

एजेन्सी- योगगुरु बाबा रामदेव आबद्ध रहेको कम्पनी पतञ्जलीले कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधि तयार पारेको दाबी गरेको छ।
पतञ्जली आयुर्वेदले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बाबा रामदेवले भनेका छन्, ‘विश्वले कोरोना भाइरसको औषधि खोजी गरिरहेको थियो। तर आज कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको छ। यसको नाम हामीले कोरोनिल राखेका छौँ।’
उनले पतञ्जलीले बनाएको उक्त औषधि बजारमा समेत किन्न सकिने जानकारी दिएका छन्। उनले भनेका छन्, ‘आयूर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्जलीको स्टोरबाट पाउन सकिन्छ।’ यसका साथै उनले सोमबारसम्म एक एप सार्वजनिक गरिने जसको माध्यमबाट यो घरघरमा पुग्ने दाबी गरेका छन्।
पत्रकार सम्मेलनमा उनले आज एलोपेथिक सिष्टमले औषधिलाई नेतृत्व गरिरहेको भएपनि पतञ्जलीले भने क्लिनिल कन्ट्रोलको अध्ययन गरेर औषधिको परीक्षण गरेको दाबी गरे। उनले भने, ‘हामीले परीक्षण गरेको औषधिले तीन दिनमा ६५ प्रतिशत रोगी पोजिटिभबाट नेगेटिभ भइसकेका छन्। कोरोना संक्रमित व्यक्ति सात दिनमा सतप्रतिशत ठीक हुन्छ।’
उनले कोरोनाको विरामीलाई कोरोनिलले शतप्रतिशत ‘रिकभर’ र शून्य प्रतिशत मृत्युको रेट राखिएको दावी गरे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij