
काठमाडौं । ई. लक्ष्मण केसी इन्जिनियरि क्षेत्रमा अनुभवी, चिरपरिचित र प्रबुद्ध व्यक्ति हुनुहुन्छ । अमेरिकाको हवाई विश्वविद्यालयबाट स्नातकोत्तर शिक्षा पूरा गरी नेपाल फर्किनुभएका केसी विकास पूर्वाधारको क्षेत्रमा निकै अनुभवी व्यक्ति समेत हुनुहुन्छ । लामो समय देखि इन्जिनियरिङ विधामा जोडिएर काम गर्दै आउनुभएका केसी यसपटकको सिडेन चुनावमा अध्यक्ष पदका प्रत्याशी हुनुहुन्छ ।
नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स (सिडेन)मा उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका केसी अध्यक्ष पदको आफ्नो दावी स्वभाविक रहेको बताउनुहुन्छ । सडक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गर्नुभएका व्यक्ति समेत हुनुहुन्छ इन्जिनियर केसी ।
धादिङ जन्मिनुभएका केसीले अक्मी इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गर्नुभएको हो । त्यसपश्चात् ऊहाँले अमेरिकाको हवाई युनिभर्सिटीबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गर्नुभयो । अध्ययन पूरा गरेपश्चात् केसीले विश्व बैंक, आईएलओ लगायतका महत्वपूर्ण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका संस्थाहरूमा कन्सल्टेन्टको रूपमा काम गरेर महत्वपूर्ण अनुभव हासिल गर्नुभएको छ ।
पछिल्ला बर्षहरुमा व्यावसायिक, सामाजिक र राजनीतिक गतिविधिहरुलाई सँगसँगै अघी बढाइरहनुभएका केसी कुशल रणनीतिक व्यक्ति समेत हुनुहुन्छ । पछिल्लो नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा पूर्ण सदस्य सहित जित हासिल गर्नुमा ऊहाँको भूमिका अत्यन्त महत्वपूर्ण रहेको ठानिन्छ ।
एक्जेक्युटिभ कन्सल्टिङ इन्जिनियरिङ एण्ड प्लानर्सका प्रबन्ध निर्देशक समेत रहनुभएका केसी यसपटकको सिडेन निर्वाचनमार्फत विजयी भई समस्त इन्जिनियरहरुको हकहितको लागि निरन्तर काम गर्न प्रतिबद्ध हुनुहुन्छ ।
इन्जिनियरिङ क्षेत्रलाई थप व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकतालाई नै मुख्य चुनावी एजेण्डाको रुपमा अघी सार्नुभएका केसी आसन्न चुनावमा मतदान मार्फत आफूलाई विजयी गराउन आग्रह गर्नुहुन्छ ।

सेतोघर डट कम सँगको संक्षिप्त कुराकानीको क्रममा केसीले सिडेनलाई डिजिटलाइज गर्दै लैजाने, सिडेन र नेपाल इन्जिनियर्स एसोसिएसन बीच निरन्तर सहकार्य गर्दै नयाँ कामहरु अघी बढाउने, वरिष्ठ इन्जिनियरको उचित कदर तथा नवप्रवेशीहरुलाई आवश्यक सहजीकरण गर्ने, निरन्तर रुपमा इन्जिनियरहरुको क्षमता अभिवृद्धिको लागि तालिम, गोष्ठी, सेमिनार लगायत सञ्चालन गर्ने लगायतका थुप्रै एजेण्डा मार्फत इन्जिनियरिङ क्षेत्रको गुणात्मक विकासको लागि पहल गर्ने बताउनुभयो ।
साथै इन्जिनियरिङ क्षेत्रमा दशकौं क्रियाशिल रहँदा सिकेको ज्ञान, सीप, अनुभव र विज्ञता नयाँ पुस्ता एवं नीतिनिर्माण कार्यका लागि सहयोगी बन्न सकोस् भन्ने मुख्य मान्यताले आफूले उम्मेदवारी दिएको दावी गर्नुहुन्छ ।
सिडेनको निर्वाचन भोलि अर्थात जेठ १३ गते ७ ओटै प्रदेशबाट एकसाथ सम्पन्न हुनेछ । काठमाडौंका लागि मतदान कार्य भृकुटीमण्डपबाट सञ्चालन हुनेछ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij