
भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी)का पदाधिकरी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा महासङ्घका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का वरिष्ठ प्राध्यापक एवं नेपालसम्बन्धी जानकार महेन्द्र पी लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी रहेको महासङ्घले जनाएको छ ।
भेटका अवसरमा दुुई देशबीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरूबीच क्षेत्रीय मूल्य शृङ्खलाको विकासका सम्भावनाबारे पनि सो अवसरमा छलफल भएको थियो ।
छलफलमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकामा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो । आयात/निर्यातसम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सीमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि सो अवसरमा छलफल भएको महासङ्घले जनाएको छ ।
सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले नेपाल भारतबीच विशिष्टीकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधँै भारतीय सहयोगको अपेक्षा गरेको बताउनुुभएको थियो । उहाँले दुुई देशबीचको व्यापारिक नाकाको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैँची, अदुवालगायतका नेपाली कृषि उत्पादन भारतीय ब्राण्डको नाममा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुुपर्ने सुुझाव राख्नुुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij