काठमाडौं । प्रा.डा. गोविन्द केसीले १७ औ अनशन स्थगित गरेका छन्। भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि देशमा चलिरहेको आन्दोलनलाई समर्थन गर्दै केसीले ९ औँ दिनमा अनशन स्थगित गरेका हुन्।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै गएको कात्तिक १७ गतेदेखि डडेलधुरामा अनशन बस्नु भएका डाक्टर केसीले मंगलबार अनशन स्थगित गर्नु भएको हो ।
भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभागसमेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको बताउँदै उहाँले अनशन स्थगित गर्नु भएको हो । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा सबैको संवेदनालाई हृदयंगम गर्दै जारी सत्याग्रह तत्कालका लागि स्थगन गरेको डाक्टर केसीले बताउनु भएको छ ।
उहाँले प्रेस विज्ञप्तिमा भन्नु भएको छ, ‘सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन । आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिनाभेदभाव र बिनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ ।’
डाक्टर केसीले पछिल्लो समय सीमा विवाद समाधानका लागि राजनीतिक दलबीच देखिएको एकताको पनि प्रशंसा गर्नु भएको छ, ‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं । त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन । चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन ।’
यसबिचमा स्वास्थ्य बिग्रिँदै गए पनि सरकारको उपचार प्रस्तावलाई भने उनले अस्वीकार गर्दै आएका थिए। सोमवार उनलाई काठमाण्डू ल्याउन भनी सरकारले पठाएको हेलिकप्टर उनले नमानेपछि त्यत्तिकै फर्किएको थियो। हाल उनको स्वास्थ्यस्थिति कमजोर रहेको भन्दै उनका सहयोगीहरूले उनलाई चाँडै सुविधासम्पन्न अस्पताल लगिनुपर्ने भनेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij