिन्न कामहरु गरिरहेको यस संस्थामा यस क्षेत्रमा राम्रो प्रतिष्ठा कमाउन सफल व्यक्तिहरु संलग्न हुनुहुन्छ । नेपाल सरकार मातहत समेत विभिन्न कामहरु गरेर राम्रो तवरले आफ्ना गतिविधिहरु सञ्चालन गर्नुभएका व्यक्तिहरु समेत यस संस्थामा रहेर काम गरिरहनुभएको छ ।
तारकेश्वर क्षेत्रमा विकासनिर्माणको अवस्था :
तारकेश्वर क्षेत्रमा विशेष केन्द्रित रही गतिविधिहरु गर्दै आएको यस संस्थाले तारकेश्वर क्षेत्रका समस्या, विकास निर्माणको अवस्था, नागरिकका आवश्यकता, सम्भावना र चुनौती लगायतका विविध पक्षलाई नजिकबाट नियालेको छ ।
अहिले तारकेश्वर क्षेत्रमा बाटोघाटोको अवस्था निकै कमजोर छ । सार्वजनिक जग्गाको संरक्षण हुन सकेको छैन । तारकेश्वर नगरपालिका अन्तरगत साङ्ला लगायतका क्षेत्रका मानिसहरुमा चेतनास्तर निकै कमजोर छ । कतिपय क्षेत्रहरु विकासको हिसाबले समेत निकै नै पछाडि छन् । ती क्षेत्रमा आवश्यकता बमोजिम वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने योजनामा छ यो संस्था । खासगरी यस क्षेत्रमा भएका विकृति र विसङ्गतिहरुमा खबरदारी गर्दै जनतालाई सहज रुपमा सेवा प्राप्तिको निम्ति जनस्तरबाट जस्तोसुकै पहल गर्न पनि संस्था निरन्तर लागिरहनेछ ।
यस संस्थाले नगरपालिका क्षेत्रमा नगर बस नहुँदा नगरबासी जनताहरुले सास्ती भोग्नुपरेको अवस्थालाई समेत नजिकबाट नियाल्दै आएको छ । यसैकारण नगरपालिका र वरपरका क्षेत्रमा नगरवस सञ्चालनको निम्ति समेत गरिरहेको छ । यातायात सञ्चालनको क्रममा बाटोको अवस्था कमजोर रहेको, बाटो साँघुरो भएको, बाटोमा खाल्डाखुल्डीहरु रहेका, बाटोमा जाम बढ्दै गएको, सडकमा यातायात समेत नियमित र व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको लगायतका कुराहरुलाई समेत नजिकबाट नियालेको छ ।
रुट नम्बर २३ अन्तरगत सञ्चालनमा रहेको बालाजु मिनीबस व्यवसायी समिति अन्तरगत सञ्चालित यातायातबाट दुर्घटनाहरु समेत बढिरहेको र यसलाई न्यूनीकरणको निम्ति नगरपालिकाले समेत जिम्मेवारपूर्वक काम गर्नुपर्ने कुरामा समेत नगरपालिकालाई झक्झक्याउने काम संस्था मातहत हुँदै आएका छन् ।
बाटोको छेउछाउमा निर्माण सामाग्रीहरु थुपारिएको कारणले गर्दा समेत सडक पूर्ण रुपमा प्रयोगमा आउन सकेको छैन । घर बनाउने क्रममा बाटोमा अवरोध सृजना भएको छ । पशुचौपायाहरु समेत व्यवस्थित हुन सकेको अवस्था छैन । यस्तो अवस्थामा नगरपालिकाको भूमीका थप प्रभावकारी हुनुपर्नेमा संस्थाले विशेष पहल गर्दै आगामी दिनमा आपसी सहकार्यमा यी समग्र समस्याहरु समाधानको निम्ति पहल समेत गर्दै आएको छ ।
वित्तीय साक्षरताको आवश्यकता :
अहिले पनि नेपालका जनताहरु बैंकिङ क्षेत्रको बारेमा समेत जानकार हुन सकेका छैनन् । यसले गर्दा उनीहरुले निकै जोखिमपूर्ण क्षेत्रमा लगानी गरिरहेका छन् । कर्जा आवश्यक पर्दा पनि किन, कुन–कुन प्रयोजनको लागि र कसरी कर्जा लिन सकिन्छ भन्ने सम्बन्धमा उनीहरु सचेत बन्न नसकेको कुरालाई दृष्टिगत गर्दै ग्रामीण क्षेत्रका जनताहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
नगरपालिकासँग कसरी हुन सक्छ सहकार्य ?
‘हाम्रो तारकेश्वर, राम्रो तारकेश्वर’ नारा सहित नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन, वृक्षारोपण, वृद्धभत्ता व्यवस्थापन, प्रत्येक वडा कार्यालयबाट सम्पादन गरिने कार्यहरुलाई छिटोछरितो बनाउनको निम्ति आवश्यक अन्य पहलहरुमा संस्था नगरपालिकासँग सहकार्य गर्न सदैव तयार नै रहनेछ । खासगरीे नीतिगत तहबाट समेत नगरपालिकालाई व्यवस्थित गर्नका लागि नागरिक समाजको भूमीका निकै महत्वपूर्ण रहने कुरालाई दृष्टिगत गर्दै नगरपालिकाले नागरिक सरोकार समाजलाई पनि सँगसँगै लिएर जानुपर्ने आवश्यकता छ ।
यसकारण आवश्यक छ नागरिक सरोकार केन्द्र र नगरपालिका बीचको सहकार्य ?
नागरिक सरोकार केन्द्र सम्बन्धित क्षेत्रको बारेमा सबैजसो विषयवस्तुलाई नजिकबाट नियालेको र सबै विषयवस्तुको ज्ञान सङ्गालेको कारण नगरपालिकाले समेत विभिन्न सल्लाहरु लिनको निम्ति नागरिक सरोकार केन्द्र लगायतका संस्थाहरुसँग सहकार्य जरुरी रहन्छ । आफ्ना गतिविधिहरुको प्रभावकारिता तथा मूल्याङ्कन लगायत थप योजना तर्जुमा गर्ने कार्य लगायतको निम्ति नगरपालिका र नागरिक सरोकार केन्द्रबीच सहकार्य आवश्यक देखिन्छ । विभिन्न निकाय बीचको अन्तरसम्बन्धले कुन क्षेत्रलाई कसरी थप व्यवस्थित बनाउन सकिन्छ भन्ने सम्बन्धमा योजना तर्जुमा गर्न समेत सहज हुन्छ ।
अहिलेको स्थानीय सरकार निर्देशिका २०७४ ले समेत बजार अनुगमन तथा नियमनको निम्ति समेत स्थानीय तहलाई नै जिम्मेवारी दिएको र यसको लागि नगरपालिकाको उपप्रमुख संयोजक रहने व्यवस्था गरिएकोमा आपसी सहकार्यमा यी सबै पक्षलाई सहज र व्यवस्थित गर्नको निम्ति समेत अन्तरनिकाय सहकार्य जरुरी देखिएको छ । यसबाट नै समग्र बजार अवस्था, गुणस्तर, नागरिक अधिकार तथा उपभोक्ता हित लगायतका विविध कुराहरुे अघी बढ्न सहज हुने अवस्था छ ।
कस्तो छ नगरपालिका प्रति जनताकोे अपेक्षा ?
तारकेश्वर क्षेत्रका जनताहरु जनप्रतिनिधिहरु आउनुपूर्व र अहिलेको अवस्थामा खासै भिन्नता महसुस गर्न सकेका छैनन् । अहिले पनि नागरिकहरुले सहज रुपमा आफ्ना अधिकार प्राप्त गर्न सकेका छैनन् । सडकमा फोहोरको समस्या छ । खानेपानी व्यवस्थित हुन सकेको छैन । जनताले सुरक्षाको प्रत्याभुति गर्न सकेका छैनन् । नगर क्षेत्रमा तारहरु व्यवस्थित बन्न सकेका छैनन् । भूकम्प पश्चात् बनेका घरहरु निकै मापदण्ड विपरीत निकै ठूलो आकारका बनिरहेका छन् । नगरपालिकाले अस्वभाविक रुपमा कर सङ्कलन गर्ने काम गरेको छ । यसबाट जनताहरु अहिलेको प्रशासन प्रति सन्तुष्ट हुन सकेको अवस्था छैन ।
नगपालिकाको बजेट विनियोजन सम्बन्धमा :
नगरपालिकाबाट विनियोजन हुने बजेट महिला, बालबालिका, युवा, विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिक, असहाय महिला लगायतको निम्ति विनियोजन गरिँदै आइएकोमा स्थानीय सरकारबाट उक्त रकम आर्थिक निर्देशिका विपरीत भएको समेत पाइएको अवस्था छ । यसलाई नगरपालिकाका सम्बन्धित व्यक्तिहरुले बुझ्दै व्यवस्थित गर्नको निम्ति पहल गर्नु जरुरी छ । साथै उक्त बजेटको प्रभावकारिता समेत अध्ययन हुनु जरुरी छ ।
नागरिक सेचेतनाको महत्व :
अहिलेको बजार अत्यन्तै अस्वस्थ रुपमा प्रतिष्पर्धामा उत्रिएको छ । बजारमा कार्टेलिङ बढेको, अखाद्य वस्तुहरुको उत्पादन भइरहेको, जनताको अधिकारप्रति उत्पादकले कुनै पनि महत्व नदिई आफ्नो पक्षबाट मात्र लाभ लिइरहिएको अवस्थामा सुधार गर्नको निम्ति नागरिक सचेतना कार्यक्रम निकै प्रभावकारी हुन आउँछ । यसैकारण नगरपालिका क्षेत्रका निजी तथा सार्वजनिक विद्यालय, व्यवसायी, सामाजिक संस्थाहरु, वकिल, पत्रकार सबैले आफू र आफ्नो क्षेत्रबाट आफ्नो अधिकार प्राप्ति र गुणस्तरियताको बारेमा थप सचेत र जागरुक बन्दै साथ दिनुहुनेछ भन्ने अपेक्षा समेत नागरिक सरोकार केन्द्र तारकेश्वरले राखेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij