काठमाडौं । उमेरले ३१ वर्ष पुगेकी अभिनेत्री वर्षा राउतले विवाह गरेको सात वर्ष भयो । उनी धेरै वटा चलचित्र तथा म्युजिक भिडियोमा सन्तानको आमा बनिसकेकी छिन् । रिल जीवनमा पटक पटक आमा बनिसकेकी यी अभिनेत्रीलाई रियल जीवनमा आमा बन्ने हतारो छैन ।
हुनत उनलाई परिवारबाट पनि आमा बन्न दवाव नआएको हैन् । वर्षामात्र हैन, उनका पति एवम् अभिनेता संजोग कोईरालालाई पनि पिता कहिले बन्ने भनेर धेरैले बारम्बार जिज्ञासा राख्ने गर्छन । यस्तो जिज्ञासामा संजोग प्राय मौन रहेन गरेका छन् । तर अभिनेत्री वर्षाले भने अझै केही वर्ष आफुलाई आमा बन्न हतार नभएको बताएकी छिन् ।
आगामी ७ मँसिरमा देश तथा विदेशमा रिलिज हुने नेपाली चलचित्र तेल भिसा’मा वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्रमा उनले गर्भवती महिलाको भूमिका निभाईन् । चलचित्रको छायाँकनका क्रममा गर्भवती रुपमा पेट ठुलो देखाउने सामग्री (बेली) राखिएको थियो । चलचित्रको छायाँकनको क्रममा दिनभरी बेली बाँधेरे पेट ठुलो बनाउँदै बस्दा उनलाई निकै गाह्रो भएको थियो ।
मँगलबार बेलुका यो चलचित्रको गीत रिलिज कार्यक्रममा उनले गर्भवती चरित्रको अनुभव सुनाउने क्रममा भनिन्,‘दिनभरी पेटमा बेली राख्दै पेट ठुलो बनाएर बस्दा त मलाई निकै गाह्रो भयो भने ९ महिनासम्म अर्को शरीरलाई आफ्नो पेटमा राखेर हिँड्दा ती आमाहरुलाई कत्तिधेरै गाह्रो भयो होला । मलाई अहिले त्यो कुराको कल्पना गर्दा पनि पीडा भएर आउँछ ।’ त्यसैले सन्तानको आमा बन्नु चनचुने काम नभएको पनि यी अभिनेत्रीले जिकिर गरिन्,‘ती सबै आमाहरुलाई मेरो सलाम छ, जसले नौ महिनासम्म आफ्नो सन्तान गर्भमा राखेर जन्म दिए ।’
आफु आमा बन्नको लागि अझै पनि तयार नभएको यि अभिनेत्रीले बताएकी छिन्,‘ आमा बन्न अझै तयार भएकी छैन जस्तो मलाई लाग्दैछ । यसमा धेरैवटा कारणहरु छन् ।’ जसमध्य अहिले नौ महिनासम्म सन्तानलाई पेटमा बोक्न आफुमा सामथ्र्यता नभएको पनि उनले बताईन् ।
विवाहपछि पनि त्यत्तिकै व्यस्त रहेकी यी अभिनेत्री अहिले नै आमा बनेर आफ्नो व्यस्त अभिनय करिअरलाई तत्काल बिश्राम दिने पक्षमा छैनन् । आमा बनिसकेपछि चलचित्रमा फर्कन निकै गाह्रो हुने यी अभिनेत्रीको ठम्याई छ । त्यसैले अभिनेत्री वर्षा अझै केहीवर्ष आमा बन्ने योजना छैन भन्छिन् । जब आफुलाई अब भने आमा बन्दा हुन्छ भन्ने लाग्न थाल्छ, त्यसपछि मात्र आफु आमा बन्ने यी अभिनेत्री बताएकी छिन् ।
शंकर घिमिरेले निर्देशन गरेको चलचित्र तेल भिसाबाट आफुले आमाको जिम्मेवारी र पीडालाई राम्ररी महसुस गर्ने अबसर पाएको पनि यी अभिनेत्रीले बताएकी छिन् । अभिनेत्री ऋचा घिमिरे निर्मित यो चलचित्रमा विपिन कार्की उनको श्रीमानको भूमिकामा रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij