राजु सिलवाल
काठमाडौँ, १० माघ: नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको केही वर्ष भइसकेको भएता पनि अझै कतैकतै कबड्डीलाई राष्ट्रिय खेल भनि चर्चा गर्ने गरिएको सुनिने गरिएको छ । नेपालमा कबड्डी खेल्नेको सङ्ख्या कम छैन । धेरैले स्कूल पढदादेखि नै कबड्डीको खेलको अनुभव हासिल गरेका हुन्छन् ।
नेपालका तराई क्षेत्रका साथै मध्यपश्चिम र सुदूरपश्चिममा कबड्डी खेल्नेको सङ्ख्या अत्यधिक भएता पनि यो खेलले कहिल्यै प्राथमिकता पाउन सकेन । सधैँ ओझेलमा पर्दै आएको कबड्डी खेलमा पहिलोपटक सहभागी सबै खेलाडीले पारिश्रमिक लिएर खेल्ने अवसर पाएका छन् । नेपालमा खेलिने गरिएको खेलहरुमध्ये पुरानो खेल भएता पनि कबड्डी खेलको पहिलोपटक व्यवसायिक अभ्यास हुने भएको छ । राष्ट्रिय खेलको रुपमा आधिकारिक मान्यता पाउन नसकेको कबड्डीको नेपाल लिग हुने भएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट नेपालमा व्यवसायिक खेलको विकासका लागि महत्वपूर्ण प्रतियोगिता साबित हुँदै समाप्त भएलगत्तै कबड्डी खेलमा पनि व्यवसायिक अभ्यासको अध्याय प्रारभ्म हुँदैछ । नेपालमा फेन्चाइज प्रतियोगिता क्रिकेट, फुटबल र भलिबलपछि नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो संस्करण यही माघ ४ गतेदेखि माघ १८ गतेसम्म काठमाडौँमा डबल राउण्ड रोबिनको आधारमा सञ्चालन भइरहेको छ ।
एनपिएल क्रिकेटमा जस्तै कबड्डीको प्रतियोगितामा सहभागी हुने विभिन्न शहरका छ टिमका लागि नेपालमा स्थापित भएका खेलाडीहरुलाई मार्की खेलाडीका रुपमा छनोट गरिएको थियो । प्रतियोगितामा नेपालमा विभिन्न ६ वटा शहरहरुको प्रतिनिधित्व गर्दै विराटनगर ब्यान्डिटस, जनकपुर नाईटस, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेड्डर्स तथा धनगढी वाईल्ड टिम सहभागी हुदैछन् ।
प्रत्येक टिममा १४ जना खेलाडी रहेका छन् । सबै टिमले बढीमा चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउने छन् । ती टिमहरुका लागि ड्राफ्टद्वारा कूल १२० जना नेपाली खेलाडीमध्ये ८४ जनालाई छनोट गरिएको थियो । यसपालि विभिन्न मुलुकका २५ खेलाडीमध्ये १८ जना छनोटमा परेर एनकेएल खेल्दैछन् । यसमा बंगलादेश, केन्या, श्रीलङ्का तथा थाइल्याण्डलगायतका खेलाडी छन् ।
विभिन्न टिममा नेपालीसहित भारतीय प्रशिक्षक संलग्न भएका छन् । यसमध्ये एक मात्र नेपाली महिला प्रशिक्षक पार्वती राई पनि छिन् । उनकै प्रशिक्षणमा गत १९औँ एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले कास्य पदक प्राप्त गरेको थियो । नेपालको खेलकुद विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहदैं आइरहेको छ । कबड्डी खेलको विकास र विस्तार एवं व्यावसायिकतातर्फ अगाडि लैजानेकार्यका लागि एनकेएल प्रतियोगिता उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।
पहिलोपटक पारिश्रमिक
एनेएल प्रतियोगिताले कबड्डी खेलेर पनि नेपालमा आत्मनिर्भर बन्न सकिने सन्देश दिन खोजेको छ । प्रतियोगितामा खेलिरहेका सबै खेलाडीलाई उनीहरु आबद्ध क्लबहरुले पारिश्रमिक प्रदान गर्दैछन् । नेपालमा कबड्डी खेलाडीहरुले खेल्नकै लागि पारिश्रमिक पाएको यो पहिलोपटक हो । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीजस्ता विभागीय टोलीमा आबद्ध खेलाडीबाहेक अन्य कबड्डी खेलाडीले यसअघि विदेशमा प्रतियोगिता खेल्न जाँदा पाएको सीमित दैनिक भत्ताबाहेक कहिल्यै पारिश्रमिक पाएका थिएनन् । खेलाडीहरुलाई उनीहरुको खेल क्षमताको आधारमा ए, बि र सी श्रेणीमा विभाजन गरी पारिश्रमिक निर्धारण गरिएको छ । खेलमा पहिचान बनाइसकेका महत्वपूर्ण खेलाडीहरुलाई मार्की खेलाडीका रुपमा अन्य खेलाडीलाई भन्दा बढी पारिश्रमिक दिइएको छ ।
व्यापारिक क्षेत्रको झुकाव
एनकेएल प्रतियोगिताको आयोजना निजी क्षेत्रको एस्ट्रोनेक्स म्यानेजमेण्टले गरेको हो । प्रतियोगिता आयोजनाका लागि आयोजकले करिब रु तीन करोड खर्च गरेका छन् । बेगानीले यो प्रतियोगिताको आयोजना गर्दा तत्काल लाभभन्दा पनि कबड्डी खेललाई व्यावसायिक रुपमा अघि बढाउने लक्ष्य राखिएको छ । प्रतियोगिता आयोजना गर्न अखिल नेपाल कबड्डी संघसँग आगामी १० वर्षका लागि सम्झौता गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने छ वटै टिम नेपालका कर्पोरेट हाउसले किनेका छन् । प्रत्येक टिमले ५० लाख रुपैंयाँभन्दा बढी खर्च गरेको जनाइएको छ । सहभागी सबै खेलाडीका साथै प्रशिक्षकलाई केही दिनदेखि काठमाडौँमा विभिन्न होटलमा राखिएको छ । उनीहरुका लागि सम्पूर्ण सामग्रीको व्यवस्था टिमका तर्फबाट ब्यहोरिएको छ । प्रतियोगिताका प्रारम्भिक वर्षमा केही लाभ हुनसक्ने अवस्था देखिदैंन् । तर त्यसपछि हुने आर्थिक लाभ तथा प्रतियोगिता सफलतापछिको सन्तुष्टि महत्वपूर्ण मानिएको छ ।
विदेशीसँग सिक्ने अवसर
यो प्रतिगितामा नेपाली तथा विदेशी खेलाडीले एउटै टिममा रहेर खेल्दैछन् । यसबाट नेपाली खेलाडीहरुले नयाँनयाँ शैली सिक्ने अवसर पाउने छन् । विभिन्न देशबाट आएका अनुभवी खेलाडीहरुसंँग एउटै टिममा बसेर खेल्न पाउनु नेपाली खेलाडीहरुका लागि महत्वपूर्ण मौका हो । यसबाट भविश्यमा नेपाली खेलाडीलाई पनि विदेशी टिममा खेल्न जाने अवसरको ढोका खोलिने अपेक्षा गर्न सकिन्छ । प्रत्येक टिममा रहेका चार जना विदेश खेलाडीसँगको सहकार्यबाट नेपाली खेलाडीहरुले नयाँ सीप सिक्ने छन् । जसले आगामी दिनमा नेपालको कबड्डी टिमलाई बलियो बनाउनुका साथै स्वयम आफू पनि व्यावसायिक खेलाडीका रुपमा अन्तर्राष्ट्रिय टिममा प्रवेश पाउन लागि यो उपयुक्त मार्ग बन्न सक्नेछ । भारतबाट आएका प्रशिक्षक तथा प्राविधिक अधिकारीहरुबाट पनि नेपाली प्रशिक्षक तथा अन्य प्राविधिकले नयाँ ज्ञान तथा सीप सिक्न सक्नेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij