२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

मेराे सङ्घर्षः निम्न आर्थिक परिवार देखि पर्यटन बोर्डको उपाध्यक्ष सम्म

मेराे सङ्घर्षः निम्न आर्थिक परिवार देखि पर्यटन बोर्डको उपाध्यक्ष सम्म

राम प्रसाद सापकोटा (कमल),उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड

धादिङको नीलकण्ठमा जन्मिएका व्यक्ति हुन् राम प्रसाद सापकोटा (कमल) । एक सफल पर्यटन उद्यमीको रुपमा पहिचान बनाएका राम प्रसाद सापकोटा भर्खर मात्रै नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा नियुक्त भएका छन् । निजी पर्यटन व्यवसायीको प्रतिनिधित्व गर्दै उपाध्यक्ष बनेका सापकोटाको व्यवासायिक शुरुवात अत्यन्तै न्यून अवस्थाबाट शुरुवात हुन्छ ।

शून्यबाट माथि उठेर स्वनिर्मित उद्यमीको पहिचान बनाएका सापकोटाले आफ्नो बाल्यकाल अत्यन्तै कठिनाईपूर्वक बिताए । कक्षा १० को अध्ययन पूरा गर्नको लागि उनले एउटा पसल सञ्चालनमा ल्याए । उनले व्यावसायिक शुरुवातको जग व्यावहारिक रुपमा त्यतिबेला नै रोपेका हुन् । जसले उनलाई धेरै कुरा सिकायो । एउटा घरमा मासिक ५० रुपियाँ भाडा तिर्ने गरी १५ सय रुपियाँ लागतमा उनले त्यो पसल सञ्चालनमा ल्याएका हुन् । आफ्नो पसललाई चाहिने सामान डोकोमा बोकेर नजिकको होलसेलबाट उनै आफैंले ल्याउने गर्थे । शनिबारको बिदाको दिन सामान आपुर्ति गर्थे । अन्य दिनहरुमा बिहान बेलुकाको खालि समयमा पसल चलाउँथे ।

व्यवसायमा आम्दानी, खर्च, मुनाफा, नोक्सानी लगायतका कुराहरुलाई आधारभूत तत्व मानिन्छन् । त्यो पसल क्षमता र लगानीले सानो हुनु एउटा कुरा हो, तथापि व्यवसाय सानो होस् वा ठूलो, त्यसको काम गर्ने प्रक्रिया एकै किसिमको हुन्छ भन्ने कुरा उनले त्यतिबेला बाट नै थाहा पाउँदै गए ।

सापकोटा केही न केही गरिनै रहने जागरुक स्वभावका व्यक्ति हुन् । सानै उमेरमा उनी कहिले बाटो खन्न पुग्थे त कहिले सामान लोडअनलोड गर्नको लागि आफू पोखरा पुगेको स्मरण गर्छन् । १३ बर्षको उमेरमा नै गाउँछिमेकमा झगडा हुँदा वा जाँडरक्सी खाएर कसैले हो–हल्ला गर्दा त्यसलाई मिलाउन उनी त्यहाँ तत्कालै पुगिहाल्थे । यस किसिमको स्वभाव अहिले पनि छ ।

गाउँमा सानो पसल सञ्चालनमा ल्याउनु भन्दा पहिले देखि नै सापकोटालाई लाग्थ्यो कि मैले जागिर खानु छैन । मैले आफैंले पहिचान बन्ने काम गर्नुपर्छ । उद्यमी बन्नुपर्छ । सापकोटामा सानै उमेर देखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्न मन पराउने स्वभाव थियो । विद्यालय शिक्षा अध्ययन गर्दाको त्यति बेलाको आफ्नो भूमिकालाई विचार गर्दा उनलाई लाग्छ, आफ्नो मनमष्तिष्कमा त्यति बेला देखि नै सायद उद्यमी र समाजसेवी बन्नुपर्छ भन्ने जरा गडेको थियो होला, अवचेतन रुपमा । उनी भन्छन्, ‘नेपालमा नै केही गर्नुपर्छ भन्ने मेरो बाल्यकाल देखिकै सपना थियो ।’

बाहिरी मान्छेहरुले सफलता पछाडिका सङ्घर्षहरुलाई विचार गर्दैनन् । कति समय देखिको त्याग र तपस्याको परिणाम स्वरुप मानिसले आफूलाई बाहिर ल्याउन सकेको छ भन्ने कुरा ख्याल गर्दैनन् । मनमष्तिष्कमा के चलेको थियो र उसका आदत व्यवहारहरु के–कस्ता थिए, भन्ने कुरा कसैले वास्ता गर्दैनन् । के–कस्ता हण्डरठक्कर खाँदै व्यक्ति अघी बढेको हो भन्नेमा कसैको वास्ता हुँदैन । उसले आफूमा कस्ता क्षमताहरु विकास गर्दै गयो, कसको सङ्गतमा रह्यो र त्यहाँबाट के सिक्यो ? भन्ने कुरामा पनि ध्यान जाँदैन । सफलताका पछाडि क्रमिक प्रक्रियाले काम गरेको हुन्छ । ठूलो सफलता प्राप्ति हुनुको पछाडि साना–तिना उपलब्धि र सफलता जिम्मेवार हुन्छन् । तथापिसाना उपलब्धि हामीलाई उपलब्धिमूलक नै लाग्दैनन् ।

 मेरो सङ्घर्ष
मेरो सङ्घर्षको यात्रा बाल्यकालबाट नै शुरु हुन्छ । विद्यालय तहको शिक्षा हासिल गर्नको लागि पनि मैले ठूलै सङ्घर्ष गरेँ । हाम्रो परिवारको आयस्तर निम्न अवस्थाको थियो । कृषि परिवार । उत्पादित कृषिजन्य उपजबाट बर्ष दिनलाई पनि खान नपुग्ने स्थिति । जसोतसो पसल समेत चलाएर विद्यालय शिक्षा हासिल गरियो । अनि सोझिएँ काठमाडौं तर्फ । दूरीको हिसाबले नजिकै थियो । म काठमाडौं २ ओटा उद्धेश्यले प्रवेश गरेको हुँ । एउटा थप पढ्नु थियो । अर्को कमाउनु थियो । मैले दोस्रोलाई बढी महत्व दिएँ । अनि शुरु भयो एउटा कठिन यात्रा ।

मैले भरिया, एसिस्टेन्ट गाईड, गाईड हुँदै सन् २००४ मा आफ्नै कम्पनी ‘माउन्टेन डिलाइट्स ट्रेकिङ’ सञ्चालनमा ल्याएको हुँ । ‘टुकी नेपाल समाज’ सन् २००५ मा स्थापना गरेको हुँ । मेरा पर्यटक भरियाको रुपमा काम गर्दाका शुरुवाती दिन अत्यन्तै चुनौतीपूर्ण रहे । सेवा प्रवेशको एउटा घटना सम्झन्छु । जापानी पर्यटकहरुको भरिया भएर हिउँ परेको ठाउँमा जानुप¥यो । त्यो यात्रा मेरो लागि निकै कठिनाईपूर्ण रह्यो । म हिउँमा हिँड्ने बानी नभएको कारण पटक–पटक लड्न पुग्थेँ । म त्यस कामबाट तत्काल बाहिरिन चाहेको पनि हुँ । तर जसरी भएपनि एक हप्ताको ट्रेकिङ त पूरा गर्नैपथ्र्यो । त्यतिबेला मैैले दैनिक रुपमा ७० रुपियाँ ज्याला पाउँथे । त्यो ट्रेकिङ पूरा हुँदा पर्यटकहरुले ५ सय रुपियाँ टिप्स र कपडाहरु दिए । अब भने मलाई जसरी पनि पर्यटन क्षेत्रमा नै संलग्न हुनुपर्छ भन्ने गहिरो आत्मबल पलायो । त्यसपछि भने म आफू भित्र सफल बन्नुपर्ने सपनाहरु बुन्न थालेँ ।

काठमाडौंमा ट्रेकिङ व्यवसाय आफैंले चलाउँदा पनि थुप्रै अन्य व्यवसायमा मैले हात हालेको थिएँ । शुरुवाती दिनका ती कामहरु प्रत्येकले मलाई केही न केही सिकाए । मैले काठमाडौंमा सिसा पसल, किराना पसल, स्टोर, साइबर क्याफे लगायत सञ्चालन गर्दै म अहिलेको अवस्थामा आउन सकेको हुँ । आफ्नो व्यवसाय सञ्चालन गर्न भन्दा पहिले ११ बर्ष कामदारको रुपमा नै काम गरेँ । मैले चलाएका मध्येको पहिलो सफल व्यवसाय माउण्टेन डिलाइट्स ट्रेकिङ नै हो । यसले मलाई परिचित पनि बनायो । अहिले पनि अधिकांशले मलाई यही व्यवसायबाट चिन्छन् । २००४ मा शुरु गरेको व्यवसायलाई बिना कर्मचारी म आफैंले एक्लै २००७ सम्म चलाएँ । करिब ५ लाखको लगानीबाट मेरो उक्त व्यवसाय शुरुवात भएको हो । म ुीभबचलष्लन दथ मयष्लन, भ्बचलष्लन ७ क्ष्लखभकतष्लनु मान्यता सहित निर्देशित भइरहेँ । शुरुवाती दिनमा कम्पनी चलाउन अलि गाह्रै हुन्थ्यो । सबै पक्षलाई आफैंले मिलाउनुपर्ने । कामको अनुभव त थियो, तैपनि व्यवस्थापन, प्रशासनिक र नीतिगत ज्ञान अलि कम थियो । सबै कुरा समयले नै सिकायो । हिम्मत हारिन । शून्यबाट माथि उठ्न चाहनेले आरोहअवरोह, हण्डर ठक्कर त अनेकौं सहनुपर्दोरहेछ । आशा र विश्वास सहित दीर्घकालिन सोच राखेर योजनाबद्ध रुपमा अघी बढ्दा सफलता ढिलोछिटो हात लाग्दो रहेछ ।

ट्रेकिङ व्यवसायको प्रकृति
ट्रेकिङ व्यवसाय पहिले स्वरोजगारमूलक व्यवसायको रुपमा चिनिन्थ्यो । अहिले यस व्यवसायमा पनि ठूलो रकम लगानी हुन थालेको छ । व्यवसायीहरु बीच स्वच्छ प्रतिष्पर्धा हुन सकेको खण्डमा यस क्षेत्र बापत राम्रो आर्थिक उपार्जन समेत हासिल गर्न सकिन्छ । यस व्यवसायको लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थहरु सबै नेपालमा नै उपलब्ध छन् । यो व्यवसाय राम्रो विदेशी मुद्रा आर्जन गर्न सकिने व्यवसाय समेत हो ।

महत्वपूर्ण क्षण
म ट्रेकिङमा जोडिनुभन्दा पहिले मेरो धेरै व्यक्तिहरुसँग चिनजान थिएन । यस व्यवसायमा आएपश्चात् मेरो सम्पर्क सञ्जाल थुप्रै विदेशीहरुसँग जोडियो । मलाई युरोप, दुवई लगायतका देशहरुबाट निकै राम्रा विभिन्न अफर नआएका होइनन् । तथापि म ती अफरहरुबाट लोभिइन । जे गर्न सकिन्छ, नेपाली भूमिमा नै गर्नुपर्छ भन्ने मान्यताले यहीँ सङ्घर्ष गरिरहँे ।

सोचाईमा लगानी

मान्छेले सोचेको र योजना बनाएका कुराहरु समयक्रममा पूरा गर्दै जान सक्दोरहेछ । मानिसले फराकिलो सोच सहित काम गर्नुपर्दो रहेछ । आफ्नो सेवामा उत्कृष्टता कसरी दिन सकिन्छ ? आफ्ना उत्पादन वा सेवामा नयाँपन के दिन सकिन्छ ? भन्ने कुरामा घोत्लिने क्रममा नै नयाँ आइडियाहरु पहिले मष्तिष्कमा विकास हुने गर्दछन् । तिनै आइडिया पछि वास्तविकतामा परिणत हुन्छन् । सकेसम्म आफ्नो अनुभव समेत भएको क्षेत्रमा काम गर्दा छिटो सफल हुन सकिन्छ भन्ने मैले महसुस गरेको छु ।

समाजबाट मिलेका उपलब्धिहरु
म आफ्नो प्रगति सँगै समाजलाई पनि केही योगदान पु¥याउनुपर्छ भन्ने मान्यताबाट निर्देशित हुँदै आएँ । आफूले गरेका हरेक कामको परिणाम ढिलोछिटो मिल्दो रहेछ । मलाई अधिकांशले सामाजिक उद्यमीको रुपमा पनि चिन्छन् । किनकि म पर्यटन व्यवसायमा प्रकृतिमैत्री र दिगो अवधारणामा आधारित व्यवसायलाई महत्व दिँदै आएँ । साथै समाजलाई लाभ पुग्ने गरी काम गरिरहँे । आफ्नो व्यवसायबाट प्राप्त लाभबाट प्राप्त उपलब्धि समाजको लागि योगदान गर्ने मान्यता सहित अघी बढेको कारण मलाई थुप्रै सम्मानहरु समेत प्राप्त भएका छन् ।

सन् २०११ मा सूर्य नेपालबाट ‘सामाजिक उद्यमशिलता अवार्ड’ प्राप्त गरेँ । २०१३ मा ‘सस्टेनेबल टुरिजम इन्स्पायरिङ स्टोरी कम्पिटिसन’मा उत्कृष्ट ५ जना भित्र पर्न सफल भएँ । सिंगापुरमा आयोजित यस अवार्डका लागि एसियाभरका पर्यटन व्यवसायीहरुलाई छनौट गरिएको थियो । गञ्तव्य नेपालले आयोजना गरेको ‘टुरिजम म्यान अफ द इयर–२०१७’, ‘योङ्ग इन्सपायरेसन अवार्ड–२०१८’, ‘योङ्ग इन्सपायरेसन अवार्ड–२०१९ (बङ्गलादेश)’ लगायतबाट सम्मानित हुनुको अलावा फ्रान्सको एउटा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि समेत मलाई प्राप्त भएको छ ।

सामाजिक आबद्धता
मैले सामाजिक संस्थाको रुपमा ‘टुकी नेपाल समाज’को स्थापना गरेका छन् । ‘शिक्षा र स्वास्थ्य’को पहुँच आफ्नो क्षेत्रमा पु¥याउनको लागि हामीले यस संस्थाको स्थापना गरेका हौं । जसरी मेरो बाल्यकाल अत्यन्तै कठिनाईपूर्वक बित्यो, त्यसरी नै अन्य बालबालिकाको जीवन पनि शिक्षाको पहुँचमा पुग्नबाट वञ्चित नहोस् भन्ने उद्धेश्यले हामीले यो प्रयत्न गरेका हौं ।

व्यावसायिक विविधिकरण
मेरो व्यावसायिक स्थायित्व मूलतः टे«किङबाट नै भएको हो भन्नुपर्छ । त्यसपछि मैले पर्यटनसँग सम्बन्धित अन्य व्यवसायहरुमा पनि म आफ्नो लगानी विविधिकरण गर्दै गएँ । यसै क्रममा होटल, रिसोर्ट, ट्राभल लगायतका क्षेत्रमा लगानी गरेको छु । यसै क्रममा अहिले हामी सामुहिक लगानी अवधारणा बमोजिम प्याराग्लाईडिङ समेत सञ्चालनको प्रयत्न गरेका छौं । ‘काठमाडौं गार्डेन होम’ मैले चलाएको होटल हो । माउन्टेन डिलाईट ट्राभल एण्ड टुर्स पनि हामीले चलाएका छौं । हामीले नयाँ प्रयत्नको रुपमा काठमाडौंबाट १३ किलोमिटरको दूरीमा (शिवपुरी नजिकै) ‘सूर्यचौर नेचर रिट्रिट (रिसोर्ट)’ र ‘सूर्यचौर प्याराग्लाइडिङ’ सञ्चालनमा ल्याउँदैछौं । यी सबै व्यवसाय पर्यटनसँग सम्बन्धित छन् । जुन मेरो आफ्नो अनुभवको क्षेत्रमा आधारित छन् । समयको आवश्यकताले जुन कुराको आवश्यकता महसुस हुन्छ, म त्यही काममा लाग्नबाट कहिल्यै पछाडि हटिन । म आफूले सञ्चालनमा ल्याएको एउटा व्यवसाय पूर्ण सिष्टममा आइसकेपछि अर्को व्यवसायमा हात हाल्ने गर्छु ।

नेपालमा सम्भावना
नेपाल राम्रो सम्भावना भएको देश हो । यहाँ प्रकृतिले हामीलाई धेरै साथ दिएको छ । हामी निश्चित योजना र उद्धेश्यबाट अघी बढ्यौं भने अवश्य पनि सफल हुन सक्छौं । अहिले पनि अधिकांश नेपाली दाजुभाईहरु नेपालमा केही गर्न सकिँदैन भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ । केही व्यक्तिहरु भने यहीँ सम्भावनाको खोजी गरिरहेका छौं । खोजी नै नगरी त हामी केही भेट्टाउनै सक्दैनौं । अरुलाई देखेर हामीले प्रेरणा लिन सक्छौं । आफ्नो दृष्टिकोणलाई फराकिलो नबनाई हामी धेरै अघी बढ्न सक्दैनौं । रोजगारीको लागि बाहिर गएर हामीले यत्तिकै पैसा कमाएका हुँदैनौं । त्यहाँ पनि हामीले सङ्घर्ष त गर्नैपर्छ । जति मेहनत हामीले बाह्य भूमिमा गर्छौं, त्यति मेहनत मातृभूमिमा गर्यौं भने हामीले यहाँ राम्रो पहिचान बनाउन सक्छौं । अहिले थुप्रै नेपालीहरु विदेशको कमाईबाट सन्तुष्ट नभई नेपालमा नै आएर उद्यम गर्नुपर्छ भन्ने मान्यता सहित काममा जोडिनुभएको छ । ऊहाँहरुलाई हेरेर म आफैंलाई पनि आत्मगौरव महसुस हुन्छ ।

यदि हामी सफल हुनुछ भने आफू कुन कामको लागि योग्य छु भन्ने थाहा पाउनुप¥यो । आफ्नो रुचिको क्षेत्र र आफ्ना क्षमताहरु बारे परिचित भई दिगो सोच सहित अघी बढ्नुपर्यो । काम गर्ने क्रममा थुप्रै बाधाअवरोधहरु त आउँछन् नै । ती हरेक बाधाअवरोधहरुलाई हामीले कसरी परास्त गर्छौं वा समाधान निकाल्छौं भन्ने कुरामा नै हाम्रो थप सफलता निर्धारित हुने गर्दछ । हामी अधिकांश नेपालीहरु आफू मानसिक रुपमा तयार नभई उद्योग व्यवसायमा हाम फाल्छांै । हामी आफूसँग त्यसबारे कुनै स्पष्ट योजना हुँदैन । काममा संलग्न भईसकेपछि आउने परिस्थिति सामना गर्नको लागि आफ्ना रणनीतिमा लचकता अवश्य अपनाउनुपर्छ, तथापि कुन व्यवसायमा संलग्न हुने, कसरी कति लगानीमा संलग्न हुने, लक्षित उपलब्धि के–कस्तो हुने ? लगायत साधारण कुराहरुबारे मानसिक वा लिखित फ्रेमवर्क भने अवश्य बनाउनु जरुरी रहन्छ ।

अधिकांश नेपालीका समस्याहरु
अहिले पनि अधिकांश नेपालीहरु जागिर खाने मान्यताका हुनुहुन्छ । किनकि हाम्रो सामाजिक व्यवस्था नै त्यस्तै छ । हाम्रो परिवार, समाज र शिक्षाले उद्यमलाई भन्दा जागिरलाई बढी महत्व दिन्छ । जागिर सुरक्षित हुन्छ भन्ने अधिकांशको बुझाई र विश्वास छ । जागिर गर्न होस् वा स्वरोजगार बन्न होस्, हामीमा केही आधारभूत क्षमता-सीप हुनु नितान्त जरुरी रहन्छ । तथापि हामी आफ्नो क्षमता विकासको लागि भने आफूलाई सहज रुपमा तयार बनाउँदैनौं ।

जोखिम
व्यवसायमा अघी बढ्नको लागि जोखिम त वहन गर्नैपर्छ । मैले पनि थुप्रै पटक जोखिम वहन गरेर नै अहिलेको अवस्थामा आइपुगेको हुँ । जोखिम लिनु भन्दा पहिले त्यो जोखिम कस्तो किसिमको हो भन्ने कुरा आँकलन गर्न सक्नुपर्छ । परिस्थितिलाई विचार गरेर लिएको जोखिमले धेरैजसो अवस्थामा मलाई लाभ नै मिलेको छ ।

पर्यटन बोर्डले खेल्नुपर्ने भूमिका
नेपाल प्राकृतिक रुपमा नै राम्रो पर्यटकीय गञ्तव्य हो । प्राकृतिक सुन्दरतालाई प्रदर्शन गरेर हामीले राम्रो लाभ हासिल गर्न सक्छौं । ‘नेपाल पर्यटन बोर्ड’ले पनि नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनको लागि काम गर्दै आएको छ । म प्रति पर्यटन व्यवसायी साथीहरुको ठूलो भरोसा छ । ऊहाँहरुको आशालाई निराशामा बदलिन मैले दिनेछैन । पर्यटन व्यवसायलाई गुणात्मक सुधारको लागि म सहितको बोर्डले काम गर्नेछ । सीपमूलक तालिमहरु बोर्ड मातहत सञ्चालनको लागि समेत म आफूले पहलकदमी लिनेछु । सुदन किराँती मन्त्री रहँदा निर्णय भइसकेको विदेशी पर्यटक नेपाली ट्रेकिङ कम्पनीको माध्यमबाट मात्रै ट्रेकिङमा जानुपर्ने व्यवस्था लागु गर्नको लागि समेत मैले बोर्ड मार्फत प्रयत्न गरिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij