
काठमाडौं । कर्मचारी सञ्चय कोष स्थापनाको ६२ औं बार्षिक साधारणसभा अर्थमन्त्री रामशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
बार्षिक साधारणसभाको अवसरमा धारणा राख्दै अर्थमन्त्री महतले कोषले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कोषले विभिन्न क्षेत्रमा लगानी समेत विस्तार गर्दै आइरहेको प्रति धन्यवाद व्यक्त गर्दै ऊहाँले कोषले प्रदान गर्ने प्रतिफल समेत निश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै कोषले सुरक्षित लगानीको लागि वातावरण तयार पार्नुपर्ने समेत बताउनुभयो । यस कोषले अन्य क्षेत्रहरुमा समेत लगानी विस्तार गर्दै जानु सकारात्मक पक्ष भएको उहाँको धारणा छ ।
अर्थमन्त्री महतले निजी क्षेत्रलाई पनि बिस्तारै सुरक्षित भविष्यको लागि योगदान गर्न सक्ने गरी नीतिगत पहल गर्दै लैजाने तर्फ आफूहरु लागिरहेको बताउनुभयो ।
कर्मचारी सञ्चय कोषबाट देशको विकास, रुपान्तरणमा ठूलो अपेक्षा गरेको गरेको समेत ऊहाँले बताउनुभयो । त्यस विश्वासलाई जोगाउँदै थप प्रगतिपथमा मुलुकलाई अघी बढाउनको लागि सुरक्षा समेत महत्वपूर्ण हुने बताउनुभएको छ ।
कर्मचारीको भविष्य प्रतिको सुरक्षामा आफूहरु गम्भीर रहेको ऊहाँले बताउनुभयो । साथै अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा रहेको हुनाले यस बर्ष तलब भत्ता एवं अतिरिक्त सुविधाहरु उपलब्ध गराउन नसकिने समेत बताउनुभयो । साथै यस बर्षलाई कर्मचारी एवं टे«ड युनियन लगायत सबैलाई अप्ठ्यारो स्थितिमा हातेमालो र सहयोग गर्नको लागि आग्रह गर्नुभयो । अर्थमन्त्रालय सदैव कर्मचारीहरुको हकहित एवं अनुमति र निर्देशन दिनको लागि सदैव सकारात्मक रहिरहने बताउनुभयो ।
देश पनि विस्तारित परिवार भएको बताउँदै ऊहाँले प्राथमिकताको आधारमा अहिले स्रोतसाधनको बाँडफाँट गर्नुपर्ने आवश्यकता रहेको ऊहाँले बताउनुभयो ।
यस बर्षको आर्थिक स्थितिको आधार गत बर्षको राष्ट्रिय आम्दानीमा निर्भर रहने र गत बर्षका समग्र सूचकहरु हेर्दा अर्थतन्त्र सकारात्मक लयमा नभएको, प्रयाप्त राष्ट्रिय आय उपलब्ध हुन नसकेको अवस्थामा अहिलेका अप्ठ्याराहरुलाई विचार गरेर सङ्कुचित बजेट निर्माण गर्नुपर्ने बाध्यता रहेको ऊहाँले बताउनुभयो ।
आगामी दिनमा अर्थतन्त्र विस्तारै लयमा फर्किने आशा ऊहाँले व्यक्त गर्नुभयो ।
मुलुकको समग्र अर्थतन्त्र बारे व्याख्या गर्दै ऊहाँले पर्यटन क्षेत्रको व्यवसाय फस्टाइरहेको,, वैदेशिक मुद्रा सञ्चिती अवस्था राम्रो रहेको, आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै गइरहेका आयात निर्यात अवस्थामा पनि बिस्तारै परिवर्तन आउने लगायत अवस्थालाई विचार गर्दा आम्दानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । अहिले राज्य कोषमा राजस्व घट्नुमा समग्र क्षेत्रहरु चलयमान हुन नसक्नु नै मुख्य कारण रहेको अर्थमा ऊहाँले आफ्नो विचार व्यक्त गर्नुभयो ।
अर्थतन्त्र चलायमान हुँदा देशको बजेटको आकार समेत वृद्धि हुने र लगानीलाई थप बिस्तार गर्दै रोजगारीका अलावा नयाँ सम्भावना क्षेत्रहरु समेत पहिचान गर्न सकिने ऊहाँले बताउनुभयो ।
अर्थतन्त्रको चक्रलाई चलायमान बनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्ने अर्थमन्त्री महतले आह्वान गर्नुभयो । साथै सरकारले बजेटमा धेरै सुधारका कार्यक्रमहरु अघी बढाएको समेत बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij