२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

पशुपतिनाथमा मङ्गलबार धनुर्मास पूजा गरिने

पशुपतिनाथमा मङ्गलबार धनुर्मास पूजा गरिने

  • मंगलबार, पुष २३ २०८१
 काठमाडौँ, २२ पुसः सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजाआराधना गरिँदैछ ।
पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । परम्पराअनुसार मङ्गलबार रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।
धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत रहेको छ ।
यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।
– रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij