विराटनगर, २७ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायीत्व र मजबूतीका लागि सरकारले समृद्धि र सुशासनको दिशामा तीव्र प्रयासहरू गर्दै मुलुकलाई अघि बढाउन थालेको बताएका छन्।
कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै, जनताका हक र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा समयानुकूल संशोधन गर्दै जाने कुरा उल्लेख गरे। उनले भने, “यस प्रणालीमा सबैलाई प्रतिस्पर्धा गर्नको लागि समान अवसर प्राप्त हुन्छ, र यदि व्यवस्थाविरोधी आवाज उठाउनु पर्ने अवस्था छैन भने, हामी संविधानसम्मत र शान्तिपूर्ण उपायबाट यस व्यवस्थालाई अझ राम्रो बनाउन सक्छौँ।”
प्रधानमन्त्री ओलीले थपे, “हामी केवल गरिबी हटाउन चाहन्नौँ, हामी जनताको समग्र विकास र न्यायिक आवश्यकता पूरा गर्दै देशलाई समृद्ध बनाउने उद्देश्य राख्छौँ।” उनले नागरिक सर्वाेच्चताको अवधारणा राख्दै, समृद्धि र रोजगारीका अवसर सिर्जना गर्नको लागि काम गर्न चाहेको बताए। “देशलाई पछाडि फर्काउने होइन, समृद्धिको दिशामा अघि बढाउने हो,” प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले यस प्रणालीमा तीनै तहका सरकारहरूले सहकार्य गरेर नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता जोड दिए। साथै, नेपालका भौगोलिक, सांस्कृतिक र जातीय विविधतासँगको समन्वयमा एकता कायम गर्दै, नेपालको इतिहासलाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध राष्ट्रको रूपमा स्थापित गर्न सबैले साझा प्रयास गर्नुपर्ने कुरामा जोड दिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij