काठमाडौं । दसैँमा घर जाने यात्रुका लागि सरकारले आज शुक्रबारदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ। टिकट काट्नका लागि काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा यात्रुको भीड लागेको छ। यात्रुहरू बिहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन्।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार बिहीबार राति ९ बजेदेखि नै यात्रुहरू टिकट लिन लाइनमा बस्न थालेका हुन्।
उनका अनुसार बझाङ, बाजुरा र धनगढी जाने यात्रुहरू अग्रिम टिकट लिन बिहीबार रातिदेखि नै नयाँ बसपार्क पुगेका छन्।
दसैँमा घर जाने यात्रुको चापलाई व्यवस्थापन गर्न लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा थप १५ वटा टिकट काउन्टर सञ्चालनमा ल्याएको छ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
दसैँमा उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको संख्या बढ्ने भएकाले अग्रिम टिकट बुकिङले यात्रालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij