-सुवास कुवँरचीनको हुवाई प्रान्तको वुहान शहरबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलो पटक मानिसमा संक्रमण पुष्टि भएको कोरोना भाईरस (कोभिड–१९)ले हाल विश्वका २१५ वटा देश तथा उपद्वीपहरुलाई विगत ८ महिना देखि आक्रान्त बनाएको छ । हाल सम्म विश्वमा करिब २ करोड ३३ लाख व्यक्ति संक्रमित भएका छन् भने ८ लाख संक्रमितको ज्यान लिईसकेको महामारीको संक्रमण दिन प्रतिदिन बढ्दो छ । चीनबाट खडेरीको जङ्गलमा लागेको डढेलो जस्तै गरी विश्वभर फैलिईरहेको यो महामारीले न धनी न गरीब, न ठूलो न सानो, न विकशित न अविकशित सबै सम्प्रदाय र समुदायलाई चपेटामा पारेको छ ।
शुरुमा चीनमा देखिएको संक्रमण युरोप हुँदै उत्तर अमेरीका, दक्षिण अमेरीका, मध्यपूर्वी एसियामा महामारीको रुपमा फैलिईरहेको उक्त भाईरस हाल दक्षिण एसियाली मुलुकमा पनि संक्रमणको दर दिन दुई गुना रात चार गुनाको रफ्तारमा बढिरहेको परिप्रेक्ष्यमा सबैभन्दा प्रभावित विश्व अर्थतन्त्रमा पकड राख्ने जी–७ र जी–२० औद्योगिक शक्तिशाली राष्ट्रहरु भएका छन् ।
डिसेम्बर अन्त्यबाट देखा परेको यो भाइरस मार्चको पहिलो हप्ता सम्म विश्वमा संक्रमण दर दैनिक २–३ हजारमा सीमित रहेकोमा अहिले अगष्टको अन्त्य सम्म आउँदा सम्म दैनिक ३ लाखको हाराहारीमा नयाँ संक्रमित भेटिनुले यसको संक्रमण दर कति धेरै रहेछ भन्ने कुराको पुष्टि गर्दछ । साथै संक्रमणको दर कम भएका तथा आधिकारिक रुपमै कोभिड–१९ मुक्त घोषणा गरेका न्युजिल्याण्ड, तान्जनिया, भ्याटिकन सिटि जस्ता मुलुकहरुमा पछिल्लो समय पुनः संक्रमण फैलिनु र नियन्त्रण उन्मुख रहेका जापान, कोरिया लगायतका मुलुकमा अहिले संक्रमण बढ्दै जानुले चिकित्सा विज्ञानलाई समेत अचम्ममा पारेको छ ।
कोभिड–१९ विश्वको पहिलो महामारी मात्र होईन, महामारीको इतिहास हेर्ने हो भने विभिन्न कालखण्डमा ब्याक डेथ, एल्लो फिभर, प्लेग आदि जस्ता विश्व महामारीले करोडौं जन–धनको क्षति गरी राज वंशकै पतन भएको र महामारी पश्चात् विश्वव्यापी भोकमरी सिर्जित भई मान्छेले मान्छेको नै मासु खाने गरेको भन्ने इतिहास भेटिन्छ । तर २१ औं शताब्दीमा विकास भएको आधुनिक चिकित्सा विज्ञानले समेत हार खाईरहेको यस कोरोनाको हाल सम्म कुनै निकास ननिस्कनु पक्कै पनि आश्चर्यको विषय हो ।
विश्वका ठुला अर्थतन्त्र भएका देशमा भाईरसको प्रभाव धेरै देखिएको छ । यसबाट विश्वव्यापी रुपमा आर्थिक संङ्कट निम्तिने सम्भावना बढेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुुुसार यो प्रकोपका कारण सन् २०२० र २०२१ मा विश्वको कुल गार्हस्थ उत्पादनमा करीब ९ ट्रिलियन अमेरीकी डलर बराबरको नोक्सानी हुने र प्रभाव सन् १९३० को महामन्दी र सन् २००९ को वित्तीय सङ्कट भन्दा बढी रहने कुरा अनुमान गरेको छ । विश्व स्तरमै वेरोजगारीको दर बढेको छ, अमेरीकामा ८ महिनाको अन्तरालमा १८ मिलियन व्यक्तिको रोजगार गुमेको भनी अगष्टको पहिलो हप्तामा सार्वजनिक सर्वेक्षणले देखाएको छ । विश्वको श्रम बजारमा आर्थिक क्रियाकलाप घट्दै गएकोले अधिकांश देशले श्रमिक कटौती गर्ने नीति लिइसकेका छन् । यसले गर्दा विश्वव्यापी रुपमा उत्पादन र उत्पादकत्व घट्न थालेको छ ।
नेपालको सन्दर्भमा वि.सं २०७६ माघ १० मा चीनको वुहानबाट नेपाल आएका एक जना पुरुष पहिलो संक्रमित भेटिएका थिए । नेपाल सरकारले महामारी फैलन नदिन भनि वि.सं २०७७ चैत्र ११ बाट विभिन्न चरणमा गरी जेठ ३२ सम्म लकडाउन गरेको थियो । उक्त समयमा व्यापार, उद्योग, कलकारखाना लगायत निजी तथा सरकारी कार्यालयहरु सबै बन्द भए । सरकारले २०७७ असार १ गते देखी बन्दाबन्दीको तौर–तरिकालाई परिवर्तन गरी केही सहज बनायो । तर त्यसपछि संक्रमणको दर झन् बढ्न गई हाल मुलुकको विभिन्न स्थानमा समुदाय स्तरमै पैmलिई दैनिक ५ सय देखि १ हजारको हाराहारीमा संक्रमित फेला परिरहेका छन् भने दैनिक १० जना सम्मको मृत्यु भइरहेको अबस्था छ । विगत आठ महिनाको अन्तरालमा मुलुकमा करिव २९ हजार संक्रमित भईसकेका छन् भने १५० भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । अहिले लक्षणयुक्त संक्रमितको सङ्ख्या बढिरहेको र मृत्युदर पनि बढ्दै गएकोले संयमित नभएमा नेपालको आउने दिनमा परिस्थिति युरोपेली देशको जस्तो भयावह नहोला भन्न सकिँदैन ।
हाल मुलुकका शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द भएको ५ महिना भन्दा बढी भईसकेको छ । यहि परिस्थिति रहे पुरानै स्थितिबाट शैक्षिक संस्था सञ्चालन गर्ने अवस्था छैन र यो शैक्षिक सत्र यत्तिकै खेर जाने स्थिति आउन सक्छ । यसबाट बालबालिका तथा विद्यार्थीमा सिकाई प्रभावित हुनुका साथै मनोवैज्ञानिक समस्याहरु आउन सक्ने हुनाले दूर–दराजका विद्यार्थीहरुलाई समेत अनुकुलित हुनेगरी वैकल्पिक शिक्षण पद्धतिलाई कार्यान्वयनमा ल्याउनु पर्छ ।
आ.व २०७६-०७७ को फागुन सम्म समष्टिगत आर्थिक परिसूचकहरु सन्तुलित र सन्तोषजनक रहेकोमा कोरोनाको प्रभावको कारण मुलुकको कृषि, उद्योग, यातायात, पर्यटन, होटल, तथा रेष्टुरेन्ट, निर्माण, थोक तथा खुद्रा व्यापार लगायत सेवा क्षेत्र बढी असर परेकोले यहि स्थीती अझै केही महीना गएमा नेपालको अर्थतन्त्र पनी थला पर्ने देखिन्छ। सरकारले आ.व २०७७-०७८ को वजेटमा देशको महत्वाकांक्षी आर्थिक वृद्धि दर ७ प्रतिशत राखेको छ, जुन लक्ष्य पूरा हुन असम्भव प्रायः छ, विश्व वैङ्कले सन् २०२० जुन ९ मा सार्वजनिक गरेको ग्लोबल ईकोनमिक प्रस्पेक्टका अनुसार आ.व २०७६-०७७ मा नेपालको आर्थिक वृिद्धदर १.८ मा सीमित हुने अनुमान गरेको र सार्वजनिक तथा निजी उद्योग तथा व्यवसाय बन्द रहेको अवस्थामा बजेटमा अनुमान गरिएअनुुसार ८ खर्व ८९ अर्व बराबरको राजश्व सङ्कलन हुनै सक्दैन । शक्तिशाली राष्ट्रहरु समेत यस महामारीको चपेटामा परेकोले दातृ राष्ट्रबाट वैदिशिक अनुदान र सहायताका नाममा आउने सहयोगमा भारी गिरावट आउन सक्छ । त्यसैले आर्थिक सङ्कट र दुर्घटनाबाट बचाउनको लागि पूरक बजेट, विभिन्न नीति योजना र कार्यक्रम लिनु पर्ने हुन सक्छ । नेपाल जस्तो सानो अर्थतन्त्र भएका र विदेशी मुद्राको सञ्चिती वैदेशिक श्रमबाट प्राप्त हुने विप्रेषणमा भरपर्नु देशले वैदेशिक रोजगारमा गएका नेपालीहरु बेरोजगार भई विप्रेषण आय घट्न गई विदेशी मुद्राको सञ्चिती घट्ने र नेपाली मूल्यको अवमुल्यन हुने खतरा बढ्दो छ । नेपाल जस्ता अल्पविकसित मुलुकमा दैनिक ज्यालादारी र सानातिना व्यवसाय गरेर जीविका निर्वाह गर्ने जनताहरुको लागि दैनिकी अत्यन्तै कष्टकर हुन्छ र धनी र गरीब बीचको खाडल अझ गहिरो हुनेमा कुनै शंका छैन ।
अहिले वैदेशिक रोजगारीमा रहेका तथा मुलुक भित्र रहेका अधिकांश व्यक्तिको रोजगार गुमेको छ । वैदेशिक रोजगारमा रहेको जनशक्ति रोजगार गुमेसँगै नेपाल फर्कने प्रतिक्षामा छन् । उक्त जनशक्ति नेपाल फर्केपछि परिचालन गर्न सक्नुपर्छ । कृिषप्रधान देश नेपालको दुई तिहाई जनसङ्ख्या कृषिमा निर्भर भएको हुनाले सरकारले अल्पकालिन र दिर्घकालिन योजना बनाई संघ, प्रदेश र स्थानीय तहको समन्वयमा स्थानीय स्तरमा विभिन्न कृषि प्याकेज ल्याई उक्त जनशक्तिलाई परिचालन गरी कृषिमा क्रान्ति ल्याई शोकलाई शक्तिमा बदली देशलाई आत्मनिर्भर बनाउने सुवर्ण अवसरका रुपमा स्थापित गर्न सकिन्छ ।
भनिन्छ, विपत्ति घण्टी बजाएर आउँदैन । नेपालले महाभूकम्प–२०७२ र भारतीय नाकाबन्दी जस्ता दर्दपुर्ण घडी पार गरेको धेरै समय भएको छैन । ति विपत्ति आकस्मिक रुपमा आए तर कोरोना भाईरस घन्टी बजाएरै, चीनमा संक्रमण फैलिएको केही महिना पछि मात्र नेपालमा फैलिइरहेको छ । त्यत्ति नै बेला विश्व स्वास्थ्य संगठनले जोखिमयुक्त मुख्य मुलुकको सुचीमा राखेको थियो तर सरकारले सम्भावित जोखिमको पूर्व तयारी स्वरुप लकडाउन वाहेक अन्य गरिएको देखिएन । बरु स्वास्थ्य सामाग्री तथा परिक्षण किट खरिदमा अनियमितताको आरोपमा सरकार विवादित बन्यो । जोखिम बढ्ने सम्भावनाको जानकारी हुँदाहुँदै पनि पूर्व तयारी नगरिनु सरकारको गम्भीर लापरवाही हो । अहिले देशमा प्रयाप्त आईसोलेशन, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य पूर्वाधार छैनन्, प्राईभेट अस्पतालले कोरोना संक्रमितको उपचारमा आनाकानी गरेको अवस्था छ । यस्तो अवस्थामा सरकारले कुनै -यापिड एक्सन लिनुको सट्टा सत्ताको खेलमा लागेको छ । अझ अचम्म लाग्दो कुरा के छ भने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जस्ता जिम्मेवार व्यक्तिबाट नै यही तवरमा कोरोना बढेमा हामीले थेग्न सक्दैनौं भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्तिहरु आइरहेका छन् । त्यसो भए आज सम्म पूर्व तयारी नगरी कहाँ सुतेर बसेको ? यसमा जनताको के दोष ?
आफुलाई सर्वश्रेष्ठ ठान्ने अत्याधुनिक आणविक हतियारको धाक लगाउने, आफुलाई सर्वशक्तिमान मान्ने मानव जातीको अहिले कोरोना भाईरसले आकुल–व्याकुल बनाई विगत ८ महिना देखि पिँजडाको जीवन जिउन बाध्य बनाई उसको उन्मादलाई पोखाईदिएको छ । भने पशुपंक्षी, जीवजन्तु, कीटपतङ्ग र प्रकृति रमाईरहेको छ । वातावरण स्वच्छ हरावरा भएको छ भने जैविक विविधता र पर्यावरण सन्तुलित हँुदै गईरहेको छ । डाईनोसर जाती पृथ्वीमा अचाक्ली एकल रवैयाको कारणले विनाश भएर गयो । कतै मानवजाती पनि उही दिशामा त गईरहेको छैन ? अब सोच्नुपर्ने समय आएको छ ।
विश्व महामारीमा एकजुट भएर कोरोना विरुद्धको लडाई जित्नुपर्नेमा शक्ति राष्ट्रहरु खास गरी अमेरीका र चीनका नेताहरु विश्व नेता बन्ने होडमा एक–अर्का माथि आरोप–प्रत्यारोपमा उत्रेका छन् । अमेरीकाले कोरोना भाईरसलाई चिनिया भाईरस नामको ट्याग दिईरहेको छ भने चीनले पनि अमेरीकी सेनाद्वारा वुहानमा छोडिएको भनि आरोप लगाएको छ । विगत आठ महिनाको अन्तराल सम्म पनी भाईरस विरुद्धको औषधि र भ्याक्सिन बन्न सकेको छैन । यसरी मानव अस्तित्वलाई नै संकटमा पारिरहेको स्थितिमा एक आपसमा झगडा गर्नुको सट्टा एक आपसमा मिलेर विश्वस्तरीय कोरोना भाईरस विरुद्धको युद्ध जित्नु जरुरी छ, यदि ढिला भएमा मानव जातीले धेरै ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
कोरोनाको रनभुल्लमा परेर अन्य रोगी व्यक्ति तथा विपत्ति पति उपेक्षा गरिनुहुँदैन, बन्दाबन्दी र निषेधाज्ञाको कारण नियमित स्वास्थ्य सेवाको खाँचो पर्ने सुगर–पे्रसर, थाईराइड, मृगौला डाइलासिस, क्यान्सर आदी दिर्घरोगीहरुले नियमित स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नु परिरहेको छ भने बाढी–पहिरो आदि प्राकृतिक विपत्तिबाट मात्र दुई महिनाको बीचमा २ सय भन्दा बढीले ज्यान गुमाईरहेको परिप्रेक्ष्यमा एकातिर सिलाउँदा अर्कोतिर च्यातिने उखान सावित नहोस् ।
साढे दुई महिना लकडाउन थेगेको मुलुकले अहिले फेरी लकडाउन र विषेधाज्ञा शुरु गरिएको छ, लकडाउन तथा निषेधाज्ञा नियन्त्रण उपायका अल्पकालिन उपायहरु हुन् । साधन हुन्, साध्य होईनन् । अब पनि सरकारले नागरिकहरुलाई केही दिन घरमै थुनिदिएपछि कोरोना आफैं भागिहाल्छ नि भन्ने सोच राख्नुहुँदैन । यदि सोही तरिका प्रभावकारी हुन्थ्यो भने यस अघि महिनौँ गरिएको लकडाउनले के नतिजा दियो ? र नियन्त्रणको नाममा सडकमा सुरक्षाकर्मी परिचालन गरेर हुँदैन । प्रभावकारी स्वास्थ्य रणनीति र योजना लागु गरेर स्वास्थ्य सामाग्री, आईसोलेसन, भेन्टिलेटर, कोरोनामैत्री अस्पतालको मात्रा र पर्याप्त मात्रामा स्वास्थ्यकर्मी र परीक्षणको दर बढाईनुपर्छ ।
महामारी नियन्त्रणमा सरकारलाई सबै पक्षबाट सहयोग हुनु जरुरी छ, नागरिकहरु पनि सचेत र सभ्य भई बिना काम घर बाहिर ननिस्किने, निस्किनैपरे मास्क र स्यानिटाईजरको प्रयोग गर्ने, भिडभाड नगर्ने गर्नुपर्छ । तर अहिले कुनै–कुनै ठाउँमा जन–समुदाय स्तरबाटै स्वास्थ्यकर्मीलाई अर्घेलो देख्ने, अपमान गर्ने प्रवृत्ति बढेको छ, जुन चिन्ता जनक विषय हो । विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सेयर गरी भाईरल बनाउने समाज नै आफ्नै टोलमा भने स्वास्थ्यकर्मीलाई लखेट्न अघी सरेको छ, कता जाँदैछ हाम्रो समाज ? (महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग भिड्दै हाम्रो समाज) यि यस्ता नकारात्मक क्रियाकलाप गर्ने विरुद्ध सरकारले कडा भन्दा कडा कारवाही गर्नुपर्छ ।
अन्त्यमा, कोभिड–१९ को महामारी विरुद्ध विजय हासिल गर्नका लागि सबै एकजुट भएर लागाँै, आरोप–प्रत्यारोपबाट निकास पाईंदैन । नागरिक स्तरबाट सरकारका निर्देशनको पालना गर्ने, भौतिक दुरी कायम गर्ने, अनावश्यक घर बाहिर ननिस्कने, व्यक्तिगत सरसफाई गर्ने, पोषिलो खानेकुरा खाने, कसरत तथा योगाभ्यास गरी प्रतिरोधात्मक क्षमता बढाउने गरी सभ्य नागरिक भएर सरकारलाई सहयोग गरौं ।
(लेखक कुवँर चितवनकाे राप्ती नगरपालिकामा कार्यरत छन् ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij