
नेपाल उद्योग वाणिज्य महासंघका हाल उपाध्यक्ष रहेका दिनेश श्रेष्ठ चेम्बर आन्दोलनका खारिएका पात्र हुन् । उनी विगत झण्डै २ दशक देखि उद्योग वाणिज्य महासंघमा कार्यसमिति अन्तरगत विभिन्न भूमिकामा रहँदै निरन्तर अघी बढेका छन् । सेतोघर डट कमसँगको कुराकानीको क्रममा अबको आसन्न उद्योग वाणिज्य महासंघ निर्वाचनमा आफ्नो दावी वरिष्ठ उपाध्यक्ष पदको लागि नै रहने श्रेष्ठले खुलासा गरे ।
बाल्यावस्थाः
श्रेष्ठ काठमाडौंको इन्द्रचोकमा व्यावसायिक पृष्ठभूमिकै परिवारमा जन्मिएका व्यक्ति हुन् । अहिले नेपालका एक प्रतिष्ठित उद्योगीको पहिचान बनाएका श्रेष्ठको जन्म पश्चात्को स्वास्थ्य अवस्था निकै प्रतिकूल बन्न पुगेको थियो । माघको चिसोमा जन्मिएका उनले परिवारबाट स्याहारसुस्याहार पाउँदापाउँदै पनि सहज स्वास्थ्य पहुँचको अभावका कारण उनको स्वास्थ्य स्थिति चिन्ताजनक बन्न पुगेको थियो । परिवारका जेठा छोरा दिनेश श्रेष्ठ आफूलाई परिवारले झण्डै माया नै मार्नुपर्ने स्थितिमा पुगेको जानकारी आफू ठूलो भएपछि पाए । उनै श्रेष्ठ अहिले औद्योगिक व्यावसायिक क्षेत्रका एक कुशल नेताका रुपमा स्थापित छन् । सबैलाई उचित व्यवहार गर्न सक्ने र सबैको मनोभावना बुझ्न सक्ने श्रेष्ठ व्यावसायिक क्षेत्रका एक सफल योद्धा हुन् ।
व्यावसायिक संलग्नता
व्यावसायिक परिवारमा जन्मिएको कारण सानै देखि व्यवसायमा धेरैथोरै संलग्न रही व्यवसायलाई बुझ्न पाएका श्रेष्ठ आफैंले पूर्ण रुपमा वि.सं २०३६ देखि व्यवसाय सम्हाल्न थालेका हुन् । आयातबाट उनले व्यवसाय शुरु गरे । पहिलो पटक व्यवसायमा संलग्न हुने शुरुवाती चरणमा नै श्रेष्ठ चीनमा भएको एउटा क्यान्टम फेयरमा सहभागि हुन पुगे । त्यससँगै उनले विभिन्न वस्तुहरुको आयातको काम गरे । आयातमा सफलता प्राप्त गरेपछि निर्यातजन्य सामान उत्पादन तर्फ उनी आकर्षित भए । सोहीबमोजिम उनले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याए । २०४४ मा शैक्षिक सामाग्री उद्योग सञ्चालन गरे । त्यसपछिको केही समय उनी अटोमोबाइल व्यवसायमा पनि संलग्न भए ।
हालका व्यवसायहरु
हाल श्रेष्ठ हाते टुल्स, अफिस इक्विपमेन्ट तथा विभिन्न इक्विपमेन्टहरु नेपाली बजारमा उपलब्ध गराउने कार्यमा मुख्य रुपमा संलग्न छन् । हाल प्यासिफिक ग्रुपका मुख्य सञ्चालक छन् दिनेश श्रेष्ठ । उक्त प्यासिफिक ग्रुप अन्तरगत हाल कागजजन्य शैक्षिक सामाग्रीहरु उत्पादन गर्ने अशोका कार्वन एण्ड अलाइड कम्पनी, सार्प कर्पोरेसन, प्यासिफिक कमर्सियल, श्रेष्ठ इन्टरनेशनल टे«डिङ कन्सर्न लगायतका कम्पनीहरु सञ्चालनमा छन् । यसैगरी स्वास्थ्य शिक्षाको क्षेत्रमा केही पहल गर्नुपर्छ भन्ने मान्यताले सञ्चालनमा आएको नेपालगञ्ज मेडिकल कलेजको समेत उनी अध्यक्ष छन् । सबै गरी आफू संलग्न उद्योग व्यवसायमार्फत करिब २ हजार व्यक्तिहरुलाई रोजगारी सृजना हुन सकेकोमा श्रेष्ठ गौरवान्वित महसुस गर्छन् ।
व्यावसायिक उतारचढाव र चेम्बर आन्दोलन
दिनेश आफू सानो छँदा व्यवसायी र सरकारी निकाय बीच कहिलेकाहीँ विभिन्न विषयमा विवाद आउने गरेको र चेम्बर एवं उद्योग वाणिज्य महासंघले सहजीकरण गरिदिने गरेको जानकारी पाउँथे । त्यतिबेला चेम्बर र उद्योग वाणिज्य महासंघ लगायतका संस्थाको काम र आवश्यकता बारे दिनेश आफूले जान्ने इच्छा राख्थे । जुन जिज्ञासा उनी ठूलो हुँदै जाँदा मेटिँदै गए । साथै उनी आफूलाई पनि त्यस्तै संस्थाको नेतृत्व लिएर अन्य उद्योगी व्यवसायीको भलाईमा लाग्नुपर्छ भन्ने उनलाई त्यतिबेला देखि नै लाग्न थाल्यो । आफू शैक्षिक सामाग्री उत्पादनमा संलग्न हुने समयमा मसलन्द र शैक्षिक सामाग्री उत्पादन गर्ने उद्योगीहरुको पनि एकीकृत हुनुपर्ने गरी संस्था स्थापनाको आवश्यकता महसुस गरियो । त्यसबेलाका अग्रज जीवन कुमार मास्केले आफूहरुका समस्या सामुहिक रुपमा समाधान पहलको लागि एउटा संस्था आवश्यक रहेको प्रस्ताव गर्नुभएसँगै नेपाल मसलन्द उद्योग संघ स्थापना गरियो । उक्त संस्थाले शैक्षिक सामाग्रीहरु नेपालमा उत्पादन गर्न भन्सारको कारण आयात भन्दा महँगो पर्ने स्थितिलाई न्यूनीकरण गर्न प्रयाप्त भूमिका खेल्यो । हाल उक्त संस्थाको नाम नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ बनाइएको छ । दिनेश श्रेष्ठ त्यही संस्थामा क्रियाशिल बन्दै गए । अध्यक्षको रुपमा संस्थाको नेतृत्व गरे । सोही संस्थाले पनि नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघको रुपमा सदस्यता पायो । त्यससँगै दिनेशलाई उक्त संस्थाको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ तर्फको यात्रामा फड्को मार्न समेत सहयोग पुग्यो ।

उत्पादकत्व क्षमता अभिवृद्धि बारे श्रेष्ठको धारणा
‘नेपालमा अहिले उद्योग व्यवसाय सञ्चालन गर्नको लागि दक्ष कामदारको ठूलो अभाव छ । क्षमता अभिवृद्धिमा ध्यान दिन नसक्दा नेपाली कामदारहरुको उत्पादकत्व अहिले सम्म पनि न्यून नै छ । अहिले नेपाली युवाहरु नेपाली उद्योगहरुबाट विस्थापित हुँदै जानुको एउटा कारण यो पनि हो । जसरी नेपाली युवाहरुले विदेशी भूमिमा निकै राम्रो क्षमता प्रदर्शन गर्दै आइरहेका छन्, त्यसरी नै नेपालमा पनि काम गर्न सक्ने गरी उनीहरुको गुणात्मक क्षमता अभिवृद्धि गर्ने कार्य हाम्रो लागि ठूलो आवश्यकताको विषय बनेको छ । जबसम्म कामदारको उत्पादकत्व वृद्धि हुन सक्दैन, तबसम्म अन्य आयातित वस्तुसँग प्रतिष्पर्धामा जान सकिँदैन भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ’ श्रेष्ठको धारणा छ ।
उधारो असुलीको लागि बलियो कानुनी संयन्त्र आवश्यक
उद्योगी व्यवसायीहरुले थुप्रै समस्या सामना गर्दै आइरहेका छन् । त्यस मध्ये अहिले पनि समाधान हुन नसकेको एउटा समस्याको रुपमा उधारो कारोबार रहँदै आएको छ । ठूलो कारोबारमा बिना चेक कारोबार हुन सक्दैन । यसलाई समाधान गर्ने उद्धेश्यले सुरक्षित कारोबार ऐन ल्याइयो । उक्त ऐनले पनि उधारो कारोबार सम्बोधन गर्न सकेन । अहिले पनि नेपालमा उधारो कारोबार व्यवस्थित बन्न नसकेको परिवेशलाई विचार गर्दै यसको दिगो समाधान एउटा ठूलो आवश्यकता बनेको श्रेष्ठको धारणा छ । सुरक्षित कारोबार ऐनको उद्देश्य रकम असुलीलाई कानुनी रुपमा सहज बनाउने नै रहेको थियो । व्यक्तिसँगको कारोबारमा प्रयोग गरिने बिलबिजकलाई नै आपसी सम्झौता मान्नुपर्ने आवश्यकता छ । बैंक र वित्तीय संस्थाबाट लिएको कर्जा रकम असुली गर्न अहिले कडा व्यवस्था ल्याइए जसरी व्यक्तिसँगको कारोबारमा पनि एउटा बलियो संयन्त्रको आवश्यक रहेको कुरा व्यवसायीहरुले लामो समय देखि उठाउँदै आएको विषय हो ।
दोष सबै व्यवसायीलाई थुपारिने प्रवृत्तिः
नेपालमा अहिले अन्तर्राष्ट्रिय व्यापार गर्ने क्रममा नेपालबाट निर्यात भएका सामानको भुक्तानी प्राप्त नहुँदा र विदेशबाट राम्रो गुणस्तरको सामान प्राप्त गर्न नसकिँदा दुवै अवस्थामा दोष नेपाली व्यवसायीलाई नै दिइने प्रवृत्ति छ । यस किसिमको प्रावधान परिवर्तन हुनु जरुरी छ । विदेशमा यस्ता कुनै समस्या आए सरकार स्वयम्ले सहजीकरण गरिदिने स्थिति रहेको पाइन्छ । नेपालमा भने व्यवसायीलाई मात्रै गलत दृष्टिकोणले हेर्ने प्रवृत्ति छ । कुनै सामान्य कमजोरीमा पनि सामाजिक रुपमा प्रतिष्ठित उद्योगी व्यवसायीलाई अन्य विकल्प छँदाछँदै जेल सहितको कारबाहीको भागिदार बनाइने अवस्थाले व्यावसायिक क्षेत्रको मनोबल बढ्न सक्दैन । जसले गर्दा व्यावसायिक क्षेत्र राम्रो सँग फस्टाउन पनि सक्दैन । यस्तो स्थिति हाम्रो समृद्धिको बाधक बन्न जान्छ ।
मेरो दावी वरिष्ठ उपाध्यक्षकै लागि हो
‘म लामो समय देखि व्यावसायिक हकहितको लागि पूर्ण समर्पित भई काम गर्दै आएको व्यक्ति हुँ । म चेम्बर अभियानमा लागेको करिब ३० बर्ष भयो । महासंघको कार्यसमितिमै रहेर पनि विगत २० बर्ष देखि मैले काम गर्दै आएको छु । यति लामो सामाजिक यात्रामा अनवरत हिँडिरहँदा मैले जे सिकेँ, बुझेँ, अनुभव गरेँ, त्यो ज्ञान, भोगाई र अनुभवलाई अब व्यावसायिक हकहित र स्थायित्वको लागि समर्पण गर्न चाहन्छु । यसैकारण अबको आसन्न उद्योग वाणिज्य महासंघको निर्वाचनमा मेरो उम्मेदवारी वरिष्ठ उपाध्यक्ष पदकै लागि हुनेछ । यसपटक वरिष्ठ उपाध्यक्षमा हुने मेरो दावी स्वभाविक हो । सम्भव भएसम्म सर्वसम्मत रुपमा नै वरिष्ठ उपाध्यक्ष पद टुङ्ग्याउन हामी कार्यसमितिमा छलफल गर्नेछौं’ आफ्नो वरिष्ठ उपाध्यक्ष पदको दावी स्वभाविक रहने बताउँदै श्रेष्ठले भने ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij