
कोरोनाको विश्वव्यापी महामारीको कारण देशमा विगत १ महिना देखि लकडाउनको अवस्था सिर्जना भएको छ । महामारीको प्रकृतिको आधारमा रोग सर्ने सम्भावनालाई मध्यनजर गरी प्रकोप कम भएका क्षेत्रमा खुकुलो पारिएपनि बढी प्रकोप भएका क्षेत्रमा लकडाउन अझै १-२ महिना कायमै रहने सम्भावना रहन्छ । लामै समय देश लकडाउनमा रहँदा र स्वास्थ्य क्षेत्र सँगै कृषि क्षेत्र समेत प्रभावित हुने देखिँदा अबको बर्ष देशले खाद्य सुरक्षाको दृष्टिकोणले ठूलो सङ्कट व्यहोर्नुपर्ने हुन सक्छ । यसले गर्दा कृषि क्षेत्रले पूर्व तयारीका साथ विशेष योजना बनाएर केन्द्र र स्थानीय स्तरमा खाद्य वस्तुको उपलब्धता र पहुँचको लागि काम गर्नु जरुरी छ ।
आपतकालिन राहत वितरण
लामो समयको लकडाउनले गर्दा विपन्न वर्ग भोकमरीको सिकार हुन सक्ने हुनाले यस अवस्थामा राज्यका निकायबाट आपतकालिन सहयोग जरुरी छ । राहत वितरणमा सबैको पहुँच पुग्ने गरी कार्यक्रम बनाउन केन्द्रले हाल खाद्य वस्तुको भारत तथा अन्य देशबाट वर्षेनी आपुर्ति हुने खाद्य सामाग्रीको परिमाण र वितरण प्रणालीलाई हेरेर विभिन्न कार्यक्रम ल्याउँदै गर्दा स्थानीय स्तरमा गाउँपालिका, नगरपालिकाबाट पुर्याउन सकिने राहत र सेवासुविधाले विपन्न वर्गलाई ठूलो राहत पुग्दछ ।
हालको नयाँ संरचना अनुसार गाउँपालिका एवं नगरपालिकामा यस अघी भएको विपद व्यवस्थापनको सिकाइ र अनुभवमा कमी हुन सक्छ । यसले गर्दा गाउँपालिका तथा नगरपालिकाले स्थानीय स्तरमा काम गर्दा समन्वय गर्न फोकल व्यक्ति तोक्ने र फोकल व्यक्तिको समन्वयमा Humanitation Organization तथा त्यस क्षेत्रलाई कार्य क्षेत्र बनाएर काम गर्ने संस्थाहरु बीच भएको ज्ञान, सीप, स्रोतसाधन र ती संस्थाले प्रयोग गर्ने विभिन्न टुुल्सले राहतको लागि तथ्याङ्क सङ्कलन, विश्लेषण र वितरण प्रणालीमा सहज र प्रभावकारी बनाउन सकिन्छ । यसो गर्दा विगतका प्रकोपमा राहत वितरणमा भएका सिकाइ र राम्रा कुरालाई आधार बनाउँदै नयाँ प्रोग्राम बनाउन सहयोग पुग्छ ।
राहत वितरण प्रक्रिया
अहिलेको अवस्थामा कोरोना सर्न सक्ने सम्भावनालाई लक्षित गरी राहत वितरण स्थलमा विशेष पूर्व तयारी जरुरी छ । राहत वितरण स्थलमा साबुनपानी सहित हात धुने सुविधा, उपस्थित हुने व्यक्ति कम्तीमा १ मिटर टाढा हुने गरी निश्चित दूरीको प्रबन्ध, सामान लिन आउने, वितरण लिस्ट बनाउने, रुजु गर्ने व्यक्तिहरु लगायत सबै ठाउँमा १ मिटर दूरी कायम हुनु जरुरी छ । राहत वितरण नामावली बनाउँदा र वितरण गर्दा स्थानीय स्तरका सबै दलका प्रतिनिधिहरुको टोली बनाई सबैको रोहवरमा वितरण गर्नु बढी प्रभावकारी हुन्छ ।
प्रविधि र सञ्चार
स्थानीय स्तरमा राहत सङ्कलन तथा वितरण प्रणालीलाई छिटो र प्रभावकारी बनाउन त्यस ठाउँमा काम गर्न चाहने विभिन्न संघसंस्थाहरु सँग समन्वय गरी उनीहरुको स्रोत, साधन र क्षमताको समेत सही प्रयोग हुने गरी एकीकृत एवं प्रभावकारी ढङ्गले काम गर्न सकिन्छ । आपतकालिन अवस्थामा काम गर्दा जतिसक्दो छिटो र निश्चित समय भित्र काम गरिसक्नुपर्ने हुँदा यस्ता कार्यमा त्यस ठाउँमा भएको इन्जिनियर, कृषिविज्ञ, कृषि क्षेत्रमा काम गर्ने संस्थाहरुको सोत सहयोग लिँदा तथ्याङ्क सङ्कलन, विश्लेषण र सोको आधारमा छिटो कार्यक्रम बनाउन सहयोग पुग्छ ।
अहिलेको अवस्थामा कोरोना सर्न सक्ने सम्भावनालाई लक्षित गरी राहत वितरण स्थलमा विशेष पूर्व तयारी जरुरी छ । राहत वितरण स्थलमा साबुनपानी सहित हात धुने सुविधा, उपस्थित हुने व्यक्ति कम्तीमा १ मिटर टाढा हुने गरी निश्चित दूरीको प्रबन्ध, सामान लिन आउने, वितरण लिस्ट बनाउने, रुजु गर्ने व्यक्तिहरु लगायत सबै ठाउँमा १ मिटर दूरी कायम हुनु जरुरी छ । राहत वितरण नामावली बनाउँदा र वितरण गर्दा स्थानीय स्तरका सबै दलका प्रतिनिधिहरुको टोली बनाई सबैको रोहवरमा वितरण गर्नु बढी प्रभावकारी हुन्छ ।
लक्षित समूहको लागि कार्यक्रम
खाद्य सङ्कटलाई ध्यानमा राखेर विशेष कृषि क्षेत्र, ठूलो नहरका सिँचाई क्षेत्रहरुमा आउने कार्यक्रमका साथसाथै भौगोलिक हिसाबले विकट र अति विपन्न वर्गलाई ध्यानमा राखेर छुट्टै राहत कार्यक्रम बन्नु जरुरी छ । विश्व महामारीको कारण आर्थिक क्षेत्र लगायत सबै क्षेत्र प्रभावकारी हुने हुँदा खाद्य क्षेत्रमा कार्य गर्ने र सहयोग पुर्याउने संस्थाहरुले सामान्य अवस्थामा जस्तो सेवा पुर्याउन नसक्ने हुनाले स्थानीय स्तरबाट प्रदान गरिने कार्यक्रम बनाउँदा सो पक्षलाई विचार गर्नुपर्दछ ।
ग्रामीण भेगमा धेरैजसो मानिसहरु आफ्नो जग्गामा खेतीपाती गर्छन् । कोही अरुकोमा कृषि मजदुरको रुपमा गर्छन् त कोही कृषिलाई नै व्यवसाय बनाएर काम गरेका हुने हुँदा सो को पहिचान गरी कार्यक्रम बनाउन सके यसले सहयोग पुर्याउँदछ । रोजगारीको लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोनाको कारण गाउँ फर्किइरहेको अवस्थामा उनीहरुको जीविकोपार्जनलाई ध्यानमा राखेर कृषि कार्यमा संलग्न हुन आकर्षित गर्नुपर्दछ । नेपालको भौगोलिक संरचना अनुसार गाउँबस्तीमा छरिएर रहेका पानीको मुहान भएका क्षेत्र, सानो सिँचाई भएको क्षेत्रलाई पनि ध्यानमा राखेर सम्बन्धित गाउँपालिका एवं नगरपालिकाको निगरानीमा व्यक्तिहरुको सानो समूह बनाई बिऊ, मल, परामर्श सेवामा सहयोग पुर्याएर कृषिमा आकर्षित गर्नसके देशभर छरिएर रहेका यस्ता धेरै ठाउँका गरीब विपन्न समुदायलाई स्थानीय स्तरमा नै उत्पादन हुने कृषि उत्पादनले बाहिरको बजार वितरण प्रणाली प्रभावित हुँदाको समयमा समेत सहयोग पुग्दछ ।
सरोकारवालासँग समन्वय वैठक
कोरोनाको प्रकोप विश्वका २०० भन्दा बढी देशहरुमा फैलिइसकेको अवस्थामा आपुर्ति प्रणालीमा समेत प्रभाव पर्ने हुँदा सीमित स्रोत र साधनको उच्चतम प्रयोग गरी काम गर्नुपर्ने हुँदा यस अवस्थामा स्थानीय स्तरमा रहने उपलब्धता र पहुँचलाई उच्चतम सदुपयोग गर्नुपर्ने हुन्छ । यसको लागि गाउँपालिका एव नगरपालिकाको पहलमा त्यस क्षेत्रलाई कार्य क्षेत्र बनाएर काम गर्ने सरोकारवालासँग सहकार्य गरी खाद्य, बिऊविजन सम्बन्धी व्यापारी लगायत यससँग जोडिएका त्यस स्थानका सरोकारवाला बीच समन्वय वैठक प्रभावकारी रहन्छ । यसले गर्दा कृषि उत्पादन र बजारको अवस्थाबारे सबैलाई जानकारी मिल्छ । यस्तो अवस्थामा तत्काल आवश्यक सामाग्री स्थानीय स्तरमा कुन सामान कति परिमाणमा छ, कति परिमाणमा उपलब्ध हुन सक्छ, कति परिमाणमा बाहिरबाट ल्याउनुपर्ने हो भन्ने सूचना आदानप्रदान हुन्छ र छिटोछरितो सेवा पुर्याउन यसले सजिलो बनाउँछ ।
ईन्जिनियरको भूमिका
आपतकालिन अवस्थामा पुर्याउने सेवामा प्रविधिको उच्चतम प्रयोग गरी कार्यलाई सरल, सहज र प्रभावकारी रुपमा गर्ने वातावरण बनाउन ईन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । आपतकालिन अवस्थामा सरकारी संयन्त्रले मात्र काम गर्न नसक्ने हुँदा नेपालमा विभिन्न क्षेत्रमा छरिएर रहेका ईन्जिनियरहरुको सानो सहयोगले ठूलो राहत मिल्न सक्छ । केन्द्र र स्थानीय स्तरका निकायमा छिटो र पारदर्शि रुपमा काम गर्न सहयोग पुर्याउन प्रविधिको उच्चतम प्रयोग गरी कामलाई सरल र सहज बनाउन ईन्जिनियरहरुले ठूलो सहयोग पुर्याउन सक्छन् ।
यसको लागि ईन्जिनियरहरुको साझा संस्था नेपाल ईन्जिनियर्स एसोसिएसनको केन्द्र र सातओटै प्रदेश संरचना, सेन्टर फर डेमोक्र्याटिक ईन्जिनियर्स नेपाल (CDEN)का केन्द्र र प्रदेश, प्रोगे्रसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल (PEAN)का केन्द्र र प्रदेशका संरचना लगायतका संरचनालाई नेपाल ईन्जिनियर्स एसोसिएसनको नेतृत्वमा परिचालित गर्दा ईन्जिनियरिङ समाजबाट देशलाई यो विपतको समयमा ठूलो सहयोग मिल्दछ । यस्तो अवस्थामा कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि विज्ञहरुको सोसाइटी लगायत कृषि क्षेत्रम काम गर्ने अन्य संघसंस्थाको समन्वयनमा काम गर्नसके एकद्वार प्रणालीबाट देशभरबाट आउने तथ्याङ्क विष्लेषण गरी कार्यक्रमले समेट्न नसकेका क्षेत्रको यथासक्दो छिटो पहिचान हुने हुँदा समयमै थप सहयोग पुर्याउन सकिन्छ ।
आपत्कालिन अवस्थामा गरिने यस्तो कार्य गर्दा विषयगत वा क्षेत्रगत रुपमा छुट्याइएको टोली, गर्नुपर्ने दायित्व, विभिन्न निकाय बीच समन्वय गर्नुपर्ने व्यक्ति प्रक्रिया पारदर्शी पार्नुका साथै उपलब्ध सूचनाहरु र कागजातहरु उचित व्यवस्थापन गर्न सके भविष्यमा पर्ने आपत्कालिन कार्यमा समेत सहयोग पुग्दछ । विगतका बर्षहरुमा देशले विभिन्न समयमा भोगेका प्रकोपमा नेपाल ईन्जिनियर्स एसोसिएसनले महत्वपूर्ण भूमिका खेलेको छ । त्यस समयका व्यक्तिहरुका अनुभव र सिकाइहरुलाई पनि नेपाल ईन्जिनियर्स एसोसिएसनले प्रयोग गर्न सक्दछ । नेपाली समाज राजनीतिक हिसाबले विभाजित छ तर यस विपतको घडीमा सम्पूर्ण जनतामा मानवीय सहायता पुर्याउनु सम्पूर्ण ईन्जिनियरहरुको साझा दायित्व हुन्छ ।
(ईन्जिनियर पोखरेलले विगतमा विपत व्यवस्थापन सम्बन्धी कार्यमा Save the Children, Cordaid लगायतका संस्थामा काम गर्दाको अनुभवलाई समेटेर यो सामाग्री तयार पार्नुभएको हो ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij