
कीर्तिपुर । कीर्तिपुर नगरपालिका अन्तरगतको ३ नम्बर वडा कार्यालयले भौतिक पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन तथा मानवीय क्षमता विकास लगायतका विभिन्न गतिविधिहरुमा केन्द्रित रहेर आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाको कार्यक्रम अन्तरगतका गतिविधिहरु सञ्चालन गर्दै आएको यस वडाले पछिल्लो समय भौतिक विकासको अलावा मानवीय क्षमता अभिवृद्धिलाई सँगसँगै अघी बढाएको ३ नम्बर वडा कार्यालयका अध्यक्ष सुविन्द्र महर्जन बताउँछन्
नगरपालिकाबाट नियमित कार्यक्रम अन्तरगत सञ्चालन हुने कार्यक्रम त छँदैछन्, साथमा उद्यमशिलता जागरण, स्वास्थ्य र शिक्षामूलक सचेतना जागरण, सामाजिक सुशासन एवं पर्यटन प्रवद्र्धनमूलक गतिविधिहरु सँगसँगै अघी बढाएको समेत उनले बताए ।
मुलुकको समृद्धि अभियानलाई सार्थक बनाउनको लागि मानव विकास महत्वपूर्ण हुने कुरालाई आफूहरुले विशेष महत्व सहित सम्बोधनको प्रयाश गरेको वडा अध्यक्ष महर्जनले बताए ।
उद्यमशिल समाज निर्माण बिना वास्तविक रुपमा सामाजिक सचेतना जागरण सम्भव नभएको निष्कर्षमा आफूहरु रहेको र सुशासनयुक्त समृद्ध समाज निर्माणको निम्ति सबै व्यक्ति आर्थिक उपार्जनसँग जोडिनुपर्नेमा महर्जन जोड दिन्छन् ।
यसैकारण वडा कार्यालय अन्तरगत महिलाहरुलाई लक्षित गरी सिलाईबुनाई, व्युटी पार्लर, ड्राइभिङ, अचार उत्पादन लगायतका सीपमूलक तालिमहरु आफूहरुले सञ्चालन गर्दै आएको उनले बताए ।

पछिल्ला बर्षहरुमा यस वडाले नगरपालिकासँगको सहकार्यमा वृद्धवृद्धालाई लक्षित गरी पर्यटन प्रवद्र्धन अवलोकन भ्रमण समेत गराउँदै आएको छ ।
सरकारी र निजी क्षेत्र बीच रहेको असमानता केही हद सम्म घटाउन र सरकारी विद्यालयको गुणस्तरमा समेत सुधार ल्याई बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा सहयोग पुग्न सकोस् भन्ने मान्यताले भर्खर मात्रै वडा कार्यालयबाट भुक्तानी हुने गरी विश्व राष्ट्रिय माविमा नृत्य शिक्षक र खेलकुद शिक्षक उपलब्ध गराइएको छ । स्मरण रहोस्, ३ नम्बर वडामा सञ्चालनमा रहेको एक मात्र सामुदायिक विद्यालय समेत हो विश्व राष्ट्रिय मावि ।
नेपालको शिक्षाले सीपमूलक, प्राविधिक र व्यावसायिक क्षमताका जनशक्ति उत्पादनमा जोड दिन नसकेको र उद्योगको लागि आवश्यक जनशक्ति उत्पादन गर्न नसकिँदा वेरोजगारी ठूलो समस्यामा रहेको परिप्रेक्ष्यमा छोटो अवधिका सीपमूलक गतिविधिमा नयाँ पुस्ताका युवा एवं महिलालाई संलग्न गराउन सके केही हद सम्म समस्या समाधान हुन सक्ने महर्जनको विश्वास छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij