काठमाण्डौँमा पुस २७ गते मैनादेवी फाउण्डेशन र कुमारी जब प्रा.लि. को सहकार्यमा काठमाण्डौ ट्रयास कलेक्सन् रेस (केटीसीआर) २०२५ हुने भएको छ । काठमाण्डौँ ट्रयास कलेक्सन् रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान रहेको आयोजकले जनाएको छ ।
यस अभियानले स्वास्थ्य, समुहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई एकसाथ जोड्दै हरियालीको महत्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यस कार्यक्रममा सहभागीहरुले जोडी बनाई तिनकुनेबाट शुरु गरेर ५ कि.मी (माइती घरसम्म) सम्म फोहोर संकलन जर्दै प्रतिस्पर्धा गर्नुपर्ने आयोजकले जानकारी दिए । प्रथम हुने प्रतिस्पर्धीले रु ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार र १५ हजार पुरस्कार समेत प्राप्त गर्नेछ ।
“हामी केवल रोजगारीका अवसरहरु मात्र सिर्जना गर्ने नभई एक असल संसार निर्माण गर्ने अवसर पनि सिर्जना गर्नुपर्दछ भन्ने मान्यता राख्छौँ । यसै मान्यता अनुरुप हामीले यस काठमाडौँ ट्रयास कलेक्सन् रेसको लागि मैनादेवी फाउन्डेसनसँग सहकार्य गरेका छौँ”, कुमारी जब प्रा.लि.का प्रबन्ध निर्देशक सन्देश भण्डारी ले भन्नुभयो ।
त्यसैगरी मैनादेवी फाउण्डेशनका अध्यक्ष केपी खनालले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “काठमाडौँ ट्रयास कलेक्सन् रेस नेपालमा आशा र वास्तविक कामको प्रतीकका रूपमा विकसित हुँदै गएको छ । कुमारी जबसँगको यो सहकार्यले सफा, हराभरा र दिगो समुदाय निर्माणको हाम्रो प्रयासलाई थप बलियो बनाएको छ । हाम्रो यस सहकार्यमार्फत मानिसहरूलाई सकारात्मक परिवर्तन गर्न प्रेरित गर्दैछौँ।”
ट्रयास कलेक्सन् रेसमा ३०० भन्दा बढी स्वयंसेवकहरू परिचालन हुने भएका छन् भने ३,००० भन्दा बढी नागरिकहरु सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । साथै संकलन गरिएको फोहोर काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गर्नेे आयोजकले जानकारी दिएको छ ।
मैनादेवी फाउण्डेशनले वातावरणीय अभियानहरूमा क्रियाशील हुँदै काम गर्दै आइरहेको छ भने कुमारी जब प्रा.लि ले रोजगारी पोर्टल तथा मानव संशोधन परामर्शदाताको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij