काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको आयोजनामा ६२ औं इन्जिनियर्स दिवस सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान स्थित सभाहलमा प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का विशिष्ट अतिथि, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष पदम बहादुर शाही अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रमका सभापति नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्रा.डा. हरि बहादुर दर्लामी रहनुभएको थियो ।
इन्जिनियरहरुको क्षमता अभिवृद्धि समेतलाई लक्षित उक्त कार्यक्रमलाई साधारण खण्ड र प्राविधिक खण्ड गरी २ खण्डमा विभाजन गरी सम्पन्न गरिएको इन्जिनियर्स एसोसिएसनले जनाएको छ ।
पहिलो खण्ड मूलतः औपचारिकतामा केन्द्रित रह्यो भने दोस्रो प्राविधिक खण्डमा ‘सामाजिक उत्तरदायित्वमा इन्जिनियरको नैतिक भूमिका शीर्षक’मा विभिन्न सरोकारवाला व्यक्तिहरुको प्रस्तुति तथा छलफल रहेको थियो ।
टेक्निकल सेसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सेसन चेयरको भूमिकामा थिए भने कि नोट स्पिकरको रुपमा राजनीतिक टिप्पणीकार ई. चन्द्र किशोर लाल (सिकेलाल)ले आफ्नो प्रस्तुति राखेका थिए ।

सञ्चारकर्मी टिकाराम यात्री, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, योजना आयोग सदस्य प्रा.डा.सङ्गिता सिंह, शहरी विकास सचिव ई. मणिराम गेलाल, परामर्शदाता इन्जिनियरहरुको संस्था स्केफ नेपालका अध्यक्ष ई. ठाकुर प्रसाद शर्माले उक्त सेसनमा आफ्ना टीप्पणीहरु व्यक्त गरेका थिए । ई. रमेश कुमार श्रेष्ठले उक्त सेसन सञ्चालन गरेका थिए ।
मुलुकको विकासमा पूर्वाधार निर्माण क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहने र त्यसको लागि इन्जिनियरको भूमिका समेत निकै महत्वपूर्ण हुने तथापि पूर्वाधार निर्माण सम्बन्धी विभिन्न क्रियाकलापहरुमा नैतिकता निकै महत्वपूर्ण रहने बारे उक्त सेसन केन्द्रित रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले सफल इन्जिनियर बन्नको लागि प्राविधिक विषयवस्तुसँगै कानुनी, नीतिगत एवं व्यवस्थापन ज्ञान पनि महत्वपूर्ण रहनेमा जोड दिए । सरोकारवाला निकायहरु इन्जिनियर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक एवं आयातकर्ता र आयोजनाको जिम्मेवारी दिने निकाय लगायत सबैले आफ्नो नैतिक दायरा भित्र नै रहेर काम गरेको खण्डमा कामको प्रभावकारिता राम्रो हुने बताए ।

इन्जिनियर्स दिवसकाे अवसरमा विभिन्न क्षेत्रबाट महत्वपूर्ण याेगदान पुर्याउने व्यक्तिहरुलाइ सम्मानित तथा पुरष्कृत समेत गरिएकाे थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij