२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

भारतबाट थप  बिजुली आयात गरिने

भारतबाट थप  बिजुली आयात गरिने

काठमाडौं । भारत सरकारले थप ३५० मेगावाट बिजुली नेपाल निर्यात गर्न  अनुमति दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको विहार र उत्तर प्रदेशबाट थप ३५० बिजुली आयात गर्न अनुमति पाएको हो । यससँगै हिउँदयाममा बिजुलीको माग व्यवस्थापन गर्न सहज हुने भएको छ ।

प्राधिकरणले भारतसँग विहारबाट ४५० मेगावाट र उत्तरप्रदेशबाट १५० मेगावाट गरी कुल ६०० मेगावाट बिजुली आयात गर्न माग गरेको थियो । तर, भारतले ३५० मेगावाटका लागि मात्रै अनुमति दिएको छ ।

प्राधिकरणले १३२ केभी कटैया (भारत)-कुशवा (नेपाल), रक्सौल-परवानीपुर, र गण्डक (नेपाल)- रामनगर (भारत) प्रसारण लाइनबाट ३०० मेगावाट र मैनहिया (नेपाल)-सम्पतिया (न्यु नौतनवा, भारत) प्रसारणलाइनबाट ५० मेगावाट बिजुली आयत गर्न अनुमति पाएकाे हो ।

भारतले आगामी मार्च १५ सम्म दैनिक २० घण्टा बिजुली आयात गर्न अनुमति अनुमति दिएको हो । भारतले साँझ ५ बजेदेखि राति ९ बजेसम्म भने नेपाललाई बिजुली दिँदैन ।

भारतले यसअघि नै नेपाललाई ६५४ मेगावाट बिजुली आयातका लागि अनुमति दिएको थियो । थप ३५० मेगावाटसँगै अब नेपालले भारतबाट १ हजार ४ मेगावाट बिजुली आयात गर्न पाउने छ ।

नेपालले ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट ६०० मेगावाट, टनकपुरबाट ५४ मेगावाट, कटैया-कुशवा, रक्सौल-परवानीपुर र गण्डक–रामनगर प्रसारण लाइनबाट ३०० मेगावाट र मैनहिया-सम्पतियाबाट ५० मेगावाट बिजुली आयात गर्न अनुमति पाएको छ ।

भारतबाट थप बिजुली आयात गर्न पाइने भएसँगै माग व्यवस्थापन गर्न प्राधिकरणलाई सहज हुने प्राधिकरणले जनाएको छ । हिउँद लागेसँगै नदीहरुमा पानीको सतह घट्दा विद्युत् उत्पादनमा कमी आएको छ । जसकारण प्राधिकरणले अहिले औद्योगिक क्षेत्रमा केही घण्टा विद्युत् आपूर्ति कटौती गरिरहेको छ । वर्षायाममा नेपालमै उत्पादित बिजुलीले माग धान्ने भए पनि हिउँदमा भने नेपाललाई भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij