नेपालमा शिक्षा, स्वास्थ्य, उद्यमशिलता र सचेतना जागरणको क्षेत्रबाट समाज रुपान्तरण सम्भव हुन सक्छ भन्ने पृथक मान्यता लिएर हामीले ज्ञानसन्देश प्रकाशनको जमर्को गरेका हौं । सामाजिक रुपान्तरणको लागि सर्वप्रथम व्यक्ति आफैं सचेत, शिक्षित, जागरुक र अनुभवयुक्त हुनुपर्छ भन्ने हाम्रो ठम्याई छ । यसको लागि क्षमता अभिवृद्धिको भूमिका निकै महत्वपूर्ण हुन सक्छ भन्ने हाम्रो बुझाई छ ।
अहिले हामी जो जुन क्षेत्रमा रहेर काम गरिरहेका छौं, त्यसै क्षेत्रमार्फत आफूलाई उन्नत बनाउँदै निहित स्वार्थबाट माथि उठेर सामुहिक कल्याणको भावनाले काम गर्न सकेको खण्डमा समाज र राष्ट्रको लागि हामीले प्रयाप्त योगदान गर्न सक्छौं । त्यसको लागि सबैभन्दा पहिले आफैंलाई थप क्षमतावान् र परिष्कृत बनाउनु जरुरी छ ।
हामी मानव यस धर्तीमा अनन्त क्षमता लिएर पैदा भएका छौं । हाम्रा लागि २ किसिमका वास्तविकताहरु छन् । एउटा भनेको हामी अहिले जहाँ जुन स्वरुपमा छौं, यो Actual reality भयो भने अर्को हामी आफूलाई उच्चतम कुन उचाई सम्म उठाउन वा उठेको कल्पना र विश्वास गर्न सक्छौं, हामी आफूलाई त्यस Potential reality सम्म उठाउन सक्छौं । हामी भित्र अथाह ऊर्जाको भण्डार वा खानी छ, आज सम्म हामी त्यस भण्डारबारे अपरिचित रहिरह्यौं । त्यस अनन्त ऊर्जा बारे ज्ञान पाउन सकेको खण्डमा हामी आफूमा नाटकीय बदलाव ल्याउन सक्छौं ।
अहिले हामी अधिकांशमा यस किसिमको भाव सामान्यतया मृत अथवा निद्राको अवस्थामा छ । किनकि हाम्रो समाज, परिवार, वातावरण र शिक्षा प्रणाली लगायतका पक्षहरु समेत अहिले सम्म हामी भित्रको अथाह शक्ति बारे अनविज्ञ रहिरहे । जसले आफू भित्रको शक्ति वा क्षमता चिने, आफू माथि विश्वास गरे, उनीहरु आफूलाई महान उचाईमा उठाउन सके, अन्य व्यक्तिको लागि मार्गदर्शक बन्न पुगे । अब त्यो क्षमता पहिचान गर्ने पालो तपाईं हामीमा आएको छ । हामीले आफैंमा बदलाव ल्याउनु जरुरी छ । त्यसको लागि पहिलो प्रयत्नको रुपमा ‘ज्ञानसन्देश’ प्रकाशन शुभारम्भ भएको जानकारी गराउन चाहन्छु ।
हाम्रो उद्देश्य भनेको तपाईं हामी पूर्ण क्षमतामा बाँच्न र काम गर्न सकौं भन्ने हो । त्यसको लागि आफू पनि जागरुक बन्ने र अरुलाई पनि जागरुक बन्नको लागि मार्गदर्शन गर्ने हो । हामी मध्ये कोही आफ्नो क्षमता पहिचान गरेर पनि पूर्ण क्षमतामा काम गरिरहन नसकेको अवस्था हुन सक्छ । हामी आफूलाई सही लागेको र समाज एवं राष्ट्रको लागि लाभ हुने काम गर्न चाहेर पनि त्यो यात्रामा अघि बढ्न नसकिरहेको अवस्था हुन सक्छ ।
हामीले जुन बाधाअवरोधहरु र जराहरु, जसले हामीलाई अघि बढ्न दिईरहेका छैनन्, ती अवरोध र जराहरुलाई एक–एक गरेर काट्न सक्यौं र पुरानो गञ्तव्यको सट्टा नयाँ गञ्तव्य तय गर्न सक्यौं भने हामी अवश्य पनि नयाँ उचाईमा पुग्न सक्नेछौं ।
हामीले यदि आफूलाई साँच्ची महान् उपलब्धिको लागि योग्य ठान्छौं र यसमा विश्वस्त रहन्छौं भने हामीले नयाँ तवरले आफूलाई अगाडि बढाउनैपर्छ । हाम्रो विश्वास प्रणाली, हाम्रो दृष्टिकोण, अनुशासन, दृढनिश्चय, निर्णय क्षमता लगायतका योग्यता बिना हामीले चाहेको महान उपलब्धि हासिल हुनै सक्दैन । जब हामी दूरदृष्टि सहित अघी बढ्छौं, त्यस अवस्थामा हामी सफल हुनको लागि आफूलाई सदैव ऊर्जावान् एवं क्रियाशिल बनाईराख्न सक्दछौं । यसरी नियमित रुपमा स्वचुनौती सहित नयाँ लक्ष्य र गञ्तव्यमा अघी बढ्न सकेको खण्डमा मात्र साधारण व्यक्तिबाट असाधारण उचाईमा उठाउन सक्छौं ।
अहिलेको समयमा हामीलाई ऐतिहासिक अवसर प्राप्त भएको छ । किनकि सूचना र प्रविधिको विकासले गर्दा हामी हरेक व्यक्ति सम्म शक्तिको पहुँच पुगेको छ । अहिले हरेक व्यक्तिले सजिलै संगठन निर्माण गर्न सक्ने, आवश्यक सूचना संकलन र प्रशोधन गरी लाभ लिन सक्ने अवस्था बनेको छ । चाहे अनुसारका ज्ञान इन्टरनेटबाट सजिलै प्राप्त गर्न सकिने स्थिति बनेको छ ।
आफ्नो योजनालाई आर्थिक उपार्जनको माध्यम बनाउन सक्ने अवस्था सृजना भएको छ । जसले गर्दा हामी आफूले चाहेको उचाई सम्म उठ्न सक्ने स्थिति छ । बुझ्न र लिन चाहेको खण्डमा कुनै रहस्य पनि हाम्रो पहुँच भन्दा बाहिर छैनन् । जबकि यस्तो शक्ति कुनै बेला धनमा, कुनै बेला शस्त्र अस्त्र, कुनै बेला राज्य संयन्त्र त कुनै बेला ज्ञानमा रहेको मानिन्थ्यो । आफ्नो चाहनाअनुसार सूचना प्रशोधन, संशोधन, विष्लेषण गरेर लक्षित उपलब्धि हासिल गर्ने विशेष समयमा पनि हामी आफूलाई असक्षम ठान्नुपर्ने र आफ्नो क्षमतालाई खुम्च्याएर ग्लानिबोध अनुभव गर्ने स्थितिबाट माथि उठ्न सकौं भन्ने हाम्रो मुख्य ध्येय हो । साथै यसकारण हामी आफू भित्र रहेको विशेष क्षमता र योग्यतालाई बुझ्न सकौं । जीवनका आर्थिक अवस्था, सामाजिक प्रतिष्ठा, स्वास्थ्य, पारिवारिक सम्बन्ध लगायत हरेक आयाममा उन्नति गर्न सकौं ।
यसको लागि हरसमय आफूलाई सिक्न र क्षमता अभिवृद्धि गर्नमा केन्द्रित बनाईराखौं । औपचारिक शिक्षाको सीमित दायरा भन्दा माथि उठेर अनन्त खोजको लागि आफूलाई योग्य बनाउन सकौं । सबैको कल्याणलाई विचार गर्दै उन्नत समाज निर्माण निर्माणको लागि आफ्नो जीवनको उद्देश्य पहिचान गर्न सकौं ।
सेताेघर मिडियाकाे नयाँ प्रकाशन ज्ञानसन्देश द्वैमासिकमा प्रकाशित सम्पादकीय
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij