२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

डोटी – डाेटीकाे शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।

गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ ।

स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते स्वास्थ्यकर्मी कुँवरको आरोप छ । आक्रमण गर्ने तिनै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा शिखर नगरपालिका–७ का नवीन खत्री, रोशन खत्री र तेज लुहार छन् । स्थानीयवासीको कुटपिट तथा आक्रमणबाट गम्भीर घाइते भएका स्वास्थ्यकर्मी कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए ।

स्वास्थ्य सामाग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरुले आक्रमण गरेका थिए । स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई पक्राउ गरी ल्याएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बोहराले बताए ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गर्दै दोषीलाई तत्काल कानूनी कारवाही गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij