काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड-१९)को प्रभावले घर भाडामा बस्ने नगरवासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीलाई वार्षिक बहाल करमा छुट दिने घोषणा गरेको छ ।
घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बाषिर्क बहाल करमा दश प्रतिशत छुट गर्ने महानगरकाे याेजना छ ।
आर्थिक वर्ष २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाएबापतको बहालकर छुट नलिई चुक्ता गरिसकेका करदाताको हकमा समेत कोभिड-१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिने महानगरपालिकाको आर्थिक विधेयकमा उल्लेख छ ।
काठमाडौँ महनगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार व्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लाग्ने व्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसँग सम्बन्धित व्वसायीहरुले तिर्ने व्यवसाय करमा पचास प्रतिशत र अन्य सबै व्यवसायीहरुले तिर्ने व्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।
होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटल, चारतारे होटल, तिनतारे होटल,दुईतारे होटल, एकतारे होटल, चलचित्र प्रर्दर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे,होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन् ।
त्यसैगरी होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा स्वदेशी विमान सेवा हस्तकला निर्यात व्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यवसाय, ट्रेकिङ सामान पसल, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यावसाय, थान्का पसल, वैदेशिक रोजगार सम्पर्क व्यवसाय, डान्स ट्रिनिङ्ग सेन्टर, संगीत सम्बन्धी सेवा प्रदान गर्ने व्यवसायलगायत छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij