काठमाडौं । काभा नेशन्स वुमन्स लिगमा भारतलाई ३-२ को सेटमा पराजित गरे लगत्तै टीम नेपालकी कप्तान अरुणा शाही लगायतका खेलाडी तथा समर्थकका आँखामा आँशु देखियो।
दशरथ रंगशालास्थित कभर्डहलमा शनिबार पहिलो सेटमा भारतलाई नेपालले २५-१८ ले पराजित गर्यो। दोस्रो सेटमा नेपाललाई १२-२५ मा रोक्दै भारतले बराबरी गर्यो। तेस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै नेपालले पुनः अग्रता लियो। चौथो सेट फेरि २५-१८ ले भारतको पक्षमा गयो।
त्यसपछिको अत्यन्त प्रतिस्पर्धात्मक पाँचौ सेटमा नेपालले भारतलाई १५-१३ सेटले हरायो। त्यसपछि टीम नेपालकी कप्तान अरुणा शाही, सुमित्रा रेग्मी, सलिना श्रेष्ठ, शान्तिकला तामाङले आफूलाई रोक्न सकेनन्। उनीहरू मात्र होइन नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, टीम नेपालकी पूर्व खेलाडी निलम बज्राचार्य, पूर्वमन्त्री रामकुमार झाँक्री लगायतको आँखामा आँशु देखियो।
साउन १७ गते श्रीलंकालाई पराजित गरेको नेपालले समूह चरणको दोस्रो खेलमा भारतलाई हराउँदा खेलाडी र समर्थक किन यति भावूक बने त? किनकी दक्षिण एसियाली ‘भलिबल जायन्ट’ भारत विरुद्ध नेपालले पहिलो जित निकालेको थियो्।
आफूलाई रोक्न नसकेको विषयमा प्रतिक्रिया दिँदै कप्तान शाहीले भनिन्, “भारतसँग खेल्दैछ है भनेर डरले शुरु गरेको खेल जित्दा मेरो दिमाग पुरै खाली जस्तो भयो, केही सोच्नै सकिन, आँखाबाट आँशु खसेछ।”
धेरै बलियो देशलाई हराउँदा भन्दा भारतलाई पराजित गर्दाको छुट्टै अर्थ हुने शाहीको विश्लेषण छ। यद्यपि भारतलाई समूह चरणमा पराजित गर्नुलाई नै उपलब्धी नमानी उपाधी जितमा ध्यान केन्द्रित गर्नु पर्ने धारणा राखिन्।
सन् २०१४ मा राष्ट्रिय टीम डेब्यु गरेकी स्पाइकार सरस्वती चौधरीले छिमेकी भारतलाई पराजित गर्ने चाहना एक दशकपछि पुरा भएको बताइन्। भारत विरुद्धको जितले हौसला बढेको तर फाइनल नजित्दासम्म हौसिनु नहुने उनको सुझाव थियो।
सन् २०१९ मा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबल तर्फको स्वर्ण पदक नेपाललाई हराएर भारतले जितेको थियो। प्रमुख प्रशिक्षककै शब्दमा आज ‘आउटस्ट्यान्डिङ फर्मफेन्स’ गरेकी स्पाइकार निरुता ठगुन्नाले पाँच वर्ष पहिले फाइनलमा भारतसँग पराजित हुँदा दुखेको मुटुमा यो जितले मल्हम लगाउने काम गरेको बताइन। उनले भनिन्, “च्याम्पियन हुन बाँकी नै छ, त्यसका कारण यही जितलाई लिएर आत्तिनु र मात्तिनु पर्ने कारण छैन।”
दुई खेलमा दुबै जित निकालेको नेपालले यो लय कायम राख्न सके सेमिफाइनल प्रतिस्पर्धा चौथोस्थानको टीमसँग हुनेछ। अर्को सेमिफाइनल दोस्रो र तेस्रोस्थानको टीम बीच हुनेछ। नेपालले आइतबार इरान र सोमबार माल्दिभ्ससँग खेल्दैछ।
टीम नेपालका प्रमुख प्रशिक्षक जगदीश भट्टले भारतलाई पराजित गरेर खेलाडीहरूले नेपाली भलिबल उचाईमा पुगेको सन्देश प्रवाह गरेको बताए। यद्यपि काभा उपाधी जित्न नेपालले अझै धेरै मिहिनेत गर्नुपर्ने उल्लेख गरे। भट्टले भने “भारत विरुद्ध ऐतिहासिक जित निकाल्दा सिंगो देश खुशी हुनु स्वभाविक हो। प्रशिक्षक रुपमा भने मेरो जिम्मेवारी थप बढेको छ।”
नेपाली टोलीः सेटरद्वय अरुणा शाही (कप्तान) र प्रगति नाथ, स्पाइकरहरु सरस्वती चौधरी , उषा भण्डारी, पुनम चन्द, निरुता ठगुन्ना, कामना विष्ट, आरती सुवेदी, मिडल ब्लकरहरु सफिया पुन, सुमित्रा रेग्मी, संगम महत, कविता भट्ट, लिबेरोद्वय सलिना श्रेष्ठ र शान्तिकला तामाङ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij