काठमाडौ ।भन्सार विन्दुमा करोडौँ मूल्य बराबरको गाडी थुप्रिएको छ । गाडी आयातकर्ता व्यवसायीहरूले समयमै सवारी जाँचपास गर्न नसक्दा ३०–४० लाखदेखि करोड रुपैयाँभन्दा बढीका दुई हजारभन्दा धेरै गाडी भन्सार विन्दुमा थुप्रिन पुगेका हुन् ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार चैत १८ गतेसम्ममा विभिन्न भन्सार कार्यालय, एकीकृत जाँचपास चौकी तथा बन्दरगाहमा गरी २ हजार २२३ वटा साना–ठुला सवारी साधन रोकिएका छन् ।
वीरगञ्ज एकीकृत जाँचपास चौकीमा सबैभन्दा बढी १ हजार १२० वटा सवारी साधन थुप्रिएका छन् भने वीरगञ्ज सुक्खा बन्दरगाहमा १०७ वटा हलुका कार, भ्यान, जिप थुप्रिएका छन् ।
यसैगरी भैरहवास्थित सुक्खा बन्दरगाहमा ६१९ वटा गाडी, काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहमा समेत साना–ठुला गरी २१९ वटा चार पाङ्ग्रे सवारी साधन थुप्रिएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
उत्तरी नाका तातोपानी सुक्खा बन्दरगाहमा १२७ वटा विद्युतीय सवारी रोकिएका छन् । कुल २ हजार २२३ वटा सवारी साधन भन्सार विन्दुमा आएर रोकिएकोमा करिब २ सय वटा विद्युतीय सवारी रहेको र अधिकांश पेट्रोलियम गाडी रहेको भन्सार विभागले जनाएको छ ।
राजस्व सङ्कलनको स्थिति अघिल्लो वर्षको तुलनामा ९.७ प्रतिशतले वृद्धि भएको छ । २०७९ फागुन मसान्तसम्ममा सरकारले सबै गरी ५ खर्ब ८२ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
आयातकर्ताहरू मध्ये महिन्द्र कम्पनीका आयातकर्ता विक्की सिँह भन्छन्,“एकातिर बजार माग छैन अर्कोतर्फ सरकार तथा नेपाल राष्ट्र ब्याङ्कको अव्यवहारिक नीतिले हामी आयातकर्ता र व्यवसायीलाई आर्थिक भार मात्रै परेको छ।”
ब्याङ्कले सवारीसाधनमा लगानी तथा ऋणमा सहजता प्रदान गरेको छैन। यसले झन् आयातकर्तालाई नै चारैतिरबाट मार परेको छ। पैसाकै अभावमा निकाल्न नसक्दा प्रत्येक दिन आइसिपीमा गाडी थन्किएकै कारण तिर्नुपर्ने जरिबानाले झन् आर्थिक भार परेको छ।”
भन्सार आइपुगेका गाडी भित्र्याउन सरकारले तोकेको भन्सार तिर्नुपर्ने तर भन्सार तिरेर सवारीसाधन भित्र्याउने आर्थिक क्षमता व्यवसायीसँग नभएको कारण समस्या भएको व्यापारीहरूको भनाइ छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij