२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

इन्जिनियरिङ

एकीकृत विकास अवधारणामा आधारित योजना निर्माणको आवश्यकता

एकीकृत विकास अवधारणामा आधारित योजना निर्माणको आवश्यकता

प्राविधिक रुपमा सफल योजना मात्र कार्यान्वयनमा लैजानुपर्छ

ई.डा. हरि बहादुर दर्लामी, अध्यक्ष, नेपाल इन्जिनियर्स एसोसिएसन

विषयप्रवेश
नेपालमा योजनाबद्ध विकासको निकै लामो इतिहास भइसकेको छ, तैपनि नेपालमा अहिले सम्म हामीले राम्रो तवरले विकासमूलक कार्यक्रमहरुलाई गतिशिल बनाउन सकेका छैनौं । यसो हुन नसक्नुमा हाम्रा केही कमजोरीहरुले भूमिका खेल्दै आएका छन् । विकासका विभिन्न मोडलहरु हुन्छन् । ती मोडलहरुलाई आपसमा जोडेर लैजान सक्नुपर्छ । जुन अवधारणा इन्टिग्रेटेड प्लान अर्थात एकीकृत योजनामा आधारित हुन्छ । नेपालमा अहिले सम्म हामीले इन्टिग्रेटेड प्लान निर्माण गर्न सकेका छैनौं । खासगरी इन्टिग्रेटेड प्लानमा प्लानर (योजनाकार)ले योजना बनाउँछन् । र त्यस योजनामा सम्बन्धित सम्पूर्ण पक्षहरुलाई एकीकृत गर्ने प्रयत्न गरिन्छ ।

विकसित देशहरुले कुनै समस्या आएको खण्डमा ती समस्याबाट सिक्ने प्रयाश गरे । के कारणले समस्या आयो ? र समाधानका विधिहरु के–के हुन सक्छन् ? उत्तम विकल्प के हुन सक्छ ? भन्ने सम्बन्धमा प्रयोगमा आधारित रही ज्ञान हासिल गरे । साथै जे नतिजा प्राप्त गरे, त्यसलाई डकुमेन्टेसन गर्ने काम गरे 

नेपालमा योजना निर्माण प्रक्रिया

योजना निर्माण प्रक्रियागत रुपमा अघी बढ्नुपर्ने हुन्छ । योजना निर्माण गर्नुपूर्व आवश्यकता, औचित्यता र सम्भाव्यता अध्ययन गर्नुपर्ने विश्वव्यापी मान्यता छ । जसले योजना दीर्घकालिन रुपमा लाभदायक बन्न सकुन् । नेपालमा भने राजनीतिक दलको स्वार्थ, सामाजिक दबाब, न्यून अध्ययनको आधारमा नै योजनाहरु निर्माण गरिने प्रचलन छ । जसले विकास र योजना अन्तरगत समेटिनुपर्ने सम्पूर्ण पक्षहरुलाई सम्बोधन गर्न सक्दैन । यसको प्रभाव स्वरुप हामीले योजना-परियोजनाको लागि गरिएको बजेट विनियोजनबाट लिनुपर्ने उच्च लाभ हासिल गर्न गर्न सकेका छैनौं ।

अहिले विकासलाई गति दिन नसक्नुमा हाम्रो शिक्षा (विद्यालय एवं विश्वविद्यालय स्तरीय), राजनीतिक दल, नियमनकारी निकाय, प्रोफेसनल इन्ष्टिच्युसन लगायत सबै पक्षबाट जुन रुपमा भूमिका निर्वाह गरिनुपर्ने थियो, त्यसमा कतै न कतै कमजोरी भएको छ । शिक्षित प्राविधिक जनशक्तिले प्राविधिक रुपमा योजनालाई सफल बनाउने काममा अध्ययन तथा कार्यान्वयन दुवै तर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्छन् र गर्नुपर्छ । प्राविधिक रुपमा उपयुक्त नभएका योजनालाई कार्यान्वयनमा लैजानको लागि राजनीतिक दल तथा समुदाय कसैले पनि दबाब दिनुहुँदैन । जनताका चाहना र आवश्यकता अनुसारका योजना निर्माण गर्नुपर्छ । तथापि ती योजनाको लागत एवं औचित्यता सम्बन्धमा समेत हामी सचेत बन्नुपर्छ ।

गल्तीबाट सिकौं

अहिले जुन देशहरु विकसित देशको रुपमा चिनिन्छन्, कुनै समय ती देशहरु पनि नेपालको जस्तै अवस्थामा थिए, ती देशहरु कसरी माथि उठ्न सके ? नेपाल किन एउटै अवस्थाबाट दशकौं सम्म पनि बाहिर निस्किन सकेन ? भन्ने सम्बन्धमा अब हामीले वहस चलाउनु जरुरी छ । मेरो बुझाईमा विकसित देशहरुले कुनै समस्या आएको खण्डमा ती समस्याबाट सिक्ने प्रयाश गरे । के कारणले समस्या आयो ? र समाधानका विधिहरु के–के हुन सक्छन् ? उत्तम विकल्प के हुन सक्छ ? भन्ने सम्बन्धमा प्रयोगमा आधारित रही ज्ञान हासिल गरे । साथै जे नतिजा प्राप्त गरे, त्यसलाई डकुमेन्टेसन गर्ने काम गरे । हाम्रो नेपालमा पनि यस्ता काममा विश्वविद्यालय स्तरीय शैक्षिक संस्था र अनुसन्धानमूलक संस्थाहरुलाई संलग्न गराउनुपर्ने र त्यसको लागि रकम विनियोजन लगायतमा जुन रुपमा राज्य पक्षबाट सहजीकरण हुनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

अहिले सम्म पनि नेपालमा प्राविधिक हिसाबले विकास-योजना अघी बढाउने क्रममा सृजना भएका समस्याहरुको गहन अध्ययन गरेर बाहिर प्रतिवेदन प्रस्तुत गर्ने र कमीकमजोरीलाई सच्याउने प्रचलन कम छ । प्राविधिक हिसाबबाट हेर्दा हामीले राम्रो तवरले समस्यालाई फाइलबद्ध गर्न नसक्दा नयाँ जिम्मेवारीमा आउने व्यक्तिले उक्त परियोजनाबारे राम्रो ज्ञान-जानकारी-तथ्याङ्क प्राप्त गर्न सक्दैनन् । जसले गर्दा कमजोरी कहाँ थियो र कसरी सुधार गर्दै कसरी अघी बढाउने भन्नेमा समस्या सृजना हुने गरेको यथार्थ स्थितिलाई बुझ्न सकिन्छ ।

प्राविधिक अध्ययन अनिवार्य

नेपालमा योजना निर्माण सम्बन्धमा थुप्रै समस्याहरु रहँदै आएका छन् । प्राविधिक पक्षबाट अध्ययन गर्नुभन्दा पहिले नै योजना तय गर्ने प्रचलन राम्रो मान्न सकिँदैन । तैपनि परिस्थितिलाई विचार गर्दा यस प्रचलनलाई तत्काल हटाउन सक्ने स्थिति पनि नरहन सक्छ । यस्तो अवस्थामा परियोजना पहिचान जुन रुपमा गरिएपनि ती परियोजनालाई कार्यान्वयनमा लैजानुपूर्व भने प्राविधिक अध्ययन अवश्य गर्नुपर्छ । प्राविधिक जनशक्ति तथा कार्यान्वयन तहका व्यक्ति-निकायहरुले कसैको चाहनाको आधारमा तय गरिएका योजनालाई प्राविधिक पक्षबाट असफल ठहर भएको खण्डमा अघी नबढाउने संस्कार पनि विकास गर्नुपर्छ । जसबाट हाम्रो सम्भावित नोक्सानी धेरै हद सम्म घटाउन सकियोस् ।

सम्भावना क्षेत्रहरुमा कृषि, पर्यटन, जलविद्युत पर्दछन् । हामीले यी र अन्य क्षेत्रहरुमा समेत लगानीको वातावरण निर्माण गर्न, लगानी आकर्षित गर्न, उद्यमीहरुलाई प्रोत्साहित गर्नमा केही बाधा व्यवधान व्यहोर्दै आएका छौं ।

समयमा योजना सम्पन्न नहुँदा हुने नोक्सानी

कुनै पनि बढी महत्वका योजनालाई अघी बढाउने क्रममा एउटा योजना पूर्ण भएपश्चात् मात्र अर्को योजना अघी बढाउने परिपाटी विकास गर्नुपर्ने जरुरी छ । खासगरी ठूलो बजेट आवश्यक पर्ने योजनामा यस्तो अनिवार्य गरिनुपर्छ । आयमूलक योजनामा एउटा योजना सम्पन्न भएपछि अर्को शुरु गर्ने र शुरु गरिएका योजना बजेट अभावको कारण नअड्किने व्यवस्था गर्ने हो भने हामीले आँकलन गरेअनुसार अपेक्षित लाभ समेत पाउन सकिन्छ । अहिले हामीले एउटा योजना सफल नहुँदै अर्को पनि अघी बढाउँछौं । यसबाट हामीले समय अनुसार पाउनुपर्ने लाभको दर घट्न जान्छ । साथै आयोजना समयमा पूरा नहुने हुँदा हाम्रो लागत समेत बढ्न जान्छ । जसले पार्ने असरहरु बहुपक्षीय हुन्छन् । यसकारण काम शुरु भइसकेपछि त्यसलाई कुनै पनि सर्तमा नरोकि निरन्तर अघी बढाउने प्रयत्न जरुरी हुन्छ ।

नेपालका सम्भावना क्षेत्रहरु

नेपालको विकासको लागि केही क्षेत्रहरुलाई मुख्य सम्भावना क्षेत्रको रुपमा मानिँदै आइएको छ । यी मुख्य सम्भावना क्षेत्रहरुमा कृषि, पर्यटन, जलविद्युत पर्दछन् । हामीले यी र अन्य क्षेत्रहरुमा समेत लगानीको वातावरण निर्माण गर्न, लगानी आकर्षित गर्न, उद्यमीहरुलाई प्रोत्साहित गर्नमा केही बाधा व्यवधान व्यहोर्दै आएका छौं । हामीले सम्बन्धित सबै पक्षलाई लाभ पुग्ने गरी वातावरण निर्माण गर्न नसक्नु, नीतिगत बाधाअड्चन, राम्रो तवरले सरोकारवालाहरु बीच संवाद हुन नसक्नु लगायतका पक्ष पनि हाम्रो लगानी वातावरण सम्बन्धमा जिम्मेवार रहँदै आएका छन् । हामीले हाम्रो अवस्था सुधारको लागि अहिले जे उपलब्ध छ, त्यहीँबाट अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ । दिगो विकासको अवधारणाले स्रोतलाई नष्ट नगरी तत्कालिन र दीर्घकालिन लाभ लिनुपर्ने कुरालाई विशेष जोड दिन्छ । तथापि सबै स्रोत सधैंको लागि आवश्यक नहुन सक्छन् । अरवियन देशहरु एउटा समयमा आफूसँग उपलब्ध तेलको प्रयोग गरेर देशको आर्थिक अवस्था माथि उठाए । अहिले त्यहाँबाट आएको रकमलाई अन्य क्षेत्रमा समेत लगानी गरिरहेका छन् । जसले गर्दा उनीहरु औद्योगिक विकासमा समेत अघी बढे । सन् २०४५ मा प्रदूषण शून्यको योजना तय गरिएको छ । त्यसपश्चात्को समयमा उनीहरुसँग उपलब्ध स्रोत (तेल) उपयोगमा नआउन पनि सक्छ अथवा प्रयोग घट्न सक्छ । हामीले पनि स्रोत परिचालन सम्बन्धमा स्पष्ट योजना र रणनीति सहित अघी बढ्नु जरुरी छ, ताकि हाम्रो अवस्था माथि उठ्न सकोस् ।

दातृ निकायहरुको भूमिका

नेपालमा दातृ निकायहरुले लामो समय देखि सहयोग गर्दै आएका छन् । केही संस्थाहरुले यहाँको आर्थिक अवस्था कमजोर रहेको देखेर निःस्वार्थ सहयोग गरिरहेका छन् । कहिलेकाहीँ सहयोग उपलब्ध गराउने सहयोगीहरुको सहयोग निःस्वार्थ हुन सक्छ । तथापि जुन दातृ संस्थाले निरन्तर रुपमा सहयोग गर्दै आएका छन्, उनीहरुको सहयोगमा केही स्वार्थ हावी हुनु स्वभाविक पनि मान्न सकिन्छ । यस्तो स्वार्थको असर कताकता हाम्रो नीति एवं योजना निर्माणमा समेत पर्दै आएको अवस्था समेत छ । लागेको देखिएको छ । हामीसँग उपलब्ध स्रोतको परिचालन, उपलब्ध जनशक्ति उपयोग लगायतमा दातृ निकायको स्वार्थले केही न केही प्रभाव अवश्य पारेको छ ।

हाम्रो अवस्था

हामी प्राकृतिक रुपमा त सम्पन्न नै छौं । साधारण जीवनशैलि मात्रै बाँच्ने चाहना हुने हो भने हाम्रो लागि प्रकृतिले नै सबै थोक दिएको छ । तथापि विकासको लयमा नयाँ लक्ष्य सहित अघी बढ्नमा भने हामीले केही चुनौतीहरु अवश्य सामना गरिरहेका छौं । दातृ निकायहरुको सहयोगमा भएको स्वार्थ र हाम्रो कमजोर स्थितिको कारण अझै पनि हामीले विकासको लागि धेरै कामहरु गर्न सकेका छैनौं ।

अन्त्यमा
केही देशहरुले छोटो अवधिमा नै द्रुत गतिमा विकासको दिशामा फड्को मारेको स्थिति थियो र छ । तर नेपालको सन्दर्भमा कुरा गर्दा त्यसरी फड्को मार्न सक्ने स्थिति कमै रहने अनुमान गर्न सकिन्छ । हाम्रो विकास क्रमिक रुपमा विस्तारै अघी बढ्नेछ भन्न सकिएला । नेपालीहरुले अहिले पनि प्रत्यक्ष रुपमा श्रम नै बिक्री गरेर विदेशबाट रेमिट्यान्स भित्र्याइरहेका छौं । यस्तो अवस्थामा नेपाली युवाहरुलाई यहीँ काममा लगाउनको लागि पहल गर्नुपर्ने आवश्यकता छ । जसबाट यहीँ उपलब्ध स्रोतहरुको उच्चतम उपयोग हुन सकोस् । हामीले आफ्नै उत्पादकत्व बढाउन सकौं । आत्मनिर्भर बन्न सकौं । सबै नेपालीहरुलाई उद्यमशिल बन्नको लागि प्रेरित गर्न सकौं ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij