नेपालमा २०५२ मा माओवादीले सशस्त्र जनयुद्ध शुरुवात गर्यो । जनयुद्ध शुरु हुने समयमा मनमोहन अधिकारीको लोकप्रिय सरकार चलिरहेको थियो । त्यो जनयुद्ध पश्चात् तत्कालका बलिया राजनीतिक शक्तिहरु नेकपा (एमाले) र नेपाली काङ्ग्रेसमा विवाद शुरु भई विभाजनको अवस्था सृजना भयो । बिस्तारै जनताहरुमा एमाले र माओवादी प्रति वितृष्णा पैदा हुँदै गयो । नेपाली जनताहरु माओवादीका नयाँ कार्यक्रमबाट आकर्षित भए । जनयुद्ध शुरु हुने बेला नेपालको अर्थतन्त्र समग्रमा बलियो बन्दै गइरहेको थियो । माओवादीको सशस्त्र जनयुद्धले नेपालको जनधनमा ठूलो क्षति पुर्यायो । समग्रमा भन्नुपर्दा नेपालमा त्यतिबेला सशस्त्र जनयुद्ध नभएको भए यहाँको अर्थतन्त्र धेरै बलियो बन्ने थियो । हाम्रो अर्थतन्त्रको त्यसबेलाको लय हेर्ने हो भने भारत र बङ्गलादेशको अवस्था सम्म हामी अहिलेको अवस्थामा अवश्य पुग्न सक्ने थियौं । तर आर्थिक विकास दर सकारात्मक बन्दै गइरहेकै बेलामा हामी चरम द्वन्द्वबाट पिल्सियौं । जसले गर्दा हाम्रो अर्थतन्त्र सदैव कमजोर–कमजोर अवस्थामा नै रहँदै आयो । हामीले समयमा संविधान निर्माण गर्न पनि सकेनौं । एमाले र माओवादी बीच पाटी एकता एवं विभाजन । अन्य प्राकृतिक एवं दैवी विपद्हरु पनि हामीले सामना गर्यौं । जसबाट नेपाली जनताहरुमा ठूलो नैराश्यताको अवस्था सृजना भयो । यस्ता विभिन्न अवस्थाहरुलाई विचार गरेर नै अहिलेको नेकपा (एमाले) र नेपाली काङ्ग्रेसको सरकार निर्माणको आधार तयार भएको हो । मुलुकमा जहिले–जहिले सङ्कट सृजना हुन्छ, त्यस–त्यस बेला एमाले र काङ्ग्रेसले सहकार्य गरेर मुलुकलाई निकाशा दिएकै अवस्था छ । विगतबाट हेर्ने हो भने २०४५–४६, २०६२–६३, संविधान निर्माणको समय र अहिलेको अवस्थालाई त्यही रुपमा बुझ्न सकिन्छ । यसकारण अहिले बनेको नेपाली काङ्ग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार निराशामा रहेका नेपाली जनतामा आशा भर्न र मुलुकलाई बलियो अर्थतन्त्रतर्फ डोहोर्याउनको लागि बनेको विशेष परिस्थिति हो भनेर भन्न सकिन्छ । युवामा बढेको व्यापक निराशा, उपभोगमुखी सोच, वेरोजगारी लगायतका समस्या समाधानको लागि अहिलेको सरकारबाट केही पहल हुनेमा नेपाली जनताहरु विश्वस्त छन् ।
विगतमा ११ प्रतिशत जनमत प्राप्त गरेको नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गरेको र आफ्नो अनुकुल हुने गरी अलग–अलग दलसँग बहुमत पुर्याउनको लागि गर्ने सत्ता सहकार्यबाट नेपाली जनताहरुमा ठूलो निराशा पैदा भएको थियो । स्रोतसाधनहरुलाई समेत सीमित स्वार्थको लागि उपयोग गरिरहेको अवस्था थियो । अहिले बनेको काङ्ग्रेस र एमालेको सरकारले लामो समय निरन्तरता पाउन सकेको खण्डमा मुलुकको अर्थतन्त्र एवं समग्र अवस्थाले अवश्य पनि नयाँ गति लिनेछ भन्नेमा हामी आशावादी हुन सक्ने प्रयाप्त ठाउँहरु छन् ।
यस भन्दा पहिलेको सरकारको नेतृत्वमा रहेको मुख्य दलले कहिल्यै पनि स्थिर सरकार बनाउन सकेन । जसले गर्दा जनताहरुमा सरकारलाई भित्रबाट विश्वास गर्न सक्ने अवस्था सृजना हुन सकेन । लामो समय निराशामा रहेका जनताहरुमा नेपालका २ ठूला दलहरु मिलेर सरकार बनाएसँगै नयाँ आशा जागृत भएको छ । नेपाली जनतामा पलाएको आशा र विश्वासलाई सरकार परिवर्तनको खबरसँगै बढ्न शुरु गरेको र निरन्तर वृद्धि भइरहेको शेयर बजारले समेत प्रतिबिम्बित गरिरहेको छ ।
अर्थतन्त्रको अहिलेको अवस्था
अहिलेको अवस्थामा नेपालमा आयात तुलनात्मक रुपमा घट्दो दरमा रहेको तथ्याङ्कहरुले देखाउँछन् । भुक्तानी सन्तुलनको अवस्था पनि राम्रो छ । अर्थतन्त्रका विभिन्न सूचकहरुमा सुधार हुने क्रम जारी छ । बैंकहरुले प्रस्तुत गर्ने वासलात विवरणमा पनि अघिल्लो बर्षको तुलनामा रिपोर्टहरु राम्रो नै आइरहेको अवस्था छ । समग्रमा हेर्दा नेपालको अर्थतन्त्र सुधार हुने क्रममा छ ।
अहिलेको अर्थतन्त्रमा आयातको हिस्सा ठूलो छ । पछिल्ला बर्षमा अलि बढी नै घटेको छ । एकैपटकमा आयात ह्वात्तै घट्दा पनि त्यसले हामीलाई असर पार्दो रहेछ । यो अवस्था पनि हामीले सामना गर्यौं । किनकि आयात घट्दा राजस्व पनि घट्न पुग्यो । अब आयात अलि बढ्ने छ भन्ने मलाई लाग्छ । हाम्रो विप्रेषण आप्रवाह राम्रै छ । शेयर बजार पनि बढ्दै त छ । तर हामीले अर्थतन्त्रलाई सही अर्थमा चलायमान बनाउनको लागि दोस्रो बजारलाई भन्दा बढी महत्व वास्तविक प्राथमिक बजारलाई नै दिनुपर्छ भन्ने मलाई लाग्छ । किनकि दोस्रो शेयर बजारले तत्काल ठूलो रोजगारी सृजना गर्दैन । यो बजार केही जोखिमयुक्त समेत छ । साथै शेयरबाट लाभान्वित हुने समुदाय अत्यन्तै न्यून रहन्छन् । तथापि शेयरबजार आर्थिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको मनोविज्ञानको ऐनाको रुपमा रहने भएको हुनाले उद्योगी व्यवसायीहरुमा नयाँ सरकारले आशा जगाउने काम अवश्य भएको छ भन्न सकिन्छ ।
शेयरबजार पुँजी संकलनको लागि राम्रो माध्यम हो । यद्यपि पुँजीबजारबाट संकलन हुने पुँजीलाई दीर्घकालको लागि बढाउनुपर्ने जरुरी रहन्छ । यसको लागि प्रशासनिक सहजीकरण निकै महत्वपूर्ण रहन्छ । अहिलेको झण्झटिलो व्यवस्थाबाट सेवाग्राहीहरुले राम्रो लाभ लिन नसक्ने अवस्था छ । मुलुकलाई उत्पादन बढाउनको लागि धेरै पक्षमा सुधार आवश्यक छ ।
अहिलेका समस्याहरु
अहिलेको अर्थतन्त्र एवं राजनीतिमा केही संरचनागत समस्याहरु रहँदै आएका छन् । ती समस्याहरुलाई सुधार गर्नको लागि अहिलेका २ ठूला दलहरु मिलेर बनेको सरकारले धेरै काम गर्न सक्ने अवस्था छ । अहिलेको सरकारले सबैभन्दा ठूलो कुरा त नेपालमा अझै पनि अवसरहरु छन् भनेर आशा जगाउनुपर्ने आवश्यकता नै छ । हामीले सरकारी कर्मचारी भर्ना गर्ने सम्बन्धमा रहँदै आएका जटिलताहरु पनि हामीले चिर्दै जानुपर्ने अवस्था छ । नेपालमा ठूलो मात्रामा रोजगारी सृजना गर्नको लागि कुन–कुन क्षेत्रहरु हुन सक्छन् भन्ने सम्बन्धमा अध्ययन गरेर काम गर्नुपर्ने जरुरी छ । त्यसको आधारमा रिपोर्ट निकाल्ने र युवाहरुलाई आशा जगाईदिने, सीप विकासको लागि विशेष कार्यक्रमहरु ल्याउने, कृषिमा युवा आकर्षणका लागि नीतिगत सहजीकरण एवं पूर्वाधार निर्माण लगायतका कामहरु गर्नुपर्ने आवश्यकता समेत छ ।
अहिले नेपालमा कृषिमा उत्पादनसँगै बजारीकरण समेत ठूलो समस्याको रुपमा रहँदै आएको छ । अहिले हाम्रा खेतबारीहरु बाँझो हुँदै गएका छन् । विश्वका अन्य देशहरुमा समेत अध्ययन गर्ने हो भने पनि सङ्क्रमणकालिन अवस्थामा यस किसिमका समस्या लगभग धेरै तिर देखिने गरेका छन् । गाउँबाट सुविधाको लागि मानिसहरु शहर पस्ने क्रम बढ्दै जाँदा खालि भएका जग्गाबाट कसरी उत्पादन लिन सकिन्छ भन्ने सम्बन्धमा हामीले अब नयाँ तरिकाहरु खोजी गर्नुपर्ने जरुरी छ । यसको लागि शहरमा नै बसेर गाउँमा खेती गर्न सकिने तरिका अवलम्बन गर्न सकिन्छ कि भन्ने सम्बन्धमा पनि अध्ययन हुनु जरुरी छ । आधुनिक प्रविधिको उपयोगबाट कसरी ठूलो मात्रामा उत्पादन बढाउन सकिन्छ भन्ने सम्बन्धमा हामीले नीतिगत सुधार सहित काम गर्नु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij