२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि

कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि

धनगढी-कैलालीमा एउटै पालिकामा क्वारेन्टिनबाट घर पठाएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ र २ को क्वारेन्टिनमा राखेर घर पठाईएका ५८ जनामा कोरोना पुष्टि भएको हो।

दुई सय ४२ जनामा आरडिटी पोजेटिभ आएकोमा ९३ जनाको जेठ २८ गते स्वाब संकलन गरीएको बताउँदै स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले ५८ जनामा कोरोना पुष्टि भएको बताईन् । उनले नतिजा आउन ढिलाई भएपछि घर पठाईएको बताइन्।

सुदूरपश्चिममा आज एकै दिन थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा ९६ जना र धनगढी स्थित प्रयोगशालामा ४१ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीका धनगढीका ५ महिला र १६ पुरुष गरी २१, भजनीका एक पुरुष, अछाममा तीन महिला र दुई पुरुष गरी पाँच जना, डडेल्धुराको गन्यापधुराका तीन पुरुष, कञ्चनपुरको शुक्लाफाँटाका तीन महिला र एक पुरुष गरेर चार जना, बेदकोटका एक पुरुष, भीमदत्तनगरका एक पुरुष, पुर्नवासका दुई पुरुषमा कोरोना पुष्टि भएको छ । बझाङको बुगंलका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको उनले बताए।

यस्तै आज काठमाडौँमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय ६१ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय ४१, डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय ८, अछामका ८२, बाजुराका ७२, बझाङमा २४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । हाल सम्म सुदूरपश्चिममा एक सय ३४ जना निको भएर घर फर्केका छन् भने ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij