२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

आज हरितालिका तीज

आज हरितालिका तीज

Women light incense during Haritalika Teej festival celebrations at Pashupatinath ,Katmandu, on Wednesday, September 16, 2015. Women celebrate the festival by fasting, singing, dancing and offering prayers to Lord Shiva.Photo : Dinesh Gole / Nagarik / Republica /

काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज श्रद्धाभक्तिपूर्वक मनाइँदै छ । तीजको अवसरमा आराध्यदेव पशुपतिनाथ दर्शनका लागि भक्तजनहरूको बाक्लो भिड लाग्ने गर्छ । यसका लागि पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको व्यवस्थापनको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । तीजको अवसरमा ४ वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको तीज पर्वको अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन ४ वटा लाइनको व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ । यो लामबाट छिरेका भक्तजन पूर्वी ढोकाबाट बाहिरिनेछन् । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बाग्मती नदीमाथिका दुइटा पुल पार गरेपछिको मध्यक्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

यस्तै, दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शंकराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअगाडिको भागमा राखिनेछ ।

चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअगाडिको खुला भागमा राखिनेछ । बाहिर ४ वटा लाम भए पनि मूल मन्दिरभित्र प्रवेश गरेपछि प्रत्येक ढोकाबाट प्रवेश गर्नका लागि २ देखि ३ वटासम्म लामको व्यवस्था गरिएको छ ।

पशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाका बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । पशुपतिनाथको दर्शन गरेर फर्कंदा पशुपति मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिमहाका बाहिर सानो सदावतं सत्तलअगाडि साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयवागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइएको जनाइएको छ ।

तीजको अवसरमा आज शुक्रबार बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला हुनेछन् । संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीका अनुसार बिहानैदेखि भक्तजनलाई सहज रूपमा दर्शन गराउने व्यवस्थापन मिलाइएको छ । तीजको अवसरमा मूल मन्दिर क्षेत्रभित्र महिला प्रहरीमात्र खटाउने गरी व्यवस्था मिलाइएको छ । त्यसका लागि ६०० महिला प्रहरी खटाइएको छ ।पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी सामग्री मेटाइने कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि तस्बिर एवं भिडियो खिच्न मनाही छ ।

पछिल्लो समय सबैको हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि पशुपति क्षेत्रमा समस्या हुने गरेको भन्दै कोषाध्यक्ष सुवेदीले यसको निगरानी कडाइका साथ गरिने बताए । सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले कडाइ गर्न लागेको उनको भनाइ छ ।

कोषले विगत वर्षदेखि गर्भगृहको तस्बिर खिचेमा २ हजार १००, मुख्य मन्दिरको तस्बिर खिचेमा १ हजार १०० र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० रुपैयाँ जरिमाना गर्न सुरु गरेको छ । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे÷नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको कोषाध्यक्ष सुवेदीले जानकारी दिए ।

कोषले तीजको अवसरमा शुक्रबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने जनाएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ । वृद्धवृद्धा एवं बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रूपमा दर्शन गरेर फर्किने व्यवस्था मिलाइएको छ ।

यसैबीच, कोषले तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरूलाई महँगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ । भिडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन आग्रह गरेको पशुपति विकास कोषका प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij