काठमाडौं, ४ बैशाखः गुगलले आफ्नो जेमिनाई एडभान्स्ड प्रयोगकर्ताहरूका लागि नयाँ भिडियो सिर्जना सेवा सार्वजनिक गरेको छ। बुधबारदेखि सुरु भएको यो सुविधामार्फत अब प्रयोगकर्ताले केवल टेक्स्ट लेखेरै भिडियो निर्माण गर्न सक्नेछन्।
गुगलले यस सेवा ‘Veo 2’ नामक भिडियो जेनेरेसन मोडेलमार्फत उपलब्ध गराएको हो। प्रयोगकर्ताले जेमिनाईमा आफूले चाहेको दृश्य विवरण लेखी भिडियो बनाउन सक्नेछन्। कम्पनीका अनुसार यो मोडेलले ७२० पिक्सेल रिजोलुसनमा ८ सेकेन्ड लामो भिडियो तयार गर्न सक्छ।
भिडियो बनाउने प्रक्रिया सजिलो छ – प्रयोगकर्ताले जेमिनाईमा रहेको मोडेल ड्रपडाउनबाट ‘Veo 2’ छानी, त्यसपछि मनपर्ने दृश्यबारे विस्तृत विवरण (प्राम्प्ट) लेख्न सक्नेछन्। विवरण जति स्पष्ट र विस्तृत हुन्छ, भिडियो उति नै सजीव र मनोनुकूल बन्ने बताइएको छ।
साथै, गुगल ल्याब्सले अर्को सुविधा ‘Whisk’ पनि प्रस्तुत गरेको छ। यो उपकरण प्रयोग गरेर फोटो र टेक्स्टको सहायतामा भिडियो तयार गर्न सकिन्छ। ‘Whisk’ सेवा हाल ६० भन्दा बढी देशहरूमा प्रयोगमा ल्याइएको छ।
सुरक्षा र पारदर्शिताका लागि गुगलले आफ्ना भिडियोहरूमा ‘SynthID’ नामक डिजिटल वाटरमार्क समेत राख्नेछ, जसले ती भिडियोहरू एआईबाट निर्माण गरिएको भन्ने प्रमाण दिन्छ। तर, यो सेवा सबैका लागि खुला भने छैन। गुगल वन एआई प्रिमियम सदस्यता लिएका प्रयोगकर्ताहरूले मात्र यी सुविधाहरू प्रयोग गर्न सक्नेछन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij