
काठमाडाैं । नाडा अटोमोबाइल एसोसिएसनले ४६ औ साधारणसभामा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल सबैको लागि आवश्यक बन्दै गएको बताएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न नाडाको बार्षिकोत्सवमा प्रमुख अतिथिको रुपमा बोल्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलको उक्त कुरा बताएका हुन् ।
नाडाका अध्यक्ष ध्रुव थापा सभापति रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा अटोमोबाइललाई विलासिताको वस्तु मात्रै मान्दै आएको भन्नेमा जवाफ दिँदै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिले यातायातको लागि सवारीसाधन सबैको लागि आवश्यक बन्दै गएको बताएका छन् । पौडेलले आर्थिक समृद्धिको लागि अटोमोबाइल क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने र यस क्षेत्रमा व्यवसायीहरुबाट हुँदै आएको प्रयाश ठूलो उपलब्धिमूलक भन्दै अर्थमन्त्रीले व्यवसायीहरुको प्रशंसा समेत गरे । उनले विद्युतीय सवारीको उपभोग बढाउनुपर्ने र यसका लागि धेरै ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याईने बताए । स्तरीय प्रदर्शनीस्थल नभएको भन्ने व्यवसायीको प्रश्नको जवाफ दिँदै उनले एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको समेत स्मरण गराए ।

कार्यक्रममा धारणा राख्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई माथि उठाउन यातायात रहने पनि बताएका छन् । उनले अहिले अटोमोबाइल क्षेत्र विलासिता नभई आवश्यकता बन्न पुगेको औंल्याए । कुनै दिन मोबाइल फोनको प्रयोगलाई विलासिता मानिने उदाहरण दिँदै अहिले मोबाइल सबैैको अनिवार्य बने जसरी समयक्रम अनुसार एकपटकको विलासी वस्तु सधैंको विलासी नहुने धारणा व्यक्त गरे । साथै सवारीसाधनलाई विलासी भनिने गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् । उनले द्रुत गतिमा विद्युतिय सवारीको उपयोग बढ्नुपर्ने आवश्यकता औंल्याउँदै यसो हुन सकेको खण्डमा इन्धनमा आत्मनिर्भर हुन सकिने र इन्धनको लागि विदेशिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न सकिने समेत बताए । आफूहरु व्यवसायीका सुझाव सम्बोधन गर्न प्रयासरत रहने समेत पौडेले बताएका छन् ।
कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले ईतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताएका छन् । यस्तो स्थिति सृजना हुनुमा विभिन्न कारणहरु जिम्मेवार रहेको उनको धारणा छ । थापाले राज्यको बुझाईमा अझै पनि अटोमोबाइल क्षेत्र अनुत्पादक र विलासिताको क्षेत्र रहेको भएपनि पछिल्ला बर्षहरुमा नेपालमा नै एसेम्बलिङ कार्य समेत शुरुवात भएको र ब्याट्री लगायतका सामान उत्पादन यहीँ हुने गरेको र पार्टसहरु उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराए ।
राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुकहरु भारत र चीन हाम्रो लागि उत्पादित सामान वजारीकरणको लागि नयाँ बजार बन्न सक्ने समेत थापाले बताए । यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिनेमा समेत थापाले आश्वस्त बनाएका छन् ।
अध्यक्ष थापाका अनुसार अहिले अटोमोबाइल क्षेत्रमा झण्डै १ खर्ब बढी लगानी भइसकेको छ भने पारदर्शी रुपमा कर तिर्ने व्यवसाय समेत रहन पुगेको छ । अध्यक्ष थापाले नेपालमा औद्योगिक विकास र समृद्धिको लागि यातायातको भुमिका महत्त्वपूर्ण रहने समेत बताएका छन् । कृषि, पर्यटन, जलविद्युत लगायतका प्राथमिकता प्राप्त क्षेत्रको विकासका लागि पनि यातायात क्षेत्रको गुणात्मक विकास अपरिहार्य रहने थापाको बुझाई छ । थापाले भारत लगायतका ठूला मुलुकको बाह्य लगानी भित्र्याउनको लागि व्यवस्थित सेज स्थापनाको माग समेत गरेका छन् ।
नाडाले साधारणसभाको अवसर पारेर सडक र सुरक्षा क्षेत्रमा काम गर्ने ४ जना उत्कृष्ट ट्राफिक प्रहरीहरुलाई सम्मान समेत गरेको छ । सवारीसाधनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । हाल १ जना ट्राफिक प्रहरीले ५ सय भन्दा बढी सवारीसाधन व्यवस्थित गर्नुपर्ने अवस्था छ ।
एफएनसिसिआइका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सङ्कुचित हुँदै गएको बताउँदै यसबाट राजस्व खुम्चिने र रोजगारी घट्ने तर्क प्रस्तुत गरे । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा केही सकारात्मक रहेको उनको तर्क छ । साथै अहिलेका अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएको बताउँदै उनले भावी अर्थतन्त्रलाई बलियो बनाउनको लागि राज्यले पनि केही जोखिम लिन तयार हुनुपर्ने बताएका छन् ।

सोही कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नाडाका पूर्वअध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र एवं अटोमोबाइल क्षेत्रको भूमिकालाई बुझेर पनि समाधानको प्रयाश गर्न सरकार तयार नहुने स्थिति प्रति प्रश्न उठाएका छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र सँगसँगै मिलेर जान सकेको खण्डमा मात्र हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्ने बताए । अहिले सरकारलाइ धेरै निकायमा विभिन्न शिर्षकमा कर तिर्नुपर्ने स्थितिले व्यवसायीलाइ सास्ती भएकाे बताउँदै एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्नुपर्ने माग गरेे ।
अनुप बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा नाडाको ट्रेड डाइरेक्टरी समेत सार्वजनिक गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij