
काठमाडौँ – कथाकार शोभा ज्ञवालीद्वारा लिखित पुस्तक ‘सङ्घर्ष विमोचन गरिएको छ।
नारीका सङ्घर्षका कथाहरू समेटिएको उक्त पुस्तक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहित समाजसेवी डा. माला खरेल, समाजसेवी अनुराधा कोइराला, समालोचक डा.ज्ञानु पाण्डे, साहित्यकार डा.नवराज लम्साल र कथाकार ज्ञवालीले मंगलबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा विमोचन गरेका हुन्।
पुस्तक सङ्घर्ष विमोचन पछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तक आफूले पढिसकेको बताएका थिए। ‘कथाकारले मलाई दुई अगाडीनै पुस्तक उपलब्ध गराउनु भएको थियो। मैले यो पुस्तकका सबै कथाहरू पढिसकेँ। पुस्तकका कथाहरू महिला केन्द्रित छन्। विषयवस्तु समसामयिक छ’, उनले भने,‘नेपाली समाज अहिले अवस्थाबाट गुज्रिएको छ त्यो कुरा कथामा आएको छ।’
यस्तै, साहित्यकार डा.नवराज लम्सालले पुस्तक माथिको समीक्षा गर्दै समाजमा देखिएका मसिना र सामान्य कथाहरूलाई टपक्क टिपेर कथा बुनिएको बताए। कथाको पात्रहरूमार्फत महिलाहरुलाई ‘सङ्घर्ष’ गर्न सिक भन्ने सन्देश पुस्तकले दिएको उनको धारणा थियो।
समालोचक डा.ज्ञानु पाण्डेले पुस्तकको मूल्यांकन कथाकार आफैले लेखेको हुँदा पाठकहरूलाई पढ्नका लागि सहज भएको बताइन्। उनले पुस्तकमा नारीका पीडा, उत्पीडनका कुराहरूलाई शसक्त ढंगले उठाइएको बताइन्।
डा. पाण्डेले भनिन्,‘लैगिकताको विषयलाई किताबमा दर्शाउनु भएको छ। नारीका पीडा, उत्पीडन र समग्रमा नारी पक्षलाई शसक्त रूपमा उठाइएको छ। त्यस्तै नारीको अवस्था सुधार गर्ने हो भने पहिले आफैलाई माया गर्नुपर्छ भन्ने कुरा पुस्तकमा देखाइएको छ।’
त्यस्तै, समाजसेवी अनुराधा कोइरालाले कथाकार ज्ञवालीले लेखिरहेका कथाहरू आफूले पढिरहेको उल्लेख गर्दै भनिन, ‘उहाँले कथामा समेटेका विषयहरुमा अझै लेख्नुपर्छ।’ उनले महिलाका पीडाहरू उजागर गरेरमात्र नहुने तीनको समाधान कसरी गर्ने भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताइन्।
पुस्तक ‘सङ्घर्ष’मा २६ वटा कथाहरु समेटिएका छन्। पुस्तकको सम्पादन रघुनाथ लामिछानेले गरेका छन् भने नेपाल रिपब्लिक मिडियाले प्रकाशन गरेको छ।
कथाकार ज्ञावाली नेपाल रिपब्लिक मिडियाको निर्देशक पनि हुन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij