
काठमाडौँ । आज सोमबारे औंशी । नेपाली संस्कृति अनुसार यसदिन नबोली नुहाउनु पर्ने सांस्कृतिक मान्यता छ । मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने परम्परा चलिआएको छ।
औँसी तिथि र सोमबार एकै दिन परेको दिनमा सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई मौनी औसी पनि भनिन्छ
पौराणिक कालमा सुरु भएको विश्वास गरिने यो दिन कलि युगमा मोक्ष प्राप्त गर्ने दिनको रुपमा लिइन्छ ।
हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औंशी पर्दछ । तर सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहीं मात्र हुने गर्दछ। वर्षभरि एकचोटि या दुइचोटिसम्म सोमबारे औंशी पर्दछ ।
हिन्दु शास्त्र अनुसार औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ।
यसदिन सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो । सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजीमै समर्पित छ।
यो दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ।
सोमबार औँसी तिथि अपराह्न १ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि फाल्गुण शुक्ल प्रतिपदा आरम्भ हुने पञ्चांगमा उल्लेख छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij