
रोजगारी गुमाएर स्वदेश फर्किएका जनशक्तिको उचित व्यवस्थापन र नयाँ रोजगारी सृजना गर्न सके देश समृद्धिको बाटोमा हिड्छ । अब हामीले रोजगारी सृजना हुने क्षेत्र पहिचान गरी आफ्नो श्रम र शक्ति यसका लगाउनु आवश्यक छ । यसो गर्नले बैद्धिक, सक्रिय र भिजन भएका युवा देशमै रहन्छन् र देशको आर्थिक उन्नतीका सारथी बन्नेछन् ।
कोरोनाको महामारी भोगिसकेका छौं कि हामीहरुकोे अबको हाम्रो बाटो भनेकै ग्रामिण क्षेत्र तथा कृषिको विकाशमा नै केन्द्र्रित हुनुपर्दो रहेछ । अब पनि हामीले निर्वाहमुखी कृषिमा मात्र आफुलाई निर्भर राख्नु भनेको मुर्खता हुनेछ ।
यसका लागि केन्द्रिय सरकारले स्थानिय सरकारसँग समन्वय गरी उचित निती नियम र विकाशको खाका बनाउनु आवश्यक छ । सरकारले असली कृषकको पहिचान, भूमि व्यवस्थापन र अनुदानको लागि सहि रुपमा कार्य योजना बनाउनु आवश्यक छ । जसले गर्दा साच्चीकै किसानले लाभ लिन सकोस् न कि बिचौलीयाहरुले ।
एकिकृत कृषि प्रणाली लागु गर्नुका साथै दुर्गम ग्रामीण भेगमा सामुहिक बसोबास र स्वास्थ्य, शिक्षा, रोजगारी, भौतिक विकाश, खानेपनीलगायतका शहरी क्षेत्रमा उपलब्ध हुने सुविधा गाँउसम्म पुर्याउन सकेमा बसाइसराईको क्रमलाई पनि हामीले रोक्न सक्छौं । गाँउ गाँउमा कुन बालीको उत्पादन राम्रो हुन्छ भनी अध्ययन गरी पकेट क्षेत्र छुट्टाएर पनि हामीले कृषि उपज उत्पादन गर्न सक्छौं । साथै उत्पादित कृषि उपजको बजारीकरणका लागि स्थानिय सरकारले पहल गरिदिनु पनि आवश्यक छ । यसरी कृषक र स्थानिय निकाय मिलेर ग्रामीण क्षेत्रमा कृषिलाई अगाडी बढाउने हो भने यसले रोजगारी त सृजना गर्छ नै युवाहरुमा कृषि प्रति रहेको नकारात्मक धारणा पनि परिवर्तन गर्नमा सहायक सिद्ध हुनेछ । यसको प्रत्यक्ष असर हाम्रो बैदेशिक रोजगारीमा जाने युवाहरुमा पर्ने छ र उनीहरु पनि देशमै आफ्नो पसिना बगाउँनेछन् ।
गा्रमीण तथा कृषि विकासका अवरोधहरु
हाम्रो देश ग्रामीण इलाकाले भरिएको देश हो । यहाँका धेरै मानिसहरु निर्वाहमुखी कृषिमा आश्रीत छन् । केहि बर्ष पहिले सम्म देशको कुल ग्रहस्त उत्पादनको ८० प्रतिशत कृषिमा निर्भर रहेको अवस्था थियो । तर अब त्यो परिस्थिती बदलीएको छ । अहिले देशको कुल जीडिपीको ३२ देखि ३३ प्रतिशत कृषिको योगदान रहेको छ भने कुल जनसंख्याको ६५ प्रतिशत मानिस कृषिमा आश्रित छन् । जनसंख्याको ठूलो हिस्सा कृषिमा संलग्न रहेता पनि हामीले बैज्ञानीक कृषि प्रणाली आत्मसाथ गर्न नसक्दा प्रत्यक बर्ष हाम्रो उत्पादनमा कमी आइरहेको छ । यसको उदाहरण हो हाम्रो खाद्य आयातको आंकडा । हामीले प्रत्यक बर्ष अर्बौ रुपैंयाले दाल चामल लगायतका कृषि उपज आयात गर्ने गर्दछौं । यसले के प्रस्ट संकेत गर्दछ भने हामी कृषि प्रधान मुलुक भएता पनि हामी कृषिमा आत्मनिर्भर हुन सकेको छैनौं ।
यसका लागि हामीले कृषिमा आधुनिकीकरण गर्न त जरुरी छ नै साथै उचित तालिमको व्यवस्था पनि गर्न जरुरी छ । उचित तालिम तथा ज्ञान भएको खण्डमा मात्र हामीले कृषि क्रान्ति गर्न सक्छौं । यसका लागि यो समय सहि पनि रहेको छ । धेरै युवाहरु अहिले कोरोना महामरीले गर्दा गाँउघर आएका छन् । हामीले उनीहरुलाई उचित तालिम र कृषि सम्बन्धि ज्ञान दिन सकेमा कृषि क्षेत्रले फड्को मार्ने कुरामा दुई मत छैन् । तर यसका लागि स्थनानिय निकायले त्यस क्षेत्रमा उत्पादन हुने कृषि उपजको पहिचान , सामुहिखेतीका लागि प्रेत्साहका साथै मल विउविजनमा सहुलियत दिनु आवश्यक छ । उत्पादित कृषि उपजको सहि मूल्यका साथै सहज बजारीकरणका लागि पनि स्थानिय निकायकोे पहल अनिवार्य छ । यसो गर्न सकेमा कृषिप्रति युवाको आकर्षण त बढ्छ नै यसले स्थानियबासीको आर्थिक अवस्था पनि सुदृढ पार्छ । स्थानिय उत्पादन र विक्रि वितरण बढेमा यसको प्रत्यक्ष फाइदा स्थानिय निकायले पनि पाउँन सक्छ । त्यसैले आफ्नो क्षेत्रको विकाशका लागि स्थानिय निकायले केन्द्रसँग मिली जनताको इच्छा र चाहना अनुरुपमा कार्यक्रम बनाउनु पर्दछ जसले दुबै पक्षलाई फाइदा पुर्याउँछ ।
ग्रामीण क्षेत्रको विकाशका लागि बाटो, पुल तथा खानेपानीको राम्रो विकाश हुनु जरुरी छ । ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि सामग्री बजार सम्म पुर्याउँन यातायातको सुविधा हुनु पर्दछ । त्यस्तै बाली तथा उपजका लागि सिँचाइको सुविधा पनि आवश्यक पर्दछ । हामीले यी सबै पाटोमा सुस्म अध्ययन गर्न सक्यौं भने ग्रामीण विकाश संभव छ र ग्रामीण क्षेत्र आर्थिक रुपले मजबुद हुनु नै राष्ट्र मजबुद हुनु हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij