जलेश्वर (महोत्तरी) । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सुरु भएको हो ।
धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् ।
श्री जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा सोमबार ‘ओगठन’ (दरखाने), आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण (समापन) विधि गरिन्छ ।
तिथिअनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहा खा विधि सम्पन्न भई आज भोलि दिनभरि उपवास बसेर बुधबार साँझ व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिए ।
व्रत बस्नुअघि सोमबार महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्यपदार्थ) र पिना प्रसादका रुपमा चढाएर परिवारका सबै सदस्यलाई खुवाएर आफूले खाएका उनले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij