पृष्ठभूमिः
ई.केशव कुँवर विगत ४ दशक भन्दा लामो समय देखि इन्जिनियरिङ परामर्श सेवामा संलग्न रहँदै आउनुभएको छ । सन् १९७८ मा तत्कालिन शोभियत संघको युक्रेन प्रान्तको अडेशा शहरबाट सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङमा ज्यलयच सहित स्नातकोत्तर शिक्षा उत्तीर्ण गर्नु भएको हो । अहिले जस्तो निजी क्षेत्रको विकास नभइसकेको त्यस अवस्थामा सरकारी जागिरलाई नै निर्विकल्प सेवा क्षेत्र मानिन्थ्यो । सोहीकारण ३ महिना जति ऊहाँ सरकारी सेवा अन्तरगत सडक विभागमा संलग्न भएर काम गर्नुभयो । सडक विभागमा रहँदा तानसेन देखि तम्घास सम्मको सडक डिजाइनको जिम्मेवारीमा हुनुहुन्थ्यो कुँवर । सरकारी संस्थाहरुमा हुने गरेको सरुवा, बढुवा, अवैधानिक रुपमा छिटो र अधिक कमाई गर्ने लालचमय संस्कार लगायतका वास्तविकता बुझेपछि दिक्क भई अन्य कुनै विकल्प नसोची बडो कठिनाईपूर्वक प्राप्त गरेको जागिरबाट उहाँले ३ महिनामा नै राजिनामा दिनुभयो । राजिनामाको केही समय पछि कुँवरले एउटा सर्भेयर कम्पनीमा काम गर्नुभयो । त्यहाँबाट एउटा निर्माण कम्पनीसँग ऊहाँको सम्पर्क भयो र केही समय त्यहाँ काम गर्नुभयो ।
आफ्नै व्यवसायः
निर्माण कम्पनीमा काम गरेको अनुभवपछि कुँवर सिल्ट कन्सल्ट्यान्टस् प्रा.लि नामक इन्जिनियरिङ कन्सल्टिङ फर्ममा जोडिनुभयो ऊहाँ । उक्त कम्पनीमा ऊहाँ सन् १९८६ देखि संलग्न हुनुभएको हो । विगत ३ वर्ष पहिले सम्म ऊहाँले प्रबन्ध निर्देशकको भूमिकामा रहप् उक्त कम्पनी सञ्चालन गर्नुभयो । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्ममा ई.सं. २००४ देखि २००७ साल सम्म अध्यक्षको भूमिकामा रहँदा त्यस संस्थाको संस्थागत विकासमा ऊहाँले महत्वपूर्ण योगदान पुर्याउनुभयो । ऊहाँ रोटरी क्लब, मित्रकुञ्ज लगायतका विभिन्न सामाजिक संस्थाहरुमा पनि आवद्ध रहँदै आउनुभएको छ ।
कुँवरको बुझाईमा नेपाल र विकास
कुँवरले नेपाललाई राम्रो सम्भावनायुक्त देशको रुपमा बुझ्नुभएको छ । राजनीतिक दलहरुमा गहिरो इच्छाशक्तिको अभावमा नेपालले आर्थिक विकासको राम्रो गति लिन नसकेको हो भन्ने ऊहाँको ठम्याई छ । राजनीतिक नेतृत्वमा र सरकारी जागिरमा भएका व्यक्तिहरु सीमित र व्यक्तिगत स्वार्थमा अल्झिँदा मुलुक कमजोर बन्दै गएको हो भन्ने उहाँको बुझाई छ । नेपालका सम्भावनाहरुलाई वास्तविकतामा बदल्न नसकिएको हो ।देश भित्र नै उपलब्ध आन्तरिक सिप श्रोतसाधन र जनशक्तिको उच्चतम उपयोगबाट नेपाललाई १०–१५ बर्षमा विकासको दिशामा नयाँ उचाईमा फड्को मार्ने बनाउन सकिन्छ भन्ने कुँवरको धारणा छ । कृषि, पर्यटन, खनिज, जडिबुटी, जल, जङ्गल, जनशक्ति लगायत हाम्रा विकासका सम्भावना क्षेत्र भएपनि अस्थिर राजनीति, दीर्घकालिन सोचको अभाव, नैतिकताको खडेरी, स्वार्थ मानसिकता लगायतको कारण हाम्रो विकासले गति लिन नसकेको ऊहाँ बताउनुहुन्छ ।
नेपालको सम्भावना बारे कुँवरको धारणा
नेपाल प्राकृतिक रुपमा सुन्दर देश हो । विकासको लागि यहाँ थुप्रै सम्भावनाहरु छन् । यी सम्भावनाहरुलाई वास्तविक समृद्धिमा बदल्नको लागि आफ्नै जब सम्म देशमा उपलब्ध सिप श्रोत साधनहरुको उपयोग एवं मानवीय संशाधनको उचित व्यवस्थापन हुदैन, वाह्य आर्थिक सहयोगबाट कुनै पनि देशले विकास गर्न सक्दैन भनि कुँवर ठोकुवा गर्नुहुन्छ । त्यसको लागि सबै राजनीतिक दलहरु विकास, सुशासन र समृद्धिको लागि प्रतिबद्धता सहित दायित्व बोध गरेर एउटै साझा बिन्दुमा आउनुपर्छ । देशलाई २५ वर्षमा यो स्थानमा पुर्याउने भनि दिर्घकालिन योजना बनाएर कुनै पनि राजनितिक दल र सरकारले त्यसलाई टेकेर अगाडि नबढे सम्म देशको विकासको कल्पना नै नगरे हुन्छ । यहाँ हाम्रो देशमा त हरेक राजनितिक दल र सरकारले आफ्नै डम्फू मात्र बजाएर हिँडेको अवस्था छ । विकासको लागि साझा सहमति नै छैन । राजनीति नीति विधिको ट्रयाकबाट बाहिर जानुहुँदैन । अहिले पनि राजनीतिक दलहरु समय–समयमा साझा बिन्दुमा त आउँछन् र रातारात संविधान नै संशोधन गर्न समेत तयार हुन्छन् तर विकासको लागि नभई सीमित स्वार्थ पूरा गर्ने, अपराधीहरुलाई छुटकारा दिने लगायत कामको लागि मात्र । बढ्दो व्यापार घाटा, बढ्दो युवा पलायन, जनताको जीवनस्तर, औद्योगिक वातावरण निर्माण लगायतका कुराहरु कहिल्यै पनि प्राथमिकतामा पर्दैनन् । राजनीतिक नेतृत्वले सही तवरले मुलुकको विकासमा भूमिका खेल्नुपर्नेमा नेपालमा राजनीतिक दलहरुको भूमिका झनझन कमजोर बन्दै गइरहेको अवस्था छ । जुन दुखद छ ।
अबको आवश्यकता
हाम्रा आवश्यकताहरु के हुन् ? हाम्रा सम्भावनाका क्षेत्रहरु के हुन् ? हाम्रो गञ्तव्य के हो ? भन्ने कुरा ठम्याएर विकासको लागि सबै राजनीतिक दलहरु एकै ठाऊँमा उभिएर प्रतिबद्धता नलिने हो भने नेपालको विकास अवस्था अझ कमजोर बन्दै जानेछ ।
नेपाल एउटा प्राकृतिक म्यूजीयम नै हो । करिब २५० किलोमिटर चौडाइ भएको यो देशमा त्चयउष्अब िदेखि त्गलमचब सम्मको हावापानी भएकोले विश्वका जुनसुकै हावापानीमा उत्पादन हुने कृषिजन्य उत्पादनहरु हामीकहाँ उत्पादन गर्न सकिन्छ । जल, जङ्गल, जडिबुटी, खानी खनिज, पर्यटन, जलविद्युत लगायतका थुप्रै श्रोत साधनहरु यहाँ उपलब्ध छन् । यी सम्भावना क्षेत्रहरुको बारेमा अध्ययन नै हुन नसकेको स्थिति पनि होइन । सरकारी पक्ष एवं अन्य निजी अनुसन्धानमूलक संस्था- गैरसरकारी संस्थाहरुले यहाँका सम्भावना सम्बन्धमा निकै धेरै अध्ययन गरी प्रतिवेदन सम्बन्धित निकायहरुमा प्रस्तुत गर्दै आएको अवस्था समेत छ । अध्ययन भएबमोजिम ती रिपोर्टहरु कार्यान्वयनमा ल्याउन सकिएको छैन । प्रतिवेदनले ठम्याए बमोजिमका सुझावहरु सहित कार्यान्वयनका क्रममा आउन सक्ने बाधा अवरोध साधारण मान्न सकिने भएपनि सम्भावनाको ठूलो ढोका खोल्ने अध्ययन प्रतिवेदनहरुको कार्यान्वयनको लागि पहल नै नगरिनु सबैभन्दा चिन्ताको विषय बनेको छ । त्यस्तै नेपालमा जडिबुटीको राम्रो सम्भावना छ । डावर नेपालले बार्षिक रुपमा जडिबुटीजन्य वस्तुहरुमार्फत अर्बौं कमाइ गरिरहेको छ । त्यस्तै जलश्रोतको विकास, निर्यात र खनिज पदार्थको उत्खनन को बारेमा त यहाँ मैले लामो ब्याख्या गर्नु पर्ने जरुरत नै छैन । तैपनि सरकार नीतिगत सहजीकरणमार्फत दिगो र उच्चतम लाभ कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा कुनै चासो नै राख्दैन । मुहानलाई नष्ट नगरी तत्कालिन र दीर्घकालिन दुवै आवश्यकता पूरा गर्न सकिने नीति हाम्रो आवश्यकताको विषय बनेको छ ।
सम्भावना क्षेत्रहरुबारे जानकार छन् दलहरु
नेपालका राजनीतिक दलहरुले हाम्रा उपलब्ध श्रोत साधनहरुको बारेमा जानकारी पाउन नसकेको कारण मुलुक विकास हुन नसकेको होइन । यहाँका जनताका आवश्यकतासँग सबै राजनीतिक दलहरु परिचित छन् । हाम्रा उपलब्ध श्रोत साधन र सम्भावना सम्बन्धमा पनि नेपालका सबै राजनीतिक दलहरु जानकार नै छन् । तथापि सुशासनको दायरालाई मिचेर कुर्चि र पैसाको लागि आफू शक्तिमा भएको बेला जे गरेपनि हुन्छ भन्ने मानसिकताले सिमा नाघ्दै गएको छ ।
आत्मानुशासनको दायरालाई ख्याल गर्न नसक्दा नेपालका केही सीमित व्यक्तिहरुको स्वार्थपुर्ति त भएको छ, समग्रमा यसले हाम्रो मुलुकको दिगो भविष्य भने ठूलो चिन्ताको विषय बनिरहेको छ ।
पछिल्लो निर्वाचनबाट नेपाली जनताहरुले मुलधारका राजनीतिक दलहरुलाई बेवास्ता गरेर वैकल्पिक शक्तिको रुपमा स्थापना भएका नयाँ राजनीतिक दलहरुलाई जनमत प्रदान गरेको जुन स्थिति छ, यसले मुख्य दलहरुलाई कतै हामीले बाटो पो बिरायौं कि ? अब हामी सही ट्रयाकमा नै आउनुपर्ने आवश्यकता जनताले महसुस गरिसकेका हुन् कि ? भनेर समिक्षा र आत्मालोचना गर्नुपर्ने स्थिति बनेको छ । साथै दलहरुलाई सच्चिनको लागि मौका समेत मिलेको छ ।
परामर्श क्षेत्रमा सुधार आवश्यक छ
प्राविधिक परामर्श सेवा भनेको कुनै पनि देशको र क्षेत्रको विकासको मूलद्वार नै हो । परामर्श सेवा र निर्माण उद्योगको विकाश नै कुनै पनि देशको विकासको सुचक भनिन्छ । त्यसैले विकसित मुलुकहरुमा इन्जिनियरिङ परामर्श क्षेत्रलाई बलियो र प्रतिष्ठित बनाइएको छ । नेपालमा भने यस क्षेत्रलाई राजनीतिक दल, उच्च पदस्थ कर्मचारी एवं स्वार्थ समूहले आफ्नो स्वार्थपुर्तिको प्रयोग गरिरहेको स्थिति छ । परामर्शदाताले जुन गहिराईमा अध्ययन अनुसन्धानमा आधारित रहेर प्रतिवेदन तयार गर्नुपर्ने हो, नेपालमा त्यति गहिराईमा पुगेर अध्ययन गर्ने प्रचलन समेत कमजोर बन्दै गएको छ । विकसित देशहरुमा इन्जिनियरिङ फर्महरु केही दर्जनको हाराहारीमा मात्र छन् । विकसित देशहरु धेरै कन्सल्टिङ फर्म सञ्चालन गरेको कारण विकसित भएका होइनन् । नेपालमा भने मौका (दाउ) छोप्ने उद्धेश्यले दर्ता गरिएका फर्मको कारण नेपालमा राम्रो तवरले काम गर्ने फर्महरुलाई निकै गाह्रो छ । काम लिनको लागि अनेकौं अनैतिक तवरले गर्नुपर्ने साँठगाँठले परामर्श क्षेत्रको गुणात्मक पक्षलाई कमजोर बनाउने हुँदा समग्र क्षेत्रलाई नै बदनाम बनाउने स्थिति समेत सृजना भईराखेको छ ।
नैतिक दायरामा रहेर काम गर्नुपर्छ
हरेक व्यक्ति आफ्नो कार्यगत रुपमा नैतिक दायरामा रहेर काम गर्ने हो भने धेरैजसो समस्याहरुलाई स्वतः सुधार्न सकिन्छ । काम गर्ने क्रममा सृजना हुने प्रक्रियागत त्रुटिहरुको तुलनामा नियतवश गरिने त्रुटि अक्षम्य हुने गर्छ । सबैलाई त्रुटि भएको थाहा हुँदाहुँदै पनि आपसमा मिलेर ढाकछोप गर्ने प्रवृत्तले भ्रष्टाचार र अनियमिततालाई अझ बढी प्रोत्साहित गरिरहेको छ ।
अन्त्यमा,
हाम्रो देशले सम्भावना भएर पनि विकासमा केन्द्रित हुन नसकेको देखेर विदेशी मुलुकहरु पनि चिन्तित छन् । नेपालको विकासको लागि विदेशीहरु सहयोग गर्न तयार पनि छन् । यद्यपि हामी हाम्रो विकासमा सीमित व्यक्तिगत स्वार्थ त्यागेर क्षेत्रगत अल्पकालिन र दीर्घकालिन योजना सहित विकासमा लाग्न नसक्दा हाम्रो अवस्था अधोगतितर्फ धकेलिँदै गएको छ । साँच्ची विकासमा केन्द्रित हुन चाहने हो भने हामीलाई सहयोग गर्न विश्व जगत तयार नै छ । सर्त यो छ कि हामी हाम्रो विकासमा इमान्दार चाहिँ हुनै पर्छ । अर्थात्, हाम्रो प्रतिबद्ध नेतृत्वको अभावकै कारण हामीले राम्रो तवरले मुलुकको विकास गर्न नसकेका हौँ ।
यहाँका सबै नेता एवं कर्मचारी खराब छैनन् । तथापि ती व्यक्तिहरु गलत नेतृत्वको कारण ओझेलमा परेका छन् । राम्रो गर्नेलाई प्रोत्साहित गर्ने संस्कार विकास नहुँदा राज्यलाई सही दिशा निर्देश गर्ने चाहना भएका व्यक्तिहरु समेत निष्क्रिय र निरुत्साहित बन्ने स्थिति छ । यसकारण हामीले राम्रो गर्नेलाई पुरष्कार र नराम्रो गर्नेलाई दण्ड जरिवानाको निष्पक्ष व्यवस्था अनिवार्य गर्नुपर्छ । यस्तो व्यवस्था स्थापित हुने हो र मुलुक विधिको शासनमा चल्ने हो भने नेपाललाई अवश्य पनि विकासको गतिमा अघी बढाउन धेरै समय खर्चिनुपर्ने छैन । यहाँका सम्भावना क्षेत्र र हाम्रो दक्षताको राम्रो तवरले तालमेल मिलाउन सक्ने व्यवस्थापन क्षमता भएका व्यक्तिले राष्ट्रसेवामा समर्पित भएर नेतृत्व गर्ने हो भने नेपाललाई १०–१५ बर्षमा नै नयाँ उचाईमा पुर्याउन सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij