२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सर्टमा टाँक लगाउँने कामबाट मासिक सत्तरी हजार कमाइ

सर्टमा टाँक लगाउँने कामबाट मासिक सत्तरी हजार कमाइ

झापा, २३ पुसः सर्टमा टाँक लगाउँने काम गरेर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहुनभएको छ ।

दश वर्ष मलेसियामा बसेर फर्कनुभएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिनुभएको छ ।

उहाँले तीन वर्षअघि रु पाँच लाख लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गर्नुभएको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरुको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उहाँले बताउनुभयो ।

“सीप र पुँजी छभने मान्छे भोकले मर्दैन”, उहाँ भन्नुहुन्छ, “आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ ।” उहाँले पाँचलाई  रोजगारी प्रदान गरेको बताउनुभयो । हाल एउटै मेसिनबाट दिनरात काम गरिरहेको उहाँले बताउनुभयो । स्थानीय सरकारको सहयोग पाएमा आगामी दिनमा मेसिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने योजना बनाएको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण (रेमी) परियोजनामार्फत उहाँको उद्यमलाई प्रवर्द्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिनुभयो ।

नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सुरु गरिएको यो परियोजनाले विगत दुई वर्षदेखि मेचीनगर नगरपालिकालगायत कोशीका १० वटा स्थानीय तहमा काम गरिरहेको छ ।

  • रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij