
काठमाडौं । गत जेठमा सम्पन्न भएको आठौं कोरियन भाषा परीक्षाको नतिजा आगामी ११ साउनमा हुने भएको छ । गत २७ र २८ जेठमा सम्पन्न भएको भाषा परीक्षामा सरकारकै प्राविधिक कमजोरीका कारण केही परीक्षार्थीले परीक्षा दिन नपाएसँगै शुक्रबारका लागि तय भएको भाषा परीक्षाको नतिजा प्रकाशित हुन नसकेपछि सरकारले बाध्य भएर आगामी ११ साउनमा नतिजा सार्वजनिक गर्न लागेको हो ।
यसअघि श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले १६ असारमा नै नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । अब ११ साउनमा नतिजा आउने गरी नयाँ तालिका बनाइएको सो शाखाले जनाएको छ ।
त्यसबेलाको भाषा परीक्षामा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, खुमलटारमा परीक्षा दिनुपर्ने ७ सय १० जना परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका थिए । परीक्षाको तालिका परीक्षार्थीको संकेत नम्बर गलत रूपमा प्रकाशित भएकाले धेरैको परीक्षा छुटेको थियो । अब यो परीक्षा केन्द्रमा जाँच दिन नपाएकाहरूलाई सीभीटी एवं अनलाइन प्रविधिबाट कम्युटरमै परीक्षा हुने भएको छ ।
आगामी २१ देखि २९ असारसम्म तीन समूहमा उनीहरूका लागि परीक्षा लिने ईपीएस कोरिया शाखाले जानकारी गराएको छ । शाखाका प्रवक्ता शोभाकर भण्डारीले छुटेकाहरूको परीक्षा सकिएपछि एकैपटक सबैको नतिजा आगामी ११ साउनमा प्रकाशित गर्ने तयारी भएको जानकारी गराए । अहिले उनीहरूको प्रवेशपत्र नम्बरसहित तालिका १४ असार १४ को दैनिक पत्रिकामा समेत प्रकाशित भइसकेको छ ।
यस वर्ष करिब ६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा आवेदन भने साढे ७५ हजारले भरेका थिए । त्यसमध्ये १० हजार २ सय जना परीक्षार्थी सो भाषा परीक्षामा उर्तीण हुनेछन् । यसैगरी उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुनेछन् ।
वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले सन् २०१८ का लागि ईपीएसमार्फत कुल १० हजार २ सयजना प्रशिक्षार्थी नेपाली कामदार लैजाने बताएको छ । ईपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले आगामी वर्ष कुल १० हजार २ सय जना कामदारको कोटा छुट्याइएको जानकारी गराएको हो । सोही कामदार कोटाअनुसार आगामी वर्षका लागि लिइने कोरियन भाषा परीक्षामा सहभागी हुने मध्ये ६ हजार २ सय जना कृषि क्षेत्र र ४ हजार जना उत्पादनमूलक क्षेत्रमा रहेका छन् । ‘सन् २०१८ मा यस वर्षभन्दा करिब ७ हजार बढी कामदार कोरिया जान पाउने सो शाखाले जनाएको छ ।
यसपालि दुईदिनसम्म काठमाडौंमा सञ्चालित सो भाषा परीक्षाका लागि कुल ७५ हजार ५ सय ८० जनाले अनलाइनबाट आवेदन फाराम भरेका थिए । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइएको यस परीक्षाका लागि काठमाडौंमा १७ र ललितपुरमा नौवटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । त्यसबेला काठमाडौंको २६ नम्बर परीक्षा केन्द्रमा भने प्राविधिक कारणले केही परीक्षार्थी भाषा परीक्षा दिनबाट वञ्चित भएका थिए ।
ईपीएस कोरिया शाखाले सोही समय इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड मेनेजमेन्ड खुमलटार केन्द्रमा परीक्षा दिन पुगेका सिम्बोल नम्बर १००७२८३७ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षा दिन वञ्चित भएको विषयलाई लिएर परामर्स गरी पुनःपरीक्षा लिने पहल गर्ने जानकारी गराएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij